बाढीले भासिएको भारतीय पुलको मर्मत

बाढीले भासिएको भारतीय पुलको मर्मत

विराटनगर : बाढीका कारण भासिएको भारतको बिहारस्थित फारबिसगन्ज-जोगबनी सडकमा पर्ने मिरगन्ज पुलको मर्मत सुरु भएको छ । यससँगै एक सातापछि यही नाका भएर भारतबाट मालवाहक ट्रक, लहरी र कन्टेनर नेपाल ल्याउने तयारी छ ।अहिले बथनाहाबाट री-रुट गरेर भीमनगर हुँदै नेपालतर्फ मालसामान ल्याउनुपर्ने बाध्यता छ । साउन अन्तिम साता बाढीका कारण भारतको पुल भासिएपछि त्यहाँको सरकारले नेपालतर्फ जोगबनी भएर मालसामान आयात तथा निर्यात गर्न रोक लगाएको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार बिहार राज्य सरकारले पुल मर्मत सुरु गरेको हो । बढीमा एक साताभित्र पुल सञ्चालनमा आउने जानकारी प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ । ‘भारतीय भन्सार कार्यालयले हामीलाई बढीमा एक साताभित्र पुल सञ्चालनमा आउने जानकारी दिएको छ’, भन्सार प्रमुख कृष्ण बस्नेतले भने ।

 

बस्नेतका अनुसार नेपाल सरकारका तर्फबाट भएको पहलस्वरूप काम पुल मर्मतको काम अघि बढेको हो । यो नाका भएर तेस्रो मुलुक र भारतबाट कन्टेनर तथा ट्रक नेपालतर्फ नआएको तीन साता भएको छ । यो बाटो भएर दैनिक दुई सय ५० जति गाडी विराटनगर भन्सारको यार्डसम्म आउँथे । तर, मिरगन्जमा ब्रिटिसकालीन पुल १० इन्चभन्दा बढी भासिएसँगै बिहार पुलिसले चौबीसै घन्टा पहरा दिएर ठूला गाडी पुल भएर नेपालतर्फ आउन रोक लगाएका छन् ।

नेपालको राजस्व घट्यो, ढुवानी खर्च बढ्यो

समयमा पुल मर्मत नहुँदा विराटनगर भन्सारको राजस्व असुली घटेको छ । भदौ महिनामा २ अर्ब ५० करोड राजस्व संकलन गर्ने लक्ष्य थियो । तर, साउन २८ को बाढी र त्यसपछि भारतीय पुल भासिँदा भन्सारको असुली दैनिक ४ करोडमा झरेको छ । सामान्य अवस्थामा भन्सारले दैनिक ८ करोड राजस्व संकलन गर्छ ।

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडा प्रधानमन्त्री शेरबहादुर देउवासँगै आफू पनि भारत भ्रमणमा गएका बेला नयाँ पुल निर्माण गर्न त्यहाँका मुख्यमन्त्री नीतिश कुमारको ध्यानाकर्षण गराएको सुनाउँछन् । ‘तत्काललाई भासिएको पुल मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी छ’, सांसदसमेत रहेका शारडा भन्छन् ।

पुल सञ्चालनमा नहुँदा उद्योगी तथा व्यवसायीले अतिरिक्त एक सय ४० किलोमिटर दूरी तय गर्नुपर्ने बाध्यता भएको छ । भीमनगरबाट सुनसरीको कोसी ब्यारेज हुँदै सुनसरी-मोरङ औद्योगिक करिडोरसम्म कच्चा पदार्थ तथा अन्य वस्तु घुमाएर ल्याउँदा ढुवानी लागत बढेको छ ।

भन्टाबारीबाट भीमनगर हुँदै भारततर्फ जाने बाटो साँघुरो भएकाले २० फुटे कन्टेनरलाई नेपाल आउन कठिन छ । मोरङ व्यापार संघका महासचिव नवीन रिजाल भन्छन्, ‘तेस्रो मुलुकबाट सामान हालेर ल्याएका ठूला कन्टेनर बोकेका गाडी भीमनगर बाटोबाट पास गराउनै कठिन भएको छ । ’
फलामको ट्रस्ट र पिलरबाट करिब एक सय वर्षअघि अंग्रेजको पालामा बनेको मिरगन्ज पुलले नेपालतर्फ विराटनगर र भारतको अररिया बथनाहालाई स्थलमार्गबाट जोडेको छ । यसको वैकल्पिक पुल निर्माण गर्न केही पश्चिमतिर पिलर हाल्दै गरे पनि लामो समयदेखि बाँकी काम अघि बढ्न सकेको छैन।

दैनिक ठूलो संख्यामा औद्योगिक कच्चा पदार्थ, उपभोग्य वस्तु तथा अन्य सरसामान बोकेका गाडी यही बाटो भएर जोगबनी हुँदै विराटनगर आउने गर्छन् । भारतीय जनता पार्टीको युवा मोर्चा जोगबनीका अध्यक्ष रञ्जित झा पुल ६ महिनाअघि पनि मर्मत स्मरण गराउँदै भन्छन्, ‘यसपटक भने बाढीले पिलर नै धसाइदिएकाले ठूलो क्षति भएको छ ।’

रेलवे पनि खुल्ने

बाढीले रेलवे ट्र्याक र पुल बगाएर तीन सातादेखि बन्द रहेको नेपाली सीमा विराटनगरसम्म दौडने नर्थ इस्ट रेलवे सेवा पाँच दिनपछि सुचारु हुने भएको छ । ट्र्याक मर्मत कार्य अन्तिम चरणमा पुगेको र टेस्ट ड्राइभको तयारीसमेत भएपछि नेपाल सीमासम्म आउने रेल सुचारु हुने भएको हो । संघका अध्यक्ष शारडाका अनुसार रेल सेवा ढिलोमा आगामी १० तारिखमा सुचारु हुने जानकारी आएको छ । शारडा भन्छन्, ‘रेल सेवा सुरु भएपछि औद्योगिक कच्चा पदार्थ रेलबाटै ल्याउन पनि सहज हुनेछ ।’

नर्थ इस्ट रेलवेले जोगबनीबाट भारतको राजधानी दिल्लीका लागि नियमित एक, कोलकाताका लागि सातामा तीन र लोकल रुटमा पाँचवटा सेवा दिँदै आएको थियो । यसबाट सीमा क्षेत्रमा नेपालीलाई ठूलो राहत मिलेको छ । भारत जान नेपालीले रेल चढ्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.