पार्टी फेर्दै, उम्मेदवार बन्दै
काठमाडौं: लामो समय क्रियाशील पार्टीबाट टिकट नपाएपछि दल बदलेर उम्मेदवारी दिनेको ताँती देखिएको छ।प्रदेश २ का १३६ स्थानीय तहमा बुधबार उम्मेदवारी दर्ता गराउने क्रममा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक पार्टीका नेता–कार्यकर्ताबीच एउटाबाट टिकट नपाएपछि अर्कोबाट चुनाव लड्ने लहर नै चल्यो। कतिपय ठाउँमा त लोकतान्त्रिक पार्टीले राजपा र फोरमले उम्मेदवारी घोषणापछि पर्खेरै आफ्नो उम्मेदवार बनाएको सम्म पाइयो।
त्यसबाहेक टिकटकै लागि मधेसकेन्द्रित दलका कतिपय कार्यकर्ता हिजोसम्म ‘मधेसविरोधी' भनी आफैंले आरोप लगाउने गरेको एमालेमा प्र्रवेश गरेका छन्। एमाले–कांग्रेसबाट मधेसकेन्द्रित दलमा प्रवेश गरेर उम्मेदवार बन्नेहरू पनि प्रशस्तै छन्।
त्योभन्दा पनि गम्भीर विषय त के भने भारतले गरेको पाँचमहिने नाकाबन्दीलाई बल पुग्ने गरी नाकामा धर्ना बस्ने राजपा महामन्त्री विमल श्रीवास्तवले आरोप लगाएका छन्, ‘राजपाले वीरगन्जको सवालमा जुन निर्णय ग¥यो, त्यो मधेसी जनताको भावनाविपरीत हो।
पैसाको चलखेल गरेर वीरगन्जमा मेयरको टिकट बिक्री भएको छ।' उनी राजपा त्यागेर विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक पार्टीबाट वीरगन्जको मेयर उम्मेदवार भएका छन्। राजपाले अर्का महामन्त्री राजेशमान सिंहलाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका उनी दल बदलेर मेयर उठेका हुन्। राजपाका यी दुई महामन्त्रीले चुनाव जित्ने दाबीसहित मतदाताको घरदैलोमा पुगेर मत माग्न थालिसकेका छन्।
पार्टीले टिकट नदिएपछि अन्य दलमा प्रवेश गरेर उम्मेदवारी दिने पर्सामा श्रीवास्तवजस्तै अन्य नेता पनि छन्। पोखरिया नगरपालिकाको मेयरमा टिकट पाउने सम्भावना नभएपछि एमाले नेता एवं पूर्वसभासद् प्रद्युम्न चौहानले बुधबार फोरम नेपालबाट मनोनयन दर्ता गराएका छन्। उनी केही समयअघि मात्रै फोरममा प्रवेश गरेका हुन्।
एमालेकै केन्द्रीय सदस्य प्रह्लाद गिरीसँगै फोरममा प्रवेश गरेका पवन तिवारीले माओवादी केन्द्रका तर्फबाट कालिकामाई नगरपालिका ५ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। गाउँपालिकाको उपप्रमुख दाबी गरेका तिवारीलाई फोरमले टिकट नदिएपछि माओवादीबाट वडाध्यक्ष बनेका हुन्।
राजपाको तर्फबाट पकाहा मैनपुर गाउँपालिका प्रमुखमा दाबी गर्दै आएका धामु शर्माले नयाँ शक्ति पार्टीबाट प्रमुखमै मनोनयन दर्ता गरेका छन् । पोखरिया नगरपालिकाको मेयर नपाएपछि राजपा नेता जोगानन्द चौहानले माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका छन् । बिन्ध्यवासिनी गाउँपालिका प्रमुखमा दाबी गर्दै आएका लक्ष्मण चौरसियाले कांग्रेसबाट टिकट नदिएपछि राजपाबाट मनोनयन दर्ता गराएका छन्।
त्यसैगरी, पार्टीबाट टिकट नपाएपछि राजपा महोत्तरीका जिल्ला नेता नरेन्द्र यादवले माओवादी केन्द्रबाट औरही नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। राजपाले टिकट नदिएको झोंकमा उनले मंगलबार पार्टी परिवर्तन गरेका हुन्। साताअघि राजपा त्यागेकी रामकुमारी महतोले संघीय समाजवादी फोरमबाट गौशाला नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी छन्। राजपाकै सुरेन्द्र सिंहले पनि संघीय फोरमबाट जलेश्वर नगरपालिकाको मेयरमा मनोनयन दर्ता गराएका छन्। माओवादी केन्द्रबाट बर्दिबास नगरपालिका १४ को वडाध्यक्ष नपाएपछि असन्तुष्ट बनेका कुमारी भण्डारीले एमालेबाट वडा सदस्यमा उमेदवारी दर्ता गराएका छन्।
