सुरक्षित र सहज अपार्टमेन्ट बसाइ
काठमाडौं : ज्ञानेश्वरको घर भाडामा दिएर पूर्वमुख्यसचिव विमल कोइराला अपार्टमेन्टमा बस्न थालेका छन् । १३ महिना भयो, उनी विशालनगरको सेन्ट्रल पार्क अपार्टमेन्टमा बस्न थालेको । ‘वातावरण शान्त छ, बसाइ सजिलो छ', कोइराला भन्छन्, ‘समग्रमा अपार्टमेन्टको बसाइ आनन्दको छ ।' दुई सदस्यीय कोइराला परिवार घरको सरसफाइदेखि एक्लोपन पनि महसुस हुन थालेपछि अपार्टमेन्टमा बसाइ सरेको हो ।
‘घरभन्दा अपार्टमेन्ट बसाइ केही मँहगो छ', उनको अनुभव छ, ‘तर सेवा/ सुविधा र सहजतालाई हेर्दा बसाइ गुणस्तरीय छ ।' कतिपय अपार्टमेन्ट नै खरिद गरी बसेका छन्, कतिपय भाडामा । भाडामा बसेका कोइरालाले भाडाबाहेक सेवासुविधाका लागि प्रतिवर्गमिटर महिनाको तीन रुपैयाँ ५० पैसा तिर्छन् । गुणस्तरीय सेवासुविधाका कारण तिरेको मूल्यमा कोइराला सन्तुष्ट छन् ।
अपार्टमेन्टमा बस्दाको सबैभन्दा फाइदा सुरक्षा हो । दिनदहाडै घरमा चोरी हुन्छ, यदाकदा लुटपाट पनि । अपार्टमेन्टमा बस्दा चोरी तथा लुटपाट होला भनेर शंका गर्नैपर्दैन । चौबीसै घन्टा सेक्युरिटी गार्ड तैनाथ हुन्छन्, सीसी क्यामेराको निगरानी हुन्छ । अत्यावश्यक सामान खरिद गर्न अपार्टमेन्टभित्रै पसल छन् । मर्निङ वाक गर्ने सुविधाभित्रै हुन्छ । अपार्टमेन्टको गुणस्तर हेरी स्विमिङ पुल, जिम आदिको सुविधा छ । ‘छोराछोरी बिदेसिएपछि श्रीमान् श्रीमती मात्र छन् भने त सर्वोत्तम विकल्प अपार्टमेन्ट हो', उनी भन्छन् । बुढ्यौली लागेकाका लागि भर्याङ तलमाथि गरिरहन पर्दैन ।
त्रिविका सहप्राध्यापक तथा संगीतकार संगीता राना प्रधान १२ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएकी छन् । २०७२ सालको भूकम्प जाँदा पनि प्रधान अपार्टमेन्टमै थिइन् । त्यसपछि भने उनी एक सातासम्म बाहिर बसिन् । अपार्टमेन्टमा फर्किएको केही दिनमै फेरि दोस्रो ठूलो कम्पन आयो, एक साताका लागि उपत्यकाबाहिर गइन् । भूकम्पले कुनै पनि अपार्टमेन्टमा पूर्ण क्षति पुर्याएन । केही मात्रामा असर गरेको थियो । लामो समयदेखि अपार्टमेन्टमा बस्दै आएकामा पनि त्रास सिर्जना गरेको थियो ।
सेवासुविधामा कुनै पनि कमी हुन्न, सुरक्षाको अवस्था मजबुत छ । असुरक्षित भएको अनुभव गर्नुपरेको छैन । शान्त वातारवरणमा पारिवारिक बसाइका साथै अध्ययन गर्न अपार्टमेन्टको बसाइ सबैभन्दा उचित हुने उनी बताउँछिन् । उपत्यकामा एक समय १८ घन्टा लोडसेडिङ हुन्थ्यो, अत्यावश्यक काम गर्न पनि लाइन कुरेर बस्नुपथ्र्यो । तर, अपार्टमेन्टमा बस्दा चौबीसै घन्टा बत्ती हुन्थ्यो । पानीको कुनै समस्या छैन । इन्टरनेटदेखि आवश्यक सबै सेवासुविधा अपार्टमेन्टभित्रेको सोसाइटीले व्यवस्थापन गर्ने गरेको उनी बताउँछिन् । घर वा भाडामा बस्दाको भन्दा केही महँगो छ । ‘तर, सेवासुविधाका कारण तिरेको मूल्य मँहगो लाग्दैन', उनी भन्छिन् ।
