सरकारी सिटामोलले काम गरेन

सरकारी सिटामोलले काम गरेन

जाजरकोट : त्रिवेणीनलगाड-५ मुलीकी पवित्र सिंहलाई एक साताअघि ज्वरोले निकै सतायो । उनीसहित परिवारका तीनजना बिरामी परे । उनी तीन घन्टा टाढा लहँस्थित स्वास्थ्य चौकी गइन् । त्यहाँको सिटामोलले काम गरेन । निःशुल्क औषधिले काम नगरेपछि उनी निजी मेडिकल गइन् । त्यहाँको औषधिले भने उनलाई बिसेक भएको छ ।

 

दुई छोराछोरी अझै बिरामी छन् । ‘सामान्य औषधिले कामै गर्दैन, फर्की-फर्की ज्वरोले सताउँछ', पवित्रले भनिन्, ‘ज्वरोले साह्रै गलायो ।'
धेरैजसो गाउँले ज्वरोले थलिएका छन् । बिरामीजति निजी मेडिकलमा गएर औषधि किन्न बाध्य छन् । ‘सरकारले निःशुल्क दिने भनेको औषधि पनि किन्नुपर्छ', उनले गुनासो गर्दै भनिन्, ‘तीनजनाको उपचार गर्न चार हजार खर्च भइसक्यो । मसँग पैसा थिएन, सापटी लिएर औषधि किनें ।'

रग्दा ध्यारगाँउका नरबहादुर नेपालीको पीडा पनि उस्तै छ । उनी एक सातादेखि ज्वरोले थलिएका छन् । नजिकमा स्वास्थ्य संस्था नहुँदा उनी समस्यामा परेका छन् । ‘बोकेर स्वास्थ्य संस्थासम्म लगिदिने मानिससमेत पाइँदैन, कसरी उपचार गरूँ ? ', उनले भने, ‘चौखामा रहेको स्वास्थ्य चौकीमा औषधि छैन रे ! त्यहाँ निजी मेडिकलमा उपचार त हुन्छ तर कसरी जाऊँ ? , पैसा कहाँबाट जुटाऊँ ? ' चौखा पुग्न चार घन्टा पैदल हिँड्नुपर्छ ।

पवित्र र नरबहादुरजस्तै जिल्लाका डाँडागाउँ, लहाँ, रग्दा, भगवती, नायकवाडा रोकायगाउँ, दसेरा, सक्ला, पजारु, झाप्रालगायत ठाउँमा ज्वरोको संक्रमण बढेको छ । सरकारी स्वास्थ्य संस्थामा सिटामोलबाहेक अरू औषधि पाइन्न । एन्टिबायोटिक औषधि नचलाउँदासम्म बिरामीलाई सञ्चो हुँदैन । यस्तै कारण बिरामीहरू निजी मेडिकल जान बाध्य छन् । निजी मेडिकलमा बिरामीको चाप बढेको रग्दा चौखाका किशोर मल्लले बताए ।

स्वास्थ्यकर्मी डिल्लीबहादुर पुनले कतिपय त पटक-पटक बिरामी हुने गरेको जानकारी दिए । ‘कडा खालको एन्टिबायोटिक इन्जेक्सन नै लगाउनुपर्ने देखिएको छ,' उनले भने, ‘मौसम परिवर्तन र दूषित पानी प्रयोगकाका कारण भाइरल ज्वरो तथा मौसमी रुघाखोकी फैलिएको हो ।' स्वास्थ्य चौकीमा निःशुल्क औषधि अभाव र भए पनि कामै नगर्दा आफ्नो मेडिकलमा दैनिक ५० भन्दा बढी ज्वरोका बिरामी आउने गरेको थलह बजारका अर्जुन अधिकारीले बताए । निजी तथा सरकारी दुवै स्वास्थ्य संस्थामा ल्याब नहुँदा लक्षणका अधारमा उपचार गर्नुपरेको उनले सुनाए ।

बिरामीमा घाँटी, टाउको दुख्ने, सिँगान बग्ने, पसिना आउने, ज्वरो आउने, खान मन नलाग्ने, खोकी लाग्नेलगायत लक्षण देखिएको स्थानीयको भनाइ छ । यस्ता लक्षण देखापर्नासाथ नजिकको स्वास्थ्य संस्थामा जान, उमालेको पानी पिउन अनि आराम गर्न चिकित्सकको सुझाव छ । भाइरलका बिरामी विगतभन्दा २५ प्रतिशतले बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन कृष्णबहादुर खत्रीले भाइरल ज्वरोका बिरामी बढेको तर प्रकोपको रूप लिइनसकेको बताए । मौसमी रोग भएकाले बिस्तारै ठीक हुने उनको भनाइ छ । उनका अनुसार भाइरल ज्वरो बढी देखिएको त्रिवेणीनलगाडको मुली, रावतगाउँ, ध्यारगाउँलगायत ठाउँमा घुम्ती स्वास्थ्य टोली परिचालन गरिएको छ । टोलीले चार दिनमा आठ सयभन्दा बढीको उपचार गरेका छन् ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.