के भन्छन् अपार्टमेन्ट व्यवसायी ?
ग्राहकको रोजाइअनुसार घर तयार पारेका छौँ
शम्भु फुँयाल, महाप्रबन्धक सीई कन्स्ट्रक्सन
भूकम्पपछि सामूहिक आवासको आवश्यकता महसुस बढेकाले हाउजिङको महत्व अझै बढेको हो । हामीले हाउजिङ निर्माणको कामलाई निरन्तरता दिइरहेका छौँ । भूकम्पपछि पनि हाम्रो हाउजिङ निर्माण चलिरहेको छ । हामीले हाल निर्माण गरिरहेका प्रोजेक्टको संख्या १८ वटा छ भने कुल प्रोजेक्ट ३० वटा पुगिसकेको छ । भूकम्पपछि निर्माण भएको हात्तीवन हाउजिङमा ७१ वटा युनिट छन् । यसमध्ये ५५ वटा घर निर्माण सकिएका छन् । बाँकी निर्माणकै क्रममा छन् ।
भक्तपुरको सल्लाघारी हाउजिङमा हामीले एक सयभन्दा बढी युनिट निर्माण गरिरहेका छैाँ । हालसम्म यसमा ६० वटा सम्पन्न भइसकेका छन् । सीतापाइलाको इलाइट कोलोनी पनि हाम्रो पछिल्लो चलिरहेको योजना हो । यो प्रोजेक्ट भर्खर सुरुआतको चरणमा छ । हात्तीवनमा रहेको पवित्र आवासमा पनि ३० वटा घर निर्माणकै चरणमा छन् । धोबीघाटको सेनन कोलोनीमा १२ वटा युनिट छ । यो पनि सकिने चरणमा छ । सानेपा हाइटमा रहेको नौवटा युनिटको हाउजिङ पनि निर्माणाधीन योजना हो ।
हामीले ग्राहकको रोजाइ र चाहनाअनुसारका हाउजिङ तयार पारेका छौं । सडक बत्ती र सुरक्षाबाहेक हाउजिङमा बस्नेले अतिरिक्त शुल्क तिर्नु पनि पर्दैन । बत्ती, पानी, सरसफाइसहितका विषयमा भने जो जहाँ बसे पनि तिर्नुपर्ने अनिवार्य शुल्क हो । पछिल्लो समय घर किन्न महँगो भएको कारण नै महँगी बढ्दै जानु हो । जग्गाको भाउ बढेका कारण रिङरोडनजिक डेढदुई करोड रुपैयाँ घरका निम्ति खर्चनु सामान्य लागत भइसकेको छ । हामीले भने ग्राहकको चाहनाअनुसार घर बनाएकाले ८०÷९० लाख रुपैयाँदेखि चारपाँच करोड रुपैयाँसम्मका घर बेचेरहेका छैाँ । हाउजिङप्रतिको ग्राहकको चाहना बढ्दै जाँदा सोहीअनुसारको संरचना पनि बन्ने गरेको छ ।
हामीले यो क्षेत्रमा गरेको योगदान र यसप्रतिको सकारात्मक प्रयासले नै बर्सेनि दुई÷तीनवटा नयाँनयाँ योजाना अगाडि सार्न सफल भएका छौं । गतवर्ष हामीले गरेको योगदान सफल भएकै कारण यो क्षेत्रमा हाम्रो उपस्थिति निकै राम्रो भएको हो । हाउजिङमा बस्नेको संख्या बिस्तारै बढेको छ । अतिरिक्त सुविधा नलिई सामान्य सुविधामै घर खोज्नेको जमात पनि बढ्दो छ । हामीले अतिरिक्त सुविधा प्रयोग गर्न सक्ने र नसक्ने दुवैका लागि घर तयार गर्न सफल भएका छौं ।
हाउजिङ एउटा समुदाय हो । समुदायभित्र आवश्यक खुला स्थान, खेल्ने स्थान, सडक, सुरक्षालगायत सेवा आश्यक हुन्छन् । ग्राहकले चाहेजस्तै सुविधा दिएर घर दिनु भनेको यो क्षेत्रप्रतिको विश्वसनीयता पनि बढ्दै जानु हो ।
