दाताको राहतमा ‘विभेद'
बर्दिया : बाढीपिडितलाई पहुँचका आधारमा राहत वितरण भएको पाइएको छ । सरकारले एकद्वार प्रणाली खारेज गरेपछि दाताले आफूखुसी राहत वितरण गरे पीडितको गुनासो छ ।
बबई नदीको बाढीबाट प्रभावित स्थानीयलाई खाद्यान्नलगायत अत्यावश्यक सामग्री राहतका रूपमा धमाधम वितरण भएको हो । तर, जिल्ला दैवी प्रकोप उद्धार समितिले स्थानीय तहसँग समन्वय नगरी राहत वितरण गराएको गुलरिया नगरपालिका-१० का वडाध्यक्ष वीरेन्द्रकुमार चौधरीले बताए ।
उनका अनुसार बाढीबाट गुलरिया नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यसमा पनि वडा नम्बर १० मा धेरै क्षति पुगेको छ । तर, उद्धार समितिले विश्व खाद्य कार्यक्रमअन्तर्गतको चामल ‘कनिका छर्ने' गरी वडालाई उपलब्ध गराएको उनको दाबी छ । वडा नम्बर ९ मा खासै क्षति नभए पनि बराबर चामल उपलब्ध गराएको उनले गुनासो गरे । ‘थोरै चामल पाएपछि हामीले वडा नम्बर १० मा प्रतिपरिवार १० किलोका दरले चामल वितरण गर्नुपरेको छ', उनले भने ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले स्थानीय तहसँग समन्वय नगरी राहत वितरण गराएको गुलरियाका जनप्रतिनिधिको गुनासो ।
गुलरिया-२ का स्थानीय कृष्णप्रसाद अधिकारीले वडाहरूमा राहत वितरण गर्दा विभेद भएको बताए । ‘एउटै टोलमा कसैले राहत पाएका छन् कसैले पाएका छैनन्', उनले भने, ‘राजनीतिक दलका कार्यकर्ताले राहत पाएका छन् । यसतर्फ सरोकारवालाले ध्यान दिनुपर्छ ।'
बाह्रबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारूले भने राहत वितरण कार्य समन्वयमै भइरहेको बताए । उनले भने, ‘हामीले नगरपालिकामा आएको राहत निर्णय गरेर मात्र वितरण गर्छौं ।'
गुलरियाका मेयर मुक्तिनाथ यादवले राहत वितरणमा नगरपालिकासँग समन्वय नभएको बताए । पहुँचका आधारमा राहत वितरण भइरहेको उनको भनाइ छ । ‘गुलरिया नगरपालिकाका कुनै वडामा राहत पुगेको छ कुनैमा अझै पुगेको छैन', उनले भने । बाढीले क्षति पुगेका बस्तीहरूमा राहत नपुगेको उनले बताए । दातृनिकायले पहुँचका आधारमा राहत बाँडेको उनको गुनासो छ ।