एकल साँझका लागि अभ्यासमा अञ्जु
काठमाडौं : गायिका अञ्जु पन्त पहिलोपटक एकल साँझमा प्रस्तुत हुने भएकी छन् । नेपाल रेकर्डिस्ट एसोसियसनको सहयोगार्थ अञ्जु पन्त फाउन्डेसनले एकल साँझ आयोजना गर्न लागेको हो । शनिबार प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा अञ्जुले आफ्ना चर्चित गीत सुनाउने छिन् ।
अहिले अञ्जु २७ जना वाद्यवादकको टोलीका साथ अभ्यासमा जुटेकी छन् । पहिलो एकल साँझका लागि उनी निक उत्साहित छिन् । ‘दुई दशक लामो गायनयात्रामा एकल गायन प्रस्तुत गर्ने मौका मिलेको थिएन त्यसैले यो मेरा लागि एउटा उत्सव हो', उनले भनेकी छन् ।
कार्यक्रममा अञ्जुले आफूलाई स्थापित गराएका चलचित्रका साथै आधुनिक गीत गाउनेछिन् । कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत रेकर्डिस्ट एसोसिएसनलाई र ५० प्रतिशत गरिब बालबालिकाको शिक्षाका लागि खर्च गरिने आयोजकले जनाएको छ ।