ल्होत्सेमा नयाँ कीर्तिमान प्रयास
काठमाडौं : दक्षिