टिकटका लागि रातारात पार्टी परिवर्तन..
वीरगन्ज : असोज २ मा प्रदेश नम्बर २ मा स्थानीय तहको तेश्रो चरणको निर्वाचन हुने घोषणासंगै वीरगन्ज महानगरको मेयरको टिकटका लागि राष्ट्रिय जनता पार्टी (राजपा) का दुई महामन्त्री विमल श्रीवास्तव र राजेशमान सिंहबीच रस्साकसी सुरु भएको थियो।
संविधान संशोधनको अडानमा पार्टीले स्थानीय तहको निर्वाचनमा भाग लिने विषयमा औपचारिक रुपमा निर्णय नगरे पनि दुवै महामन्त्रीले वीरगन्ज महानगरको टिकट आफूले नै पाउने भन्दै आफ्ना समर्थकको सहयोगमा सामाजिक सञ्जालमा दाबी गर्दै आएका थिए। त्यति मात्र नभइ उनीहरुले अनौपचारिक रुपमा आ–आफनो पक्षमा मतदाताको घरदैलोमा पुगेर मत पनि माग्न सुरु गरिसकेका थिए।
मेयरको टिकटमा दुवैको सशक्त दाबेदारी भएपनि अन्तिम समय मङगलबार दिउँसोसम्म पार्टीले मेयरको टिकट श्रीवास्तवलाई नै दिने हल्लीखल्ली चलेको थियो। तर, मङगलबार साँझ काठमाडौंमा राजपाले वीरगन्ज महानगरको उम्मेदवार सिंहलाई बनाउने निर्णय गर्दै औपचारिक घोषणा गरेलगत्तै रुष्ट बनेका श्रीवास्तवले राजपा परित्याग गरी विजय कुमार गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरेको घोषणा गरे।
बुधबार उनले लोकतान्त्रिक फोरमकै तर्फबाट वीरगन्ज महानगरको मेयर पदका लागि मनोनयन पनि दर्ता गरे। मङगलबार राजपा परित्यागको घोषणा गर्दै श्रीवास्तवले भनेका थिए, ‘राजपाले वीरगन्जको सवालमा जुन निर्णय गर्यो त्यो मधेसी जनताको भावना विपरित हो, पैसाको चलखेल गरेर वीरगन्जको मेयरको टिकट बिक्री भएको छ।’
पार्टीले टिकट नदिएपछि अन्य दलमा प्रवेश गरी स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने श्रीवास्तव जस्तै पर्सामा अन्य नेता पनि छन्।
पोखरीया नगरपालिकाको मेयरमा टिकट पाउने सम्भावना नभएपछि एमाले नेता एवम् पूर्वसभासद् प्रधुम्न चौहानले बुधबार फोरम नेपालका तर्फबाट पोखरीया नगरपालिकाको मेयरमा मनोनयन दर्ता गराएका छन्। उनी केही समय पहिले मात्र एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन्।
यस्तै एमालेका केन्द्रीय सदस्य प्रह्लाद गिरीसंगै फोरम नेपालमा प्रवेश गरेका पवन तिवारीले बुधबार नेकपा माओवादी केन्द्रका तर्फबाट पर्साको कालीकामाई नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। गाउँपालिकाको उपप्रमुखमा दाबी गरेका तिवारीलाई फोरम नेपालले टिकट नदिएपछि बुधबार फोरम नेपाल परित्याग गर्दै उनले माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हु्न्।
यस्तै राजपा नेपालको तर्फबाट पकाहा मैनपुर गाउँपालिकाको प्रमुखमा दाबी गर्दै आएका युवा नेता धामु शर्माले पनि राजपाले टिकट नदिएपछि बुधबार मात्रै राजपा परित्याग गरी नयाँ शक्ति पार्टीको तर्फबाट गाउँपालिका प्रमुखमा मनोनयन दर्ता गरेका छन्।
यस्तै राजपा नेपालको तर्फबाट पोखरीया नगरपालिकाको मेयरमा पार्टीले टिकट नदिएपछि राजपाका नेता जोगानन्द चौहानले पनि बुधबार नै राजपा परित्याग गरी माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दिएका छन्। पर्साकै बिन्दवासीनी गाउँपालिका प्रमुखमा दाबी गर्दै आएका लक्षण चौरसीयालाइ कांग्रेसले टिकट नदिएपछि उनले पनि कांग्रेस परित्याग गरी राजपाका तर्फबाट गाउँपालिका प्रमुख पदमा मनोनयन दर्ता गराएका छन्।