धनुषामा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता (तस्बिरसहित)
जनकपुरधाम : असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत धनुषा जिल्लाको १८ वटा तहमा उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ। एक उपमहानगरपालिका सहित १८ स्थानीय तहमा हुने निर्वाचनमा ९२९ जनप्रतिनिधिलाई निर्वाचित गर्न मतदान हुनेछ। ३ लाख ८९ हजार ३९४ मतदाता रहेको जिल्लामा शान्तिपूर्वक र हर्षोउल्लासका साथ मनोनयन दर्ता गराइएको हो।
मधेस आन्दोलनको केन्द्र रहेको जनकपुर उपमहानगरपालिकामा मनोनयन दर्ताका लागि उम्मेदवारहरुमा निकै उत्साह देखिएको थियो। उम्मेदवारले ढोलबाजा बजाउँदै, नाचगान गरी मनोनयन दर्ता गराएका हुन्। दुई चरणको निर्वाचनमा सहभागी नभएको राजपा नेपाल समेत तेस्रो चरणमा निर्वाचनमा सहभागी भएपछि चुनावको माहोल अझै तातेको हो। दलहरुले तामझामका साथ शक्ति प्रर्दशन गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन्।
जनकपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका लागि उम्मेदवारी दिएका मनोज साह यो निर्वाचन विकास र समृद्धिका लागि भएको हुँदा इमान्दार र स्वच्छ छविका उम्मेदवारलाई नै जनताले मत दिने बताउछन्। वर्षौदेखी आन्दोलन र राजनीतिक द्वन्द्वको मारमा रहेका मधेसका जनताल यस निर्वाचनबाट आफ्नो विकासका लागि मार्ग प्रसस्त हुने विश्वासमा छन्। नेपाली कांग्रेसको तर्फबाट जनकपुर उपमहानगरपालिकामा उपमेयरमा निलम कर्णलाई उम्मेदवार बनाइएको छ।
राजपा नेपालका जनकपुरका उपमेयर पदका उम्मेदवार लालकिशोर साह यो निर्वाचनमा मधेस र मधेसी जनताको पक्षधर पार्टीलाई नै विश्वास गर्न मतदाता समक्ष अनुरोध गरेका छन्। मधेसलाई अधिकार सम्पन्न बनाउनकै लागि राजपा नेपालको जन्म भएको र दुई चरणको निर्वाचनमा भाग नलिई तेस्रो चरणमा सहभागि भएको यो दलले मात्र मधेसी जनतालाई अधिकार सम्पन्न बनाउने हुनाले राजपाको पक्षमा मतदान गर्न उनले जनतालाई आग्रह गरेका छन्। राजपाले जनकपुरमा उपमेयरमा रिता कुमारी झालाई उम्मेदवार बनाएको छ।
नेकपा एमालेले जनकपुर उपमहानगरपालिकामा लक्ष्मीनारायण भगत र उपमेयरमा पुनम मिश्रलाई टिकट दिएको हो। त्यसैगरी नेकपा माओवादी केन्द्रले मेयरमा चन्द्रशेखर साह र उपमेयरमा अम्बिका यादवलाई उम्मेदवार बनाएको हो। जिल्लाभरी नै शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी गराएका छन्।