बाढी प्रभावित विद्यार्थीलाई झोला र पोशाक
चितवन: साउनको अन्तिम साता आएको बाढीले प्रभावित बनेका विद्यार्थीलाई सुन्धारा होटल व्यवसायी संघ काठमाडौँले पुस्तक बोक्ने झोला र विद्यालय पोशाक सिलाउने कपडा वितरण गरेको छ। संघका पदाधिकारीले चितवनको माडी नगरपालिका वडा नम्बर नौस्थित श्री आधारभुत विद्यालय बाँदरझुलामा अध्ययनरत ९१ जना विद्यार्थीलाई बुधबार विद्यालयमै पुगेर झोला र पोशाक वितरण गरेका हुन्।
संघका पदाधिकारीले चितवनको माडी नगरपालिका वडा नम्बर नौस्थित श्री आधारभुत विद्यालय बाँदरझुलामा अध्ययनरत ९१ जना विद्यार्थीलाई बुधबार विद्यालयमै पुगेर झोला र पोशाक वितरण गरेका हुन्।
संघका अध्यक्ष बुद्धि बस्नेतले सामाजिक उत्तरदायित्व वहन गर्दै आफूहरुले विकट बस्तीका विद्यार्थीलाई राहत वितरण गरेको जानकारी दिए। विद्यालयका प्रधानाध्यापक एजी परियारले कक्षा एकदेखि आठसम्म अध्ययनरत तीन सय दस जना विद्यार्थीमध्ये बाढीबाट बढी प्रभावित परिवारका ९१ जना विद्यार्थीले झोला र पोशाक कपडा प्राप्त गरेको बताए।
माडी नगरपालिका वडा नम्बर नौबाट नगर परिषद सदस्य बनेका जयराम प्रजा प्रमुख अतिथि रहेको कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार सूर्यप्रकाश कँडेल रहेका थिए।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बाँदरझुला सुकुम्बासी बस्ती हो।
पाँच सय ५० घरधुरी सुकुम्बासी रहेको बाँदरझुला चितवनको सबैभन्दा विकट ठाउँ मानिन्छ। सदरमुकाम भरतपुरबाट ६८ किलोमिटर दक्षिणपूर्वमा रहेको बाँदरझुला बस्ती पुग्न निकुञ्जको बाटो भएर जानुपर्छ।