नक्कली स्टिकर प्रकरण: भरिया मात्रै नियन्त्रणमा

नक्कली स्टिकर प्रकरण: भरिया मात्रै नियन्त्रणमा

काठमाडौं : सस्तो चप्पल, त्यो पनि थोत्रो– हेर्दा हुँदाखाने । तर आयातनिर्यात गर्ने फर्मका ‘मालिक' हुन् कुलप्रसाद राजभण्डारी । उनलाई आफ्नो फर्मको अफिस कहाँ छ भन्ने थाहा छैन, बौद्धमा छ भन्ने सुनेको उनको भनाइ छ ।

 

उनले नागरिकता दिए, फर्म दर्ता भयो भनेर केही पैसा पनि पाए । दसैंमा खर्च पाउँछस् भनिएको थियो । ‘तर दसैं त यतै बित्लाजस्तो पो', वीरगन्जमा नक्कली स्टिकर फेला परेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका ४९ वर्षीय राजभण्डारीले अन्नपूर्णसँग भने ।

राजभण्डारीलाई मंगलबार ब्युरोले विराटनगरमा पक्राउ गरी ल्याएको हो । कारोबारमा संलग्न विराटनगरका प्रकाश घिमिरे टेकुबाट पक्राउ परेका छन् । यसबाहेक ट्रान्सपोर्टका कर्मचारी वीरेन्द्र महतोलाई भन्सारले नै पक्राउ गरी नक्कली स्टिकरसहित वीरगन्जको आन्तरिक राजस्व कार्यालयमा बुझाएको थियो ।

गैरकानुनी धन्दा गर्ने टाठाबाठा व्यापारीले प्रयोग गर्ने गरिएका एउटा प्रतिनिधि पात्र हुन्, राजभण्डारी । कार्यालयमा हिमालय ट्रान्सपोर्टमार्फत हरिओम ट्रेडिङ प्राइभेट लिमिटेडले भित्र्याउन खोजेको ८६ हजार चार सय ७० थान नक्कली स्टिकर आइतबार वीरगन्ज भन्सारमा बरामद भएको थियो । विराटनगर महानगरपालिकाका राजभण्डारी त्यही हरिओम ट्रेडिङका मालिक (प्रोप्राइटर) हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा नक्कली स्टिकर भित्र्याई मदिरा उद्योगलाई राजस्व चुहावटमा सघाउनकै लागि सो ट्रेडिङ दर्ता भएको देखिन्छ । हेर्दा हुँदाखाने परिवारको देखिए पनि राजभण्डारी अवैध धन्दाबारे बेखबर लाग्दैनन् ।

सोधेको कुराको जवाफ दिनुको सट्टा कुरा अन्त मोड्न खोज्छन् वा खुल्न चाहँदैनन् । उनले थप दुईवटा फर्म आफ्नो नाममा दर्ता भएको बताए पनि नाम थाहा नभएको बताइरहेका छन् । ‘हेर्दा जस्तो देखिए पनि कुराले यो मान्छे अरूको फर्मको प्रोपाइटर भइदिएर जीविका चलाउनेजस्तो देखिन्छ', अनुसन्धानमा संलग्न एसपी मीरा चौधरीले भनिन् । उनले मोरङ जिल्लाबाटै अशोककुमार श्रेष्ठको नाममा अर्को नागरिकता पनि लिएको खुलेको छ ।

राजभण्डारी विराटनगरकै चिनजानका घिमिरेले भनेपछि फर्म दर्ता गर्न नागरिकता दिएको बताउँछन् । हरिओम ट्रेडिङ दर्ता गर्दा लागेको खर्च ५० हजार रुपैयाँका साथै बैंक जमानत तीन लाख रुपैयाँ घिमिरेमार्फत विनोद गुप्ताले तिरेका थिए । गुप्ता हिमालयन कार्गो, साइसाइन कार्गो र प्रकाश रोडवेज कार्गोका मालिक हुन् । कानुनतः राजभण्डारी मालिक भए पनि कारोबारचाहिँ गुप्ताले नै गर्थे । गुप्ताको सहयोगीका रूपमा कर, बैंक, कम्पनी रजिस्ट्रार कार्यालय धाउने कामचाहिँ घिमिरेले गर्थे ।


हिमालय ट्रान्सपोर्टमार्फत हरिओम ट्रेडिङ प्राइभेट लिमिटेडले भित्र्याउन खोजेको ८६ हजार चार सय ७० थान नक्कली स्टिकर आइतबार वीरगन्ज भन्सारमा बरामद भएको थियो ।

सीआईबीका प्रमुख पुष्कर कार्की प्रयोग भएका यस्ता व्यक्ति अनुसन्धानका लागि आवश्यक भए पनि अनुसन्धान यिनलाई प्रयोग गर्नेसम्म नपुगी नहुने बताए । अहिलेसम्म विनोद गुप्ता देखिए पनि उनले पनि मदिरा उद्योगकै लागि नक्कली स्टिकर आपूर्ति गरेको हुन सक्ने अनुमान छ । ‘त्यो मदिरा उद्योगसम्म कारबाही दायरा नआए यस्तो धन्दा नियन्त्रण हुन्न', उनले भने । बरामद भएको स्टिकर मदिरामा प्रयोग भएको भए अन्तःशुल्कबापत राज्यकोषमा आउने एक करोड ९७ लाख रुपैयाँ गुम्ने थियो । आन्तरिक राजस्व विभागसँगै सहकार्य गरी सीआईबीले अनुसन्धानमा हात हाले पनि हिरासतमा रहेका राजभण्डारी र घिमिरेलाई बुधबार नै आन्तरिक राजस्व कार्यालय वीरगन्जमा पठाएको छ ।

राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक निर्मलहरि अधिकारीका अनुसार विपन्न÷निमुखाको नाममा फर्म दर्ता गरी हुने गैरकानुनी कारोबार नियन्त्रण गर्न हैसियत भएको व्यक्तिलाई मात्र आयातनिर्यातको अनुमति नदिएसम्म यस्तो धन्दा नियन्त्रण हुन गाह्रो छ । यसका लागि आयातनिर्यातको व्यापार गर्न करोड रुपैयाँबराबरको सम्पत्ति देखाउनपर्ने व्यवस्था हुनपर्ने उनले बताए । सम्पत्ति नै नभएको व्यक्तिले आयातनिर्यातको व्यापार गर्छु भन्दा सरकारले किन पत्याउने भन्ने उनको प्रश्न छ ।

अर्थमा यसबारे छलफल भए पनि एक्जिम कोड लागू भएपछि विचलन नियन्त्रण हुने निष्कर्षमा पुगेका थिए । एक्जिम कोड लिएपछि कुनै विचलन गरेको फेला परे तीन लाख जरिवाना तिराउने प्रावधान छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.