ठगी गर्ने व्यवसायीलाई कानूनअनुसार कारबाही गरिने
काठमाडौँ: आपूर्तिमन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानूनअनुसार कारबाही हुने बताएका छन्।
सिलबन्दी गरिएका पसल खुलाउन माग गरी आफूलाई शुक्रबार भेट गर्न आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग मन्त्री मण्डलले सो विषय कानूनीरुपमा हल हुने बताउँदै भने “ विद्यमान कानूनले जे दिएको छ त्यसैअनुसार हुन्छ, गलत गरेको छ भने दण्डित हुन्छ, हैन भने केही हुन्न।”
उनले पहुँच छ भन्दैमा जे गरे पनि हुन्छ भन्ने प्रवृत्ति अन्त्य गर्न व्यवसायीलाई आग्रह गर्दै उपभोक्तालाई सहज र सुलभ तरिकाले वस्तु उपलब्ध गराउनुपर्नेमा अनुगमनमा जाँदा व्यापारीले गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति व्यवहार गर्ने गरेकाले कारबाहीको भागीदार हुनुपर्ने बताए।
महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा आएको टोलीले अनुगमनबाट व्यापारीको छवि नै बिग्रेकाले सिलबन्दी गरेका पसल खोलिदिन अनुरोध गरेको थियो ।
त्यसको जवाफमा मन्त्री मण्डलले कारबाही गर्दा छविमा धक्का पर्ने भए व्यापारीलाई ठगी नगर्ने गरी सचेत हुन आग्रह गर्नुभयो । मन्त्री मण्डलले भन्नुभयो “मर्का परेको विषयमा छलफल गर्नुस् तर व्यक्तिले राज्य ठग्नु ठीक भएन ।” रासस