पछिल्लो समय ठूलाठूला अपार्टमेन्ट बनिरहेका छन् । आफू बस्ने अपार्टमेन्टको विषयमा विस्तृत अध्ययन गरेर मात्र तिनमा बस्ने÷नबस्ने निर्णय गर्नुपर्ने सहप्रध्यापक प्रधानको सुझाव छ । भूकम्पपछि अपार्टमेन्ट बस्नेमा थप त्रास थियो । विभिन्न सञ्चारमाध्यममा सबै अपार्टमेन्ट क्षतिग्रस्त भएका समाचार आइरहेका थिए । ‘हाइराइज बिल्डिङ' काठमाडौंका लागि उपयुक्त छैनन् भन्ने बहस पनि सुरु भएको थियो । तर, सबैजसो अपार्टमेन्टमा क्षति पुगेका थिए, स्ट्रक्चरमा दुरुस्त थिए । पार्क होराइजनको स्ट्रक्चरमा आंशिक क्षति पुगेको थियो ।
बालकुमारीको सनराइज होम्समा चार वर्षदेखि बसिरहेका काभ्रेका शंकर रायमाझीको अनुभव पनि कोइराला र प्रधानकै जस्तो छ । अपार्टमेन्टको बसाइ अन्यत्रको तुलनामा निकै गुणस्तरीय छ । काठमाडौंमा अन्यत्र भाडामा बस्दा जति पैसा तिरे पनि घरधनीको कचकच नसुनी हुन्न । भाडा लिएपछि अस्थायी रूपमा यो सम्पत्ति भाडावालाको हो भन्ने चेतना राजधानीवासी घरधनीमध्ये कमैमा छ । घरधनीले केही भन्छन् कि भन्ने त्रासमा बस्नुपर्छ । तर अपार्टमेन्टमा कसैको तनाव सहनुपर्दैन ।
भूकम्पपछि केही सुस्ताए पनि अपार्टमेन्टको व्यवसाय पछिल्लो समय आफ्नै लयमा फर्किएको छ । मानिस पनि सबै दृष्टिले अपार्टमेन्टलाई सुरक्षित महसुस गर्न थालेका छन् ।
राजधानीमा अपार्टमेन्टमा बस्नेको परिवारको संख्या हजारमा छ । भूकम्पपछि केही समय अपार्टमेन्टप्रति आकर्षण घटे पनि क्रमशः बढ्न थालेको छ । घरको सट्टा अपार्टमेन्ट वा कोलोनीमा घर किन्ने त छन् नै, भएको घर भाडामा लगाएर अपार्टमेन्टमा बस्ने कोइरालाजस्ता मानिस पनि थुप्रै छन् ।
विश्वमा अपार्टमेन्ट बसाइको संस्कृति सुरु एक शताब्दी नाघिसक्यो । हामीकहाँ भने अपार्टमेन्टको लामो इतिहास छैन । सामूहिक बसोवासको संस्कृति सुरु गराउने श्रेय विनोद चौधरीलाई दिन सकिन्छ । चौधरीले सन् २००० तिर नै एक सय ८० फ्ल्याटको काठमाडौं रेसिडेन्सी अपार्टमेन्ट बनाएका थिए ।
होमल्यान्ड मिडियाले सोही अपार्टमेन्टले सामूहिक बसोवास गराउन सहयोग गरेको भन्दै अवार्ड पनि प्रदान गरेको थियो । सामूहिक आवासको नीति÷कानुनै बनाउन दबाब दिएर अपार्टमेन्ट सुरु गर्ने चौधरी भए पनि उपत्यकामा त्यसको निकै अघि अपार्टमेन्ट निर्माण भएका थिए । बौद्घको तासी-रिजाल अपार्टमेन्ट करिब चार दशकअघि ठडिएको थियो, त्यसपछि भाटभटेनीमा सुरज अपार्टमेन्ट बन्यो ।
माओवादी सशस्त्र द्वन्द्वलगायत कारण उपत्यकामा बसाइँ सराइ तीव्र भएपछि अपार्टमेन्ट उद्योगका रूपमा फस्टाउन थालेको हो । सहरमा पनि सुरक्षा खतरा महसुस गर्नेका लागि अपार्टमेन्ट एकमात्र विकल्पका रूपमा देखियो । सरकारले २०६० सालमा ल्याएको आवास नीतिसँगै २०६१ देखि कानुनी रूपमै धमाधम अपार्टमेन्ट बन्न थाले । सहरी जीवन-संस्कृतिकै रूपमा यो स्थापित हुँदै गयो । २०७२ सालको भूकम्पअघि ७० भन्दा बढी अपार्टमेन्ट बनिसकेका थिए ।