सुरक्षित थलोको खोजीमा बाढी प्रभावित
चितवन : चितवनको माडी नगरपालिका ३ रतनीधोबाहामा साउनको अन्तिम शनिबार मध्यरातमा पसेको रिउ खोलाले ६ वटा घर बगायो । घरसँगै बगे हाँस र कुखुरा । चौँतीसवटा घर लडायो भने एक सय साठी घर डुबायो । घरभित्रका केही सामान र भाँडाकुँडा पानीसँगै बगे । घरको छत र मचानमा बसेर रतनीधोबाहावासीले ज्यान जोगाए । बर्सेनि वन्यजन्तु र बाढीको त्रासमा बाँच्न विवश उनीहरूले सरकारसँग सुरक्षित बसोबासको माग गरेका छन् ।
रिउको बाढीपछि घरबारविहीन भएकी ३५ वर्षीया जानकी माझीले खोलाले जग्गा र घर बगाएपछि आफूहरू अलपत्र परेको बताइन् । ‘रिउ खोलाको बाढीले घर लडाइदियो, ३० वटा कुखुरा र हाँस बगाइदियो', बाढीले पाएको सास्ती सुनाउँदै माझी भन्छिन्, ‘सरकारले हामीलाई सुरक्षित ठाउँमा बस्ने ठाउँ मिलाइदिनुपर्यो ।' रिउ खोलको बाढी आउँदा घरमा उनी, श्रीमान्, दुई छोरा र एक छोरी रहेको उनले सुनाइन् । ‘राति दस बजेतिर बाढी पस्यो । रिउ खोला बाटोभन्दा एक हात तल छँदै आँटी (माथिल्लो तला) मा सामान ओसार्दै थियौँ', बाढी पसेको रात सम्झँदै उनले भनिन्, ‘खोलामा रहेको बाँध भत्काएर बाढी एक्कासि बस्तीमा पसेपछि आँटीमा बसेर ज्यान जोगायौँ ।'
रतनीधोबाहाकै ४२ वर्षीय वासुदेव थारूको परिवारले खरको छानामाथि चढेर श्रीमती, छोराछोरी र आफ्नो ज्यान जोगाए । भोलिपल्ट सुरक्षित ठाउँमा सरेका थारूको घर त्यसैदिन बाढीले लडायो । रिउ किनारको बाटोकै छेउमा रहेको उनको घरको भग्नावशेषनजिकै भेटिएका थारू माडीमा बाढी गएको वर्ष सबैभन्दा बढी रतनीधोबाहा, बोटेसिमरा र अमिलियामा क्षति पुग्ने गरेको बताउँछन् । यी तीनवटै बस्तीलाई सुरक्षित ठाउँमा सार्नुपर्ने उनको माग छ ।
थारूका छिमेकी ३५ वर्षीय लक्ष्मण पावेले पनि खरकै छानोमा चढेर आमा, श्रीमती, दुई छोरा र आफ्नो ज्यान जोगाए । उनी पनि सरकारले आफूहरूलाई सुरक्षित थलोमा सार्नुपर्ने बताउँछन् । रतनीधोबाहास्थित राष्ट्रिय आधारभूत विद्यालयसँगै रहेको खरको छाना भएको कच्ची घरमा बस्दै आएकी ६० वर्षीया स्वास्थ्य स्वयंसेविका बेचनी महतो बाढीले घर भत्काएर छानो लडाइदिएपछि सुरक्षित ठाउँको खोजीमा छिन् । २०३८ सालदेखि गाउँमा सुँडेनीको काम गर्दै आएकी महतो २०४५ सालदेखि स्वास्थ्य स्वयंसेविकाको रूपमा कार्यरत छिन् ।
माडी नगरपालिका वडा नम्बर तीनका अध्यक्ष पुरन महतो माडीमा अहिलेसम्म बाढीले यति ठूलो तहसनहस नपारेको बताउँछन् । ‘रिउ खोलापारिको बोटेसिमरा र वारिको रतनीधोबाहा यी दुवै ठाउँ बाढी र जंगली जनावरको चपेटामा पर्दै आएका छन्', उनी भन्छन्, ‘यी दुवै गाउँलाई सुरक्षित ठाउँमा सार्नुपर्छ । हाम्रो अबको प्रयास त्यही हुनेछ ।' सरकारले डुबानमा परेका र बगर बनेका खेत, बाढीले भत्काएका घर र नोक्सान गरेका पशुपक्षीको क्षतिपूर्ति दिएर गाउँलेलाई सुरक्षित ठाउँमा बसोबासको व्यवस्थापन गर्नुपर्ने वडाध्यक्ष महतोको भनाइ छ ।
माडी नगरपालिकाका मेयर ठाकुर ढकालले बाढीले मुख्यगरी माडीको सडक सम्पर्क बिच्छेद गरिदिएको र धानखेतमा बढी असर पुर्याएको बताए । उनका अनुसार, माडीमा बाढीले मुख्य कालोपत्रे सडक ठाउँठाउँमा गरेर आठ किलोमिटर कटान गरेको छ । चितई खोलाको कल्भर्ट भत्किएपछि त्यहाँ अस्थायी बाटो बनाएर यातायात सञ्चालनमा ल्याइएको उनी बताउँछन् । ‘माडीमा पुल र कल्भर्ट १९ वटामा क्षति पुगेको छ', मेयर ढकाल भन्छन्, ‘बाढीले ९७ बिघा धानखेत कटान गरेको छ । चार सय बिघाभन्दा बढी धानखेत डुबानमा परेको छ ।'
यसैबीच, नेवा पुच नारायणगढ, नेवा मिस पुच बेलचोक, लायन्स क्लब अफ नारायणगढ चित्रवन र हरिहर महिला समूह डुम्रेले सोमबार रतनीधोबाहास्थित राष्ट्रिय आधारभूत विद्यालयमा एक कार्यक्रमको आयोजना गरी संयुक्त रूपमा बाढी प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा र विद्यालयलाई फर्निचर एवं पुस्तक र नगद पाँच हजार रुपैयाँ सहयोग गरेका छन् । माडी नगरपालिकाका मेयर ढकाल प्रमुख अतिथि रहेको कार्यक्रममा चारवटै संस्थाका सदस्यले आफ्नै हातबाट बाढी प्रभावितका हातमा राहत सामग्री दिएका थिए ।
नेवा पुच नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले विद्यालय पोसाक, स्टेसनरी, पुस्तक, फर्निचर, खाद्यान्न गरी चार लाख रुपैयाँबराबरको सहयोग गरिएको जानकारी दिए । विद्यालयमा नर्सरीदेखि पाँच कक्षासम्म अध्ययनरत एक सय ७६ जना विद्यार्थीलाई विद्यालय पोसाकको सर्ट र पाइन्टको कपडा दिइएको थियो । बाढी प्रभावित परिवारलाई वितरण गरिएको खाद्यान्नमा चामल, दाल, तेल, चिउरा, आलुलगायत थिए ।
राहत सामग्री वितरण कार्यक्रममा माडीका मेयर ठाकुर ढकाल, तीन नम्बर वडाका अध्यक्ष पुरन महतो, विद्यालयका प्रधानाध्यापक वीरेन्द्र महतो, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हारुन मिया चुरिदार, हरिहर महिला समूहकी अध्यक्ष सरिता श्रेष्ठ, नेवा पुचका अध्यक्ष ज्ञानेन्द्रमान शाक्य, नेवा मिस पुचकी अध्यक्ष पद्मा श्रेष्ठ, लायन्स क्लबका अध्यक्ष दिलीप भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।