धर्म परिवर्तनले न्वागी मनाउने चेपाङ घट्दै

धर्म परिवर्तनले न्वागी मनाउने चेपाङ घट्दै

हेटौंडा : चेपाङ समुदायको मुख्य पर्व छोनाम अर्थात् न्वागी मनाउनेको संख्या घट्दै गएको छ । प्रकृतिपूजक चेपाङहरूले क्रिश्चियन धर्म अँगाल्न थालेपछि न्वागी मनाउनेको संख्या घट्दै गएको हो । मकवानपुरसहित देशैभरका चेपाङले बुधबार राति न्वागी पर्व मनाएका हुन् । पाण्डेहरू (पुजारी) ले रातभर एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) प्रकृतिलाई पूजा गरेर छोनाम अर्थात न्वागी पर्व मनाउँछन् ।

तर पछिल्लो समय धर्म परिवर्तनका कारण न्वागी पर्व मनाउनेको संख्या घट्दै गएको हो । बिपन्न चेपाङहरूले धमाधम क्रिश्चियन धर्म अँगाल्न थालेपछि न्वागी मनाउने चेपाङ समुदाय घट्दै गएको चेपाङ पुजारी (पाण्डे) दुर्गाबहादुर चेपाङले बताए । ‘विपन्न चेपाङलाई विभिन्न प्रलोभनमा पार्दै धर्म परिवर्तन गराउने क्रम बढेको छ’, उनले भने, ‘यसले गर्दा हाम्रो परम्परा र संस्कार नै हराउँदै जाने चिन्ता छ ।’

 

चेपाङहरूले घरमा भित्र्याएको नयाँ अन्नबाली न्वागीमा पितृलाई चढाएपछि मात्र खाने परम्परा छ । न्वागीपछि अनिकाल सकिएर सहकाल लागेको चेपाङ समुदायले अनुभूति गर्छन् । न्वागीमा नयाँ उब्जिएको बाली मकै, घैयाँ धान, केरा, पिँडालु, निबुवा प्रकृतिलाई चढाएर वर्षभरि खान पुगोस् भनेर कामना गर्ने परम्परा रहेको नेपाल चेपाङ संघका पूर्वअध्यक्ष तथा पूर्व सभासद् गोविन्द चेपाङले बताए । प्राकृतिक धर्म मान्ने चेपाङ समुदायमा पितृ र प्रकृतिलाई नचढाई नयाँ बाली खाएमा वर्षभरि दुःख पाइने विश्वास रहेको उनको भनाइ छ ।

प्रकृतिपूजक चेपाङहरूको पहिचान जोगाउन सामूहिक रूपमा न्वागी पर्व मनाउने परम्परासमेत थालिएको नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङले बताए । ‘चेपाङ समुदायको परम्परा र संस्कृति संरक्षणको लागि हामी चिन्तित छौं’, उनले भने, ‘तर धर्म परिवर्तनको समस्याले भने परम्परा नमान्नेहरू बढ्न थालेका छन् ।’ नेपाल चेपाङ संघ मकवानपुरका अनुसार मकवानपुरमा बसोबास गर्नेमध्ये करिब ३० प्रतिशत चेपाङले एक दशकयता क्रिश्चियन धर्म अँगालेका छन् ।
२२ नाले वंशावली भएका कारण चेपाङहरूले भदौ २२ गते मुख्य पर्व न्वागी मनाउने चलन रहेको उनले बताए । मकवानपुरसहित चितवन, धादिङ, लमजुङ, तनहुँ र गोरखाका चेपाङ अगुवाले न्वागी मनाउँदै आएका छन् ।

पहाडी भागको जंगलनजिक बस्ने प्रायः चेपाङहरूको आफ्ना बारीमा उब्जाएको अन्नले ६ महिना पनि खान पुग्दैन । २०६८ सालको जनगणनाअनुसार चेपाङ समुदायको जनसंख्या ६७ हजार नौ सय तीन रहेको तथ्याङ्क छ ।

यसैबीच चेपाङ समुदायले अन्य जातजातिको मुख्य पर्वमा जस्तै चेपाङ समुदायको मुख्य पर्व न्वागीमा पनि सार्वजनिक बिदा दिन माग गरेका छन् । संघले पाँच वर्ष अघिदेखि सार्वजनिक बिदा दिन सरकारसँग माग गरे पनि सुनुवाइ नभएको मकवानपुर अध्यक्ष खेमले बताए । ‘अन्य जातिको पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेकाले हामीले पनि पाउनुपर्छ’, उनले भने ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.