करिश्माको पढार्इबारे कलाकारको प्रतिक्रिया
कुनै पनि कुरा सिक्नु भनेको नराम्रो हुँदैन । कसैलाई पढ्न मन लाग्ला त कसैलाई संगीत सिक्न अनि कसैलाई कुनै खेल सिकेर खेलाडी बन्न पनि मन लाग्नसक्छ । त्यसैले करिश्माले पढ्न थालेको सुनेर मलाई खुसी लाग्यो । यसका लागि बधाई तथा शुभकामना ।
शम्भुजित बास्कोटा, संगीतकार
...
यो अत्यन्तै सराहनीय कार्य हो । पढाइ भनेको ज्ञान आर्जन गर्ने काम हो । यसलाई उमेरले रोक्दैन । उहाँले सुरु गर्नुभएको पढाइले उहाँलाई त फाइदा पु¥याउँछ नै, साथै समाजमा सकारात्मक सन्देश फैलाउँछ । मानिसलाई अभिप्रेरित गर्छ ।
रमेश उप्रेती, कलाकार
...
करिश्मालाई यो बेलामा पनि पढ्न मन लाग्नु निकै राम्रो कुरा हो । कोही पनि व्यक्तिलाई पढ्नलाई उसको उमेरले छेक्दैन । करिश्माले अहिले पढ्न थालिन् भन्ने उनको व्यक्तिगत विषय पनि हो । कोही पढ्न चाहन्छ भने त्यसलाई कसैले पनि रोक्न सक्दैन ।
रूपा राना, कलाकार
...
यो समाचार सुनेर मलाई एकदमै खुसी लागेको छ । कुनै काम सुरु गर्दा कहिल्यै ढिलो हुँदैन । उहाँको यो हिम्मत र निर्णयको सबैले प्रशंसा गर्नु पर्छ । यो कार्यले गर्दा उहाँ समाजमा उदाहरणीय बन्नुभएको छ । यो उमेरमा यो गर्ने त्यो नगर्ने भन्ने हुँदैन । अरूलाई हानि नहुने गरी आफ्नो इच्छा पूरा गर्न जहिले पनि पाइन्छ ।
बेनिशा हमाल, कलाकार
...
पढ्ने चाहनाका कारण ८० वर्षका वृद्धवृद्धाले पनि पढ्न थालेको समाचार हामीले पढ्दै आएका छौं । राम्रो कुरा सिक्न उमेरले छेक्दैन । त्यसैले करिश्माले पढ्न थालेको कुरा पनि आफैंमा राम्रो कुरा हो । उहाँलाई शुभकामना ।
शर्मिला मल्ल, कलाकार
...
आफ्नो मेहनतले नेपालको चर्चित कलाकार त बन्नुभयो तर शैक्षिक योग्यता भनेको एउटा हतियार हो भन्ने महसुस उहाँलाई अहिले भयो र पढाइ पुनः सुरु गर्नुभयो । उहाँजस्तै वरिष्ठ नृत्य निर्देशक गोविन्द राई पनि नियमित कक्षामा गएर अहिले ११ सकी १२ कक्षामा पढ्दै हुनुहुन्छ । त्यसैले शिक्षा जीवनको आधारभूत आवश्यकता हो र यो नभए पछाडि धकेलिन्छ भन्ने महसुस गर्दै उहाँहरूले उठाउनुभएको कदम निकै प्रशंसनीय छ ।
सुचित्रा श्रेष्ठ, चलचित्र निर्देशक
...
पढ्न मन लागेको थियो, अब उमेर भयो, पढ्न हुँदैन भनेर बस्नेहरूलाई पनि करिश्मा दिदीको यो कदमले प्रेरणा मिल्नेछ । शिक्षा भनेको सबभन्दा ठूलो मन्त्र हो । यसले समाजदेखि देश चलाउनेसम्मको काम गर्छ । त्यसैले उहाँको यो कदमलाई मेरो पनि शुभकामना छ ।
दीपा श्री निरौला, कलाकार
प्रस्तुति : रामकला खड्का