मनोनयन दर्ता गर्नेक्रममा सप्तरीमा पनि नवप्रवेशीको भीड नै लाग्यो। राजविराज नगरपालिकाको मेयरका लागि सद्भावना पार्टीका संस्थापक महामन्त्री अनिस अन्सारीले माओवादी केन्द्रबाट, सुखराम यादवले एमालेबाट र भीमराज यादवले संघीय फोरमबाट मनोनयन दर्ता गरेका छन्। हालै मात्र पार्टी प्रवेश गरेका मिना ठाकुर र अनन्तलाल साहले नयाँ शक्ति र नेकपा संयुक्तको गठबन्धनबाट राजविराजको मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका छन्। एमाले छाडेका दिपेन्द्र लगरवारले फोरम लोकतान्त्रिकबाट तिरहुत गाउँपालिका अध्यक्षमा मनोनयन दिएका छन्।
कांग्रेस जिल्ला सदस्य त्यागेर एमाले प्रवेश गरेका ओमप्रकाश मण्डलले बेल्ही चपेनाबाट अध्यक्षमा उम्मेदवारी दिएका छन् भने साताअघि कांग्रेसबाट राजपा प्रवेश गरेका शिवनारायण साहले डाक्नेश्वरी नगरपालिकाको अध्यक्षमा मनोनयन दर्ता गराए। माओवादी केन्द्रबाट केही दिनअघि नयाँ शक्ति प्रवेश गरेकी कल्पना चौधरीले अग्निसार कृष्णसवरण गाउँपालिका उपप्रमुखमा र राप्रपाबाट राजपा प्रवेश गरेका चन्द्रशेखर चौधरीले राजविराज १ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन्।
कांग्रेसबाट टिकट नपाएपछि मनोनयनकै दिन प्रवेश गरेका बन्धु दासले राजविराज ५ मा फोरमबाट र राजपाका मनोज मेहतरले स्वतन्त्रबाट राजविराज ६ को वडाध्यक्षमा मनोनयन दर्ता गरेका छन्। नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष एवं राजविराजको मेयर पदका दावेदार जोगेन्द्र भगतले टिकट नपाएपछि पार्टी त्यागेका छन्।
त्यसैगरी एमालेबाट टिकट नपाएपछि असन्तुष्ट बनेका जामुन यादवले संघीय फोरमबाट सिरहाको मिर्चैया नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। एमाले छाडेर माओवादी केन्द्र गएका मुनि साहले भने बुधबार एमालेबाटै लहान नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसका पुराना नेता जोगी साहले संघीय समाजवादी फोरमबाट धनगढीमाई नगरपालिकाको मेयरमा मनोनयन दिएका छन्।
गोलबजार नगरपालिकाका कांग्रेसकै पुराना नेता श्यामसुन्दर पाल वडाध्यक्षको टिकट नपाएपछि संघीय फोरमबाट उम्मेदवार बनेका छन्। टिकट नपाउने छन्द नदेखेर एमालेबाट फोरममा गएका गोलबजारका राजकरण यादव नयाँ पार्टीमा पनि टिकट नपाएपछि पुनः एमालेमै फर्किएर उम्मेदवार भएका छन्। सिरहामा टिकटकै लागि पार्टी छाड्ने नेता दुई दर्जनभन्दा धेरै छन्।
त्यसैगरी, सर्लाहीका राजपा नेता विनय कर्णले एमालेबाट कविलासी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका छन्। केही दिनअघि फोरम लोकतान्त्रिकबाट माओवादी प्रवेश गरेका रामेश्वर रायका छोरा विक्रम यादवले माओवादीबाटै चक्रघट्टा गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका छन्। सर्लाहीको अन्य स्थानमा पनि मधेसवादी दल त्याग गरेका नेताले ठूला तीन दलबाट उम्मेदवारी दिएका छन्।