कति टिक्छन् फिरन्ते कार्यकर्ता
काठमाडौं : - राष्ट्रिय जनता पार्टीबाट वीरगन्ज महानगरपालिकाका ‘मेयर' मा चर्चामा रहेका विमल श्रीवास्तव मंगलबार फोरम लोकतान्त्रिक प्रवेश गरे । बुधबार नै उनले फोरम लोकतान्त्रिकबाट महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराए ।
- राजपा महोत्तरीका अध्यक्ष मण्डलका सदस्य नरेन्द्र यादव मंगलबार माओवादी केन्द्र प्रवेश गरे । उनले बुधबार नै औरही नगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराए ।
- सद्भावना पार्टीका संस्थापक महासचिव अनिश अन्सारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एक साता लामो मधेस भ्रमणका क्रममा माओवादी प्रवेश गरे । उनले पनि बुधबार सप्तरीको राजविराज नगरपालिकाको मेयरमा माओवादीका तर्फबाट उम्मेदवारी दर्ता गराए ।
- वीरगन्ज मेडिकल कलेजका सञ्चालक बसुरुद्दिन अन्सारी माओवादी छाडेर एमाले प्रवेश गरे । एमालेबाट माओवादीमा प्रवेश गरेका उनी फेरि एमालेमै फर्केर बुधबार वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराए ।
यी प्रतिनिधि उदाहरण मात्र हुन् । तराई-मधेसमा २ असोजमा हुन लागेको स्थानीय तह निर्वाचनमा झन्डै दर्जन बढी नेताले ‘टिकट' कै लागि राजनीतिक दल बदलेर उम्मेदवारी दर्ता गराएका छन् । यसपटकको निर्वाचनमा दल बदलेर पार्टी प्रवेश गर्न चाहनेलाई कांग्रेस-एमालेको तुलनामा माओवादी केन्द्रले बढी टिकट दिएको छ ।
माओवादीले एमालेबाट आएका राजनारायण चौधरीलाई महोत्तरीको भङगह नगरपालिका प्रमुख, राजपाबाट आएका शेख मोत्तिनलाई बाराको सिम्रनगढ नगरपालिका प्रमुख र कांग्रेसबाट आएका इस्लाम अन्सारीलाई आदर्शकोतवाल गाउँपालिका अध्यक्षको ‘टिकट' दिएको छ ।
राजनीतिक दल अदलबदल गर्ने र राजनीतिक उतारचढाव हुने क्रम अहिले मधेसमा दिनहुँ देखिएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा पार्टी फेर्ने संस्कार नयाँ भने होइन । तर, यस्तो तरलता र पार्टी अदल-बदल पहाडमा भन्दा मधेसमा बढी हुने गरेको देखिएको छ । यस्तो अदलबदल व्यक्तिगत स्वार्थ र ‘अवसर' कै लागि गर्ने गरेको यी तथ्यले देखाउँछ ।
एक सातायताको मात्रै तथ्यांकलाई हेर्ने हो भने मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले मधेसमा पार्टी प्रवेश कार्यक्रमलाई महत्वव दिइरहेका छन् । त्यसमा पनि माओवादी केन्द्रले अन्य दुई दलको भन्दा बढी चुनावी प्रपोगन्डा ‘पार्टी प्रवेश' लाई बनाइरहेका छन् । माओवादी केन्द्रले साताभित्र मात्रै अध्यक्ष पुष्पकमल दाहालको मधेस भ्रमणका क्रममा फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेश्वर राय यादव, सद्भावना पार्टीका संस्थापक महासचिव अनिश अन्सारीदेखि पूर्वसांसद शिवपुजन यादवसम्म गरी करिब १९ हजार नेता-कार्यकर्ता विभिन्न पार्टी छाडी आफ्नो पार्टी प्रवेश गरेको दाबी गरेको छ ।
एमालेले पनि निर्वाचनकै सन्दर्भमा राजपाका कोषाध्यक्ष अनिता यादव, अखण्ड नेपाल पार्टीका उपाध्यक्ष रुपा भण्डारीलगायत नेता-कार्यकर्ता आफ्नो पार्टीमा आएको बताएको छ । कांग्रेसमा पनि यो क्रम उस्तै छ ।
कति टिकाउ हुन्छन् ?
चुनावको मुखमा पार्टी प्रवेश गर्ने नेता-कार्यकर्ता सैद्धान्तिक रूपमा प्रतिबद्ध भएर नआउने राजनीतिशास्त्रका प्राध्यापक लोकराज बराल बताउँछन् । पार्टीले पनि आफ्नो दार्शनिक मूल्य/मान्यता, विचारमा सहमत भएर अन्य दलका नेता-कार्यकर्ता आफ्नो पार्टीमा भित्वयाउनेभन्दा पनि चुनावी ‘भोट बैंक' का लागि मात्र भित्वयाउने गरेका छन् ।
चुनावी मुखमा पार्टी फेरबदलमा कुनै सैद्धान्तिक विषयले प्राथमिकता पाउँदैनन् । ‘मान्छेहरू सबैभन्दा पहिले आफू रहेको दलले टिकट नदिएपछि अर्को दलबाट टिकट पाउने लोभमा बार्गेनिङ गरी प्रवेश गर्ने गरेको बढी देखिएको छ', बरालले अन्नपूर्णसँग भने, ‘मौका यही हो भन्ठानेर उनीहरू एक-अर्को पार्टी प्रवेश गरिरहेका हुन्छन् । सैद्धान्तिक आधार केही छैन, व्यक्तिगत लाभका लागि मात्र पार्टी परिवर्तन हुने गरेका छन् ।'
चुनावको मुखमा पार्टी प्रवेश गर्ने नेता-कार्यकर्ता सैद्धान्तिक रूपमा प्रतिबद्ध भएर आउँदैनन् । पार्टीले पनि चुनावी ‘भोट बैंक' का लागि मात्र भित्र्याउने गरेका छन् । लोकराज बराल, प्राध्यापक, राजनीतिशास्त्र
चुनावी मुखमा भित्रिएका नेता-कार्यकर्ता एकै पार्टीमा टिकाउ नहुने पनि बराल बताउँछन् । ‘यो टिकाउ हुँदैन । पार्टीले चुनावमा भोट तान्न जसलाई पनि पार्टीमा हुल्ने संस्कार छ', उनले भने, ‘सैद्धान्तिक आधार नहुने, प्रतिबद्धता नहुने र आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र पार्टी फेर्नेहरू कसरी टिकाउ हुन्छन् ? जता अवसर पाउँछन्, उत्तै दौडिहाल्छन् ।' एमालेले वीरगन्ज महानगरपालिकामा मेयर उम्मेदवार बसुरुद्दिन अन्सारी यस्तैमध्येका एक हुन् ।
दोस्रो संविधानसभा निर्वाचनको मुखमा उनी एमालेबाट माओवादी प्रवेश गरेका थिए । तर, अहिले उनी फेरि वीरगन्ज महानगरको मेयरको ‘टिकट' लिएर एमालेमै फर्केका छन् । ‘मान्छे सबैभन्दा पहिले आफ्नो पहिचानको खोजी गर्छ, आफूलाई मान-सम्मान गरिदेओस् भन्ने चाहन्छ', राजनीतिक विश्लेषक प्राध्यापक बराल थप्छन्, ‘चुनावकै बेला दल अदल-बदल बढी हुनुमा मौका पनि मिल्ने, फाइदा लिन पनि सकिने भएर दल फेर्न मान्छे हतारिन्छ ।'