प्रहरी हिरासतबाटै अभियुक्त फरार
सिन्धुलीः प्रहरीको लापरवाहीका कारण सिन्धुलीको कमलामाई नगरपालिका-२ भद्रकाली प्रहरी चौकीबाट एक अभियुक्त फरार भएका छन्।
भद्रकालीको खट्टारस्थित मचिनीमायाँ गोलेको सुन तथा नगद चोरी गर्ने सोही ठाउँका राजकुमार मोक्तालाई स्थानीयले पक्राउ गरी बिहीबार भद्रकाली प्रहरी चौकीलाई जिम्मा लगाएको भएपनि अभियुक्त राति नै प्रहरी हिरासतबाट फरार भएको स्थानीयले जनाएका छन्।
अभियुक्तमाथि कारबाहीको माग गर्दै शुक्रबार बिहान प्रहरी कार्यालय पुगेको स्थानीयबासी अभियुक्त मोक्तान राति नै फरार भएको प्रहरीले जानकारी दिएपछि चकित बने।
स्थानीय मचिनीमायाँ गोलेको सुनका गरगहनाका साथै पैसा चोरी गर्दै गर्दा समातेर प्रहरीको जिम्मा लगाएको भएपनि प्रहरीको लापरबाहीका कारण फरार भएको गोलेका छोरा मानबहादुर गोलेल आरोप लगाए।
प्रहरीले अभियुक्त फरार भएको घटनाको अनुसन्धान सुरु गरेको सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए।