‘काँग्रेस,एमाले र माओवादी तानाशाही’
काठमाडौ : नेकपा क्रान्तिकारी माओवादी समिर्थत देशभक्त जनतान्त्रिक मोर्चाले काँग्रेस,एमाले र माओवादी केन्द्रलाई तानाशाहीको संज्ञा दिएको छ । सो मोर्चाका अध्यक्ष सीपी गजुरेलले तीन दल मिलेर प्रतिनिधिसभामा तीन प्रतिशतको थ्रेस होल्ड,प्रत्यक्षमा चुनाव जितेकै हुनु पर्ने बिषय समेटिएको बिधेयक पारित गरेको भन्दै काँग्रेस,एमाले र माओवादी केन्द्रलाई तानाशाहीको आरोप लगाएका हुन । तीन दलको सहमतिमा बिधेयक पारित हुनुलाई साना दललाई समाप्त पार्ने नियत रहेको पनि गजुरेलले बताएका छन् ।
‘तीन दलको सिण्डिकेट, तीन दलको तानाशाहीले देशलाई निरंकुशतातिर अघि बढाइरहेको र देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता समाप्त पार्ने काम गरिरहेको चर्चा व्यापक चलिरहेको र त्यसको बिरोध पनि भैरहेको सन्दर्भमा तिनवटै दलहरु मिलेर प्रतिनिधिसभामा तीन प्रतिशतको थ्रेस होल्ड, प्रत्यक्षमा चुनाव जितेकै हुनु पर्ने आदि विषयहरु अनिवार्य बनाई यो विधेयक ल्याइनु र पारित गरिनुले उक्त भनाईको सत्यता प्रमाणित भएको छ’ गजुरेलले बिहिबार जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ ।
संसदको विद्यमान् अंकगणित अनुसार संसदबाट यो विधेयक पारित भएका अन्य राजनीतिक दलहरु प्रतिवन्धित हुनपुगेको गजुरेलले बिज्ञप्तिमा उल्लेख गरेका छन् । ‘देश “लोकतान्त्रिक गणतन्त्र”को नाममा दुई वा तीन दलीय निरंकुशतातिर गएको छ’ गजुरेलले भनेका छन् ‘राष्ट्रिय स्वाधिनताको रक्षा र निरंकुशताको अन्त्यका निमित्त संघर्षमा उत्रनका लागि तयार रहन हामी सम्पूर्ण देशभक्त तथा सच्चा गणतन्त्रवादी शक्ति र जनसमुदायसँग हार्दिक आह्वान गर्दछौं ।’