उत्कृष्ट महिला खेलाडी अवार्ड रोचक
काठमाडौं: भदौ २६ गते हुने पल्सर स्पोर्ट्स अवार्डका लागि उत्कृष्ट महिला खेलाडीको मनोनयनमा पाँच खेलाडी परेका छन्। उपलब्धिका हिसाबले पाँचैजनाको अवार्ड हत्याउने दौड रोचक बनेको छ। मनोनयनमा परेकीमध्ये लामो दूरीकी धाविका कान्छीमाया कोजूको प्रदर्शन २०७३ सालमा उत्कृष्ट रह्यो।
कान्छीमायासँगै ब्याडमिन्टनकी अन्तर्राष्ट्रिय पदकधारी नङ्सल तामाङ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र धाविका सरस्वती भट्टराई पनि अवार्डका लागि दाबेदार छन्।
गत वर्ष हाफ म्याराथनमा पाँच उपाधि जितेकी कान्छीमायाले राष्ट्रिय कीर्तिमानसहित म्याराथन र हाफ म्याराथनको उपाधि जितिन्। उनले सातौं राष्ट्रिय खेलकुदमा दुई स्वर्ण र एक रजत जितेकी थिइन्। यसैगरी आर्चरी खेलाडी ज्ञानु बंगलादेशको ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपाली महिला टोलीले रजत पदक जित्दा मुख्य खेलाडी थिइन्। ज्ञानुले सातौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन्।
नङ्सलले भाइ रत्नजितसँग मिलेर मिक्स डबल्स स्पर्धामा नेपाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पहिलो स्वर्णपदक दिलाएका थिए । गत वर्ष सम्पन्न पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा तामाङ दिदीभाइले स्वर्णपदक जितेका थिए । उनले सातौं राष्ट्रिय खेलकुदमा एकल, डबल्स र टिम इभेन्ट्स सबैमा स्वर्ण कुम्ल्याएकी थिइन् । यसैगरी सावित्रा राष्ट्रिय महिला फुटबल टिमकी प्रतिभाशाली खेलाडी हुन्।
उनी एक वर्षमा १३ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएकी थिइन् । तीमध्ये १२ गोल भारतमा सम्पन्न चौथो साफ महिला च्याम्पियनसिपमा गरेकी थिइन्। भुटानविरुद्ध ६ गोल गरेकी उनी एकै खेलमा ‘डबल ह्याट्रिक' गर्ने पहिलो नेपाली हुन्।
यसैगरी सरस्वती महिला एथलेटिक्सकी स्टार खेलाडी हुन्। उनी रियो ओलम्पिकमा नेपालका सहभागी खेलाडीमध्ये सबैभन्दा सफल खेलाडी बनेकी थिइन्। उनले १५ सय मिटरमा २६ वर्ष पुरानो राजकुमारी पाण्डेको राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। उनले सातौं राष्ट्रिय खेलकुदमा तीन स्वर्ण जितेकी थिइन्।