घरघरमा हिलटेक
-कमल जैन, अध्यक्ष, हिलटेक
नेपालीको घरघरमा पानीको कालो ट्यांकी देख्नेबित्तिकै आम नागरिकले यो हिलटेक होला भनेर बुझ्ने गरी ब्रान्ड बनाउन सफल भएको छ हिलटेक प्रालि । विगत २५ वर्षदेखि हिलटेक पानीट्यांकी बनाइरहेको यो कम्पनीले १० वर्षदेखि पाइप पनि बिक्री गर्दै आएको छ । हामीले बनाएका ब्रान्डले नै अहिले बजारमा जति पनि ट्यांकी छन्, ती सबैलाई पछाडि पार्न सफल भएका हौं । हाम्रो बजार हिस्सा अझै पनि ५० प्रतिशत छ । हाम्रो मार्केट पनि निकै राम्रो छ । हामीले बनाउन सकेको ब्रान्डकै कारण अहिले सबै नेपालीले आफ्नो घर तथा कुनै पनि पानीको ट्यांकीका लागि हिलटेक नै रोज्ने गरेका छन् ।
बजारमा सस्तोको नाममा नयाँ कम्पनीको ट्यांकी बिक्री हुने गरे पनि ग्राहकको विश्वास भने हिलटेकमै छ । हामीले २५ वर्षदेखि आधुनिक प्रविधि आत्मसात् गर्दै जाने र ग्राहकको खोजेजस्तै गुणस्तर कायम गर्न सकेकाले पनि हाम्रो ब्रान्डप्रतिको विश्वास बढेको हो । हामी प्रतिस्पर्धात्मक बजारमा हिलटेकलाई खस्किन दिँदैनाँै । हामीले बढी पैसा लिने र कम गुणस्तरको सामान कहिल्यै पनि दिँदैनौँ । प्रविधिलाई आत्मसात् गर्दै जाने हाम्रो विशेषताकै कारण नेपालभर हिटलेक पुगेको छ ।
यसको सेवा ७५ वटै जिल्लामा पुगेको छ । जहाँ बाटोको पहुँच छ, त्यो ठाउँसम्म सहजै पुग्ने नै भयो । बाटो नपुगेका ठाउँमा मान्छेले बोकेर वा हेलिकोप्टरमा राखेर भए पनि हिलटेक पुगेको छ । हिलटेकले सेवाक्षेत्रमा पनि आफ्नो योगदान दिन साँगामा विश्वकै अग्लो महादेवको मूर्ति बनाएको छ । सात वर्षदेखि नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सफल यो स्थानमा आउने सेवाग्राहीको सेवाका निम्ति हिलटेक रिसोर्ट पनि सञ्चालनमा छ ।
९० प्रतिशत घर बेचिसकेका छौँ
-सुमनप्रसाद न्यौपाने, प्रमुख कार्यकारी अधिकृत, ग्रीनहिल सिटी
हामीले हाउजिङका विभिन्न प्रोजेक्ट सञ्चालन गरिरहेका छाँै । ग्रिनहिल सिटीको थानकोटमा रहेको १ सय ४३ युनिटको रोजभिलेज, मूलपानीको आठ सय युनिटको ग्रीनहिल सिटी, इमाडोलको ९७ युनिटको ग्रीनहिल सिटी, धुम्बाराहीको १५ युनिटको ग्रीनहिल सिटी र एक सय युनिटको ग्रीनहिल सिटी दुवाकोटमा छ । हामीले काम सुरु गरेको एक वर्षदेखि डेढ वर्षसम्ममा बनाइसक्ने गरी सबै युनिटको काम गरेका हौँ । मूलपानीको हाउजिङ भने पाँच चरणमा निर्माण भइरहेको छ । यसमा पनि चारवटा चरण सकिइसक्यो, पाँचौँमा काम सुरु हुँदै छ । हामीले हाउजिङसँगैै झापाको गौरीगन्ज, गौरादह क्षेत्रमा एक सय बिहागामा वृक्षरोपण पनि गरिरहेका छौं । हामीले हरियाली पनि जोगाउँदै जानुपर्छ भनेर यो अभियान सुरु गरेका हैाँ ।
