बाढीपीडितलाई प्रतिष्ठानको सहयोग
काठमाडौं : सिर्जनाबाट सहयोगी हात जुटाउन सकिन्छ भन्ने सन्देश मुक्तक प्रतिष्ठानले दिएको छ । प्रतिष्ठानले तराईका बाढीपीडितको सहयोगका लागि मुक्तक मेलाको आयोजना गरेर सहयोग संकलन गरेको हो ।
मेलाबाट उठेको एक लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री देउवाले देश विपत्तिमा परेका बेला साहित्यकारले मानवीयताको भावनाले गरेको सहयोग प्रशंसनीय भएको बताए । ‘साहित्यकारहरूले गरेको यो सहयोगको सन्देश प्रतीकात्मक छ', प्रधानमन्त्री देउवाले भने ।
प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सहयोग रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । प्रतिष्ठानका महासविच रमेश पौडेलले देशमा आपत्विपद् आइलागेका बेला आहत मनलाई सिर्जनाबाट सहयोगको मल्हम लगाउन खोजेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित राहत रकम हस्तान्तरण समारोहमा प्रतिष्ठानकी सल्लाहकार उषा शेरचन, उपाध्यक्ष वियोगी बुढाथोकी, सचिव बादल घिमिरे, कोषाध्यक्ष निशा के.सी., सदस्यहरू यादव भट्टराई, गुप्तबहादुर श्रेष्ठ र कल्पना श्रेष्ठ पुगेका थिए ।