'उपयुक्त समयमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन्छ'
काठमाडौं : चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिहीबार प्रधानमन्त्री ली खछ्याङदेखि स्टेट काउन्सिलर याङ जेइची र विदेशमन्त्री वाङ यीसँग बेइजिङमा भेटवार्ता गरे ।
भेटवार्तामा चिनियाँ पक्षले नेपाल-चीन सम्बन्ध, उच्चस्तरीय भ्रमण आदानप्रदान, बेल्ट एन्ड रोड अवधारणामा नेपालको सहभागितालगायत दर्जन विषयमा धारणा राखेको छ ।
महराले नेपालका प्रमुख दलले चीनसँगको सम्बन्धलाई उच्च महत्व दिएको र चिनियाँ रेल नेपालसम्म विस्तार होस् भन्नेमा सबै दल एकमत रहेको बताए । उनले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएका थिए ।
नेपाली अधिकारीका अनुसार उच्चस्तरीय भेटवार्तामा चिनियाँ पक्षले राष्ट्रपति सी जिनपिङ्को नेपाल भ्रमणका लागि तत्काल उपयुक्त वातावरण नरहेको सन्देश महरालाई दिएको छ । भेटमा परराष्ट्रमन्त्री महराले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको दोहोर्याए । चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले महरालाई नेपालले निरन्तर रूपमा चिनियाँ राष्ट्रपति सीको भ्रमणका लागि अनुरोध गरिरहेको उल्लेख गरे ।
उनले भने, ‘हामीले पनि राष्ट्रपतिको नेपाल भ्रमण हुनुपर्छ भन्नेमा जोड दिइरहेका छौं । उपयुक्त समयमा राष्ट्रपतिको नेपाल भ्रमण हुनेछ । हाम्रो राष्ट्रपतिको भ्रमणमा दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्याउने दीर्घकालीन महत्वका विषय समेटिनुपर्छ । भ्रमण केवल भ्रमणका लागि मात्र सीमित हुनुहुँदैन ।’ उनले भ्रमणको प्रतिफलमा ध्यान दिनुपर्ने बताए । विदेशमन्त्री भइसकेका उनी मन्त्रीभन्दा माथिल्लो तहका अधिकारी हुन् ।
राष्ट्रपतिको भ्रमण केवल भ्रमणका लागि भ्रमणजस्तो मात्र हुनुहुँदन । दीर्घकालीन सोच राखेर भ्रमण हुनुपर्छ, ताकि सम्बन्धले नयाँ उचाइ लिन सकोस् : चीन
चिनियाँ प्रधानमन्त्री ली खछ्याङले राजनीतिक स्थिरताको बाटोमा नेपाल अघि बढेकामा चीन खुसी रहेको बताए । ‘दुई चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएकामा हामी बधाई दिन चाहन्छौं । तेस्रो चरणको चुनावमा सफलताको कामना गर्छौं’, उनले भने । उनले चिनियाँ रेल नेपालसम्म विस्तार भएको हेर्न नेपाली जनता आतुर रहेको जानकारी आफूलाई भएको बताए । ‘नेपालसम्म रेल विस्तारका लागि भौगोलिक जटिलता पनि छन्’, प्रधानमन्त्री लीले भने, ‘जस्तोसुकै चुनौती आए पनि हामी परियोजना अघि बढाउनेछौँ । यसका लागि हाम्रा सम्बन्धित सरकारी निकायलाई आवश्यक अध्ययन गर्न व्यक्तिगत रूपमा मैले निर्देशन दिइसकेको छु ।’
मन्त्री महराले चिनियाँ प्रधानमन्त्रीसँग चिनियाँ रेल नेपालसम्म विस्तार गर्ने विषय बेल्ट एन्ड रोड अवधारणाको मुख्य अंग होस् भन्ने नेपालको चाहना रहेको बताए । चिनियाँ प्रधानमन्त्रीले स्वतन्त्र व्यापार सम्झौताको सम्भाव्यता अध्ययन र सीमापार आर्थिक क्षेत्र निर्माणलाई चाँडै टुंग्याउन आग्रह गरेका थिए ।
चिनियाँ विदेशमन्त्री वाङ यीले बेल्ट एन्ड रोड अवधारणालाई व्यावहारिक कार्यान्वयनमा लैजान दुवै मुलुकले मिलेर काम गर्नुपर्ने बताए । ‘हामी नेपाललाई अटुट सहयोग गर्नेछौं’, उनले भने । परराष्ट्रमन्त्री महराले अरनिको राजमार्गलाई पुनः सञ्चालनमा ल्याउन गरेको आग्रहमा वाङले त्यसप्रति सकारात्मक रहेको बताए ।
नेपाल-चीनबीच भएका पारवहन यातायात सम्झौता र बेल्ट एन्ड रोड अवधारणामा नेपालको सहभागिताबाट सम्बन्ध अघि बढाउन ठूलो सहयोग मिलेको वाङले बताए । ‘हामीले यी सम्झौताको व्यावहारिक कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्छ । हामी पारवहन सम्झौताको प्रोटोकल अध्ययन गरिरहेका छौं’, उनले भने ।
दुई समझदारीपत्रमा हस्ताक्षर
नेपाल-चीनबीच परराष्ट्रमन्त्री महराको भ्रमणमा दुई सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार ऊर्जा क्षेत्रमा सहकार्य गर्न चीनको राष्ट्रिय ऊर्जा प्रशासन र नेपालको ऊर्जा मन्त्रालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाली दूतावास र बेइजिङस्थित झोङजिनरुन टुरिजम इन्भेस्टमेन्ट कम्पनीबीच पर्यटन प्रवद्र्धनका लागि विविध कार्यक्रम गर्न अर्को समझदारीपत्रमा हस्ताक्षर भएको छ ।