ग्रीनहिल सुरु भएको १० वर्षमा ग्राहकको रुचि र यसप्रतिको आकर्षण पनि निकै राम्रो देखिएको छ । हामीले बनाएका घरमध्ये करिब ९० प्रतिशत बेचिसकेका छौँ । १० प्रतिशत निर्माणकै चरणमा छन् । निर्माण सुरु भएका तर पूरा नभएका हाउजिङको युनिट मात्रै हामीसँग बाँकी छ । हामीले बनाइरहेको हाउजिङ ग्राहकको क्षमताअनुसारका छन् । हामीले धुम्बाराहीमा भने अन्य हाउजिङको तुलनामा अलि बढी मूल्यसम्म जाने गरी तयार पारेका छौँ । यहाँ दुई करोडदेखि ६ करोड रुपैयाँसम्मका घर छन् ।
बजारको आवश्यकताअनुसार हामीले घर बनाउने काम गरिरहका छौँ । हामीले बनाउन थालेका हाउजिङमध्ये धुम्बाराहीमा पाँच, इमाडोलमा १५, मूलपानीमा ७० वटा मात्रै तयार हुन बाँकी छन् । भूकम्पपछि केही समय हाउजिङप्रतिको आकर्षण कम भएको थियो । यसमा कुनै पनि प्रकारको उल्लेख्य क्षति नभएको हुँदा ग्राहकको आकर्षण भने कम भएको छैन । पछिल्लो समय व्यस्त जिन्दगीसँगै परिवारको संख्या कम हुने र अवकाशपछिको आनन्दपूर्ण जीवनका निम्ति पनि हाउजिङ प्रमुख आकर्षण बनेको छ ।
हाउजिङको भविष्य राम्रो छ
-भीम खरेल प्रवक्ता, सिभिल होम
नेपालमा हाउजिङ व्यवसायको भविष्य एकदम राम्रो छ । हामीले २०५७ सालबाट हाउजिङ व्यवसाय सुरु गरेका हौं । एकल परिवार बढ्दो सहरी जीवनका लागि अपार्टमेन्ट रोजाइमा पर्न थालेसँगै यसको भविष्य पनि देखिन थालेको हो । सुरक्षा, चोरी, डकैतीलगायतका अपराधबाट जोगिन मात्र होइन, व्यक्तिगत जीवनका हर सुरक्षाका निम्ति मानिसले अपार्टमेन्ट नै रोज्छन् । यिनै सुनिश्चितताले मानिसहरू अपार्टमेन्टप्रति आकर्षित भएका हुन् । सानो क्षेत्रमै समुदायको सामीप्य मिल्नु अपार्टमेन्टको अर्को विशेषता हो । अब हाउजिङ जिउने आधार बनेको छ ।
पछिल्लो समय व्यक्तिले बनाएका हाउजिङ बिक्न छाडिसके । व्यवसायीले बनाएका अपाटमेन्ट तथा हाउजिङ नै बढ्दो चापको विकल्प हो । सिभिल होमले हालसम्म विभिन्न नौ स्थानमा हाउजिङ विस्तार गरिसकेको छ । भैंसेपाटीबाट सुरु भएको सिभिल होमको हाउजिङ व्यवसाय आठौं फेजमा सामाखुसीमा हुँदै छ ।
यसमा कुन मोडेलमा जाने भनेर तय पनि हुँदै छ । इन्जिनियरिङ प्वाइन्ट अफ भ्यूबाट वा वैज्ञानिक तरिकाबाट बनाइएका अपार्टमेन्टहरूमा भूकम्पले क्षति पुर्याएको छैन । विश्वबजारमा भएका अभ्यासलाई हेर्दा भने नेपालमा हाउजिङ तथा अपाटमेन्ट व्यवसाय बामे सर्दै गरेको अवस्थामा छ । समग्र क्षेत्रको बुझाइलाई हेर्ने हो भने यो क्षेत्रको भविष्य राम्रो देखिन्छ ।