पाक-अफगान विदेशमन्त्री भेटवार्ता गर्दै
इस्लामाबाद: पाकिस्तानका विदेशमन्त्री ख्वाजा मुहमाद असिफ र उनका अफगान समकक्षी सलाहुद्दिन रब्बानीबीच भेटवार्ता हुने सहमति भएको छ । यसै महिनामा अमेरिकाको न्युयोर्कमा हुन गइरहेको संयुक्त राष्ट्रसंघको महासभामा यी दुईबीच भेटवार्ता हुने बताइएको छ ।
असिफले अफगान विदेशमन्त्रीलाई गर्नुभएको टेलिफोन वार्तामा अफगानिस्तानसँगको सम्बन्धलाई पाकिस्तानले ठूलो महत्व दिएको बताएका छन् । पाकिस्तान अफगानिस्तानसँग राजनीति, आर्थिक, व्यापार, यातायात र सुरक्षालगायत हरेक क्षेत्रमा सहकार्य गर्नका लागि तयारी अवस्थामा रहेको बताएको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।
अफगानिस्तानको शान्ति वार्ता एवं शान्ति र स्थायित्वका लागि पनि पाकिस्तानले सदैव समर्थन गर्ने विज्ञप्तिमा उल्लेख छ । अफगान राष्ट्रपति असरफ घानीले गत शनिबार आफ्नो देश पाकिस्तानसँग विस्तृत वार्ताका लागि तयार भएको बताएलगत्तै पाकिस्तानले यसको स्वागत गरेको थियो । राष्ट्रपति घानीले मुस्लिमको पर्व इद उल अजाको उपलक्ष्यमा दिएको एक सन्देशमा पाकिस्तानसँग शान्ति वार्ता अफगानिस्तानको राष्ट्रिय कार्यसूची भएको स्पष्ट पारेका थिए ।
पाकिस्तानका विदेशमन्त्री ख्वाजा मुहमद सरिफले अफगान राष्ट्रपतिको यस भनाइको स्वागत गरेका थिए । पाकिस्तानलाई पनि अफगानिस्तानसँग वार्ताको चाहना रहेको पनि उनले चर्चा गरेका थिए । ‘पाकिस्तानको अफगानिस्तानप्रतिको दृष्टिकोणको विषयमा अफगानिस्तान एकदम प्रष्ट भएको' पाकिस्तानी विदेश मन्त्रालयको भनाइ छ । ‘हामी अफगानिस्तानमा शान्ति र स्थायित्व देख्न चाहन्छौँ । यसका लागि पाकिस्तानले आफ्नो तर्फबाट सक्दो योगदान र सहयोग गर्नेछ', पाक विदेशमन्त्रीले भनेका थिए । यसअघि पनि पाकिस्तान र अफगानिस्तानबीच विभिन्न चरणमा वार्ता भइसकेको पनि मन्त्री सरिफले चर्चा गरेका छन् ।
यी दुई देशबीच केही समयदेखि असहज सम्बन्ध देखापरेको छ । अफगानिस्तानमा सशस्त्र युद्ध गर्दै आएका तालिबान विद्रोहीलाई पाकिस्तानले सहयोग गर्ने गरेको अफगानिस्तानको भनाइ छ । अफगानिस्तानले भने यसको खण्डन गर्दै आएको छ । यसैगरी पाकिस्तानमा अशान्ति मच्चाउने खोज्नेहरूलाई अफगानिस्तानले सहयोग गर्ने गरेको इस्लामाबादको आरोप छ ।
भारतीय सहयोगमा पाकिस्तानमा अस्थिरता उत्पन्न खोजेको आरोप अफगानिस्तानले खेप्दै आएको छ । केही महिनाअघि पाकिस्तानले अफगानिस्तान र भारतबीचको व्यापारमा अवरोध पुर्याएको थियो । हाल अफगानिस्तान र भारतबीच हवाई मार्गबाट व्यापार हुने गरेको छ ।