'रोहिंग्यामाथि ज्यादती ' भएको छैन– सुकी
यांगुन: म्यान्मारमा केही समययता भड्किएको हिंसाको कारण यहाँका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायका नागरिकमाथि ज्यादती बढेको अधिकारवादीहरूको आरोप छ ।
उनीहरूले उक्त अल्पसंख्यक जातिको मानवअधिकार हनन भएकाले त्यसो नगर्न र उनीहरूलाई पनि आफ्नो समुदायमा सुरक्षित हिसाबमा बस्न दिन आग्रह गरेका हुन् । उक्त हिंसाका कारण यहाँबाट दशौँ हजार शरणार्थी छिमेकी देश बंगलादेश पुगेका छन् । म्यान्मारबाट दैनिक हजारौं नागरिक बाहिरिएको तथ्यांक संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको थियो । गत अगस्तबाट शुरु भएको हिंसाको कारण शरणार्थीको रूपमा उनीहरू देश छोडेर बंगलादेश जान बाध्य भएका हुन् ।
त्यस समुदायका नागरिकमाथि सुरक्षाकर्मीहरूले पनि ज्यादती गरेको गुनासो बढिरहेका बेला विश्वमा अधिकारवादीहरूले चासो राखेका हुन् । उनीहरूको घर बस्तीमा आगो लगाइएको र कुटपिट गरिएको भन्दै सुरक्षाका लागि अधिकारवादीहरूले चासो व्यक्त गरेका छन् । उनीहरूले म्यान्मारको अल्पसंख्यक उक्त रोहिंग्या मुस्लिममाथि पछिल्लो समयमा म्यान्मारको राखिन राज्यमा शुरु भएको द्वन्द्वमा प्रहरीको ज्यादती भएको उनीहरूको दाबी छ । यस कारण उनीहरू पनि बंगलादेश छिर्ने सीमामा बसेका छन् ।
अधिकारवादीहरूले उनीहरूको बस्ती जलाइएको र कतिपय अवस्थामा उनीहरूलाई घरबाट परिवारसहित लखेटिएको पाइएको आरोप लगाएका छन् । राष्ट्रसंघले दिएको जानकारीअनुसार गत अगस्त २५ बाट मंगलबारसम्म बंगलादेश प्रवेश गर्ने म्यान्मारका शरणार्थीको संख्या करिब १ लाख २३ हजार पुगेको थियो । यो क्रम अहिले पनि जारी रहेको उनीहरूको भनाइ छ । राखिन राज्यमा पछिल्लो समय जाति र धर्मका कारण हिंसा भड्किँदै गएको छ ।
ज्यादती भएको छैन– सुकी
यसैबीच म्यान्मारकी विदेशमन्त्री एवं राज्य सल्लाहकार आङ सान सुकीले रोहिंग्या समुदायका नागरिकमाथि सैनिक ज्यादती नभएको स्पष्ट पारेकी छन् । उनले त्यस समुदायका नागरिकका बस्तीमा आगजनी गरिएको भन्नेजस्ता समाचार आएकोमा त्यसको खण्डन गरेकी छन् । उनले यस्तो कुनै दुव्र्यवहार उनीहरूमाथि नभएको पनि दाबी गरिन् । उनले यी समाचारहरू आतंककारीलाई सहयोग पुग्ने गरी अफवाह फैलाइएको भन्दै गुनासो गरिन् । त्यस्तो कुनै पनि ज्यादतीको समाचार आफूले थाहा नपाएको पनि उनले स्पष्ट पारेकी हुन् ।
डुंगा डुब्दा पाँच बालबालिकाको मृत्यु
यसैबीच म्यान्मारबाट बंगलादेशतर्फ जाने क्रममा बुधबार बिहान डुंगा डुब्दा पाँचजना बालबालिकाको ज्यान गएको छ । भागिरहेका रोहिंग्या जातिका शरणार्थी बंगलादेश जाने क्रममा एउटा डुंगा डुबेको हो । बुधबार बिहानै उनीहरू नाफ नदी भएर बंगलादेशतर्फ भागेर जाँदै थिए । बुधबार बिहानैदेखि कैयौँ डुंगाले उनीहरूलाई बोकिरहेका छन् । यसबीचमा कैयौँ डुंगा डुबेका कारण दर्जनौंको ज्यान गइसकेको छ । नाफ नदी म्यान्मार र बंगलादेशको सीमामा पर्दछ । त्यस क्षेत्रमा सुरक्षाको प्रबन्ध गरिएको भनिए पनि दुर्घटना पनि भएका छन् ।