एकै दिन पाँच फरार पक्राउ
विराटनगर: अदालतले दोषी ठहर गरे पनि फरार रहेका मध्ये पाँच जनालाई प्रहरीले विराटनगरबाट एकै दिन पक्राउ गरेको छ।
अदालतको फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय रानीले शुक्रबार पाँच जनालाई फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाएको छ।
प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार कुटपिट र लुटपाट मुद्धामा जिल्ला अदालत मोरङले गत असार २८ गते एक सय ५० रुपैयाँ जरिवानाको फैसला सुनाएका विराटनगर महानगरपालिका १८ का ६० वर्षीय नारायण यादवलाई पक्राउ गरिएको छ। त्यस्तै दुनियादारी मुद्धामा २०५९ चैत २१ गते दुई सय रुपैयाँ जरिवानाको फैसाल सुनाइएका विराटनगर १८ का ५० वर्षीय तेजनारायण यादव, ४८ वर्षीय दयानन्द यादव र ४५ वर्षीय सुरेश यादवलाई पक्राउ गरिएको निरौलाले बताए।
उनका अनुसार २०६७ फागुन १३ गते चोरी मुद्धामा अदालतले १६ हजार रुपैयाँ जरिवाना तीन दिन कैदको फैसला सुनाए पनि फरार रहेका विराटनगर १८ का ३२ वर्षीय बसन्त महतोलाई गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको छ। पक्राउ परेका सबैलाई प्रहरीले अदालतमा बुझाएको छ। इलाका प्रहरी कार्यालय रानीले ३५ दिनको अवधिमा अदालतले दोषी ठहर गरे पनि फरार रहेका मध्ये २५ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको छ।