जलविद्युतमा लगानी जुटाउन महरा चीन प्रस्थान
काठमाडौँ : नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको भारतीय प्रबद्र्धक कम्पनी गान्धी माल्लिकार्जुन राव(जिएमआर)ले लगानी जुटाउन नसकेका कारण म्याद थपका लागि लगानी वोर्डमा निवेदन दिए लगत्तै जलबिद्युत आयोजनामा लगानी जुटाउन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन प्रस्थान गरेका छन् ।
तोकिएको समयमा काम नगरेका कारण आयोजनाको अनुमतिपत्र खारेज गर्ने आशयको सार्वजनिक वक्तव्य दिएपछि भदौ १६ गते जिएमआरका प्रतिनिधिले मन्त्री शाहीसँग पनि भेटवार्ता गरेका थिए ।
नौ सय मेगावाटको आयोजना बनाउन नेपाल सरकार र भारतीय कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा सम्झौतामा हस्ताक्षर भएको थियो । एक खर्ब १६ अर्ब रुपैया लागत अनुमान गरिएको सो आयोजना दैलेखको डाबमा १५० फिट अग्लो बाँध बनाइ २.५ किमी लामो सुरुङमार्फत अछामको बल्देमा पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट सरकारले २७ प्रतिशत शेयर तथा १२ प्रतिशत बिजुली निःशुल्क पाउने समझदारी भएको थियो ।
आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महरा ६ दिनका लागि चीन प्रस्थान गरेका हुन । उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा उक्त मन्त्रालयका वरिष्ठ अधिकारीका साथै नेपालका लागि चीनका राजदूत यु होङले बिदाइ गरेका थिए ।
प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख गणेश ढकाल, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललगायत छन् । चीनका लागि नेपाली राजदूत पौडयालले गरेको गृहकार्यका आधारमा उपप्रधानमन्त्री महरा जलबिद्युत आयोजना र पूर्वाधार निर्माणमा चिनिया लगानी जुटाउन चीन प्रस्थान गरेका हुन ।
प्रतिनिधिमण्डलस्तरीय वार्तामा दुबै देशका परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली राजदूतावासका उच्च अधिकारी पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वान वेल्ट वान रोड इनिसियटिभलाई नेपाली सन्दर्भमा कार्यान्वयनमा ल्याउन,ल्हासामा आएको रेललाई लुम्बिनी पुरयाउन,जलबिद्युत आयोजनामा चिनिया लगानी बढाउन दुई पक्षीय प्रतिनिधिमण्डलमा छलफल हुनेछ । उपप्रधानमन्त्री महराका स्वकीय सचिव युवराज चौलागाईले अन्नपूर्ण अनलाइनसँग भने ‘यो भ्रमणपछि नेपाल र चीन वीचको बहुआयामिक सम्बन्धले थप उचाई हासिल गर्नेछ ।’
स्रोतका अनुसार मन्त्री महरा र चिनिया परराष्ट्रमन्त्री वाङ यीको उपस्थितिमा जलबिद्युत उत्पादन र पूर्वाधार निर्माणसँग सम्बन्धी दुई वटा सम्झौतामा हस्ताक्षर हुने संभावना छ ।
उपप्रधानमन्त्री महराले चिनियाँ विदेशमन्त्री नेतृत्वको टोलीसँग भेटवार्ता गर्नाका साथै वरिष्ठ चिनियाँ नेतासँग भेटघाट गर्ने र बेइजिङस्थित चीनको विदेश मामिलासम्बन्धी विश्वविद्यालयमा आयोजना हुने छलफल कार्यक्रम छ ।
उपप्रधानमन्त्री महराले हालै ग्वाङझाओमा स्थापना भएको नेपालको महावाणिज्य दूतावासको यही भदौ २५ गते उद्घाटन गर्ने र त्यहाँ उद्योगी व्यवसायी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ग्वाङझाओका प्रान्तीय नेतासँग पनि महराले भेटवार्ता गर्नेछन । उपप्रधानमन्त्री महरा यही भदौ २६ गते स्वदेश फर्कने कार्यक्रम छ । राससको सहयोगमा