अब प्रत्यक्ष चुनाव लड्छुः थापा
विर्तामोडः दुई पटकको चुनावमा समानुपातिक कोटाबाट संसदमा आफ्नो स्थान सुरक्षित गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रपा)का अध्यक्ष कमल थापाले अब आउने संसदको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन्।
झापाको विर्तामोडमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु अब प्रत्यक्ष चुनावमा होमिने बताए। उनले भने, ‘तपाईंहरुले देख्नु हुनेछ म आफैं मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनाव लड्नेछु।'
पत्रकार सम्मलेनमा उपस्थित महामन्त्री राजेन्द्र लिङदेनले पनि आफू प्रत्यक्ष निर्वाचनबाट नथाकेको बताए। उनी दुई पटकको निर्वाचनमा झापाको क्षेत्र नम्बर ३ मा लडेका हुन्। तर दुवैपटक उनी पराजित बनेका थिए।
राप्रपा अध्यक्ष कमल थापाले प्रदेश र संघीय संसदको चुनावमा नेकपा एमालेसंग तालमेल गर्ने बताएका छन् । अहिले सरकारमा रहेका पार्टीहरु ‘आत्म समर्पणबादी' भएकाले ति पार्टीहरुसंग तालमेलको कुनै संभावना नरहेको थापाले बताए। उनले भने, ‘अहिले सरकारमा रहेका कांग्रेस र माओवादीसंग राष्ट्रबादको चिन्तन नै नभएकाले उनीहरुसंगको तालमेलको कुनै संभावना छैन । तालमेल हुन्छ त एमालेसंग हुन्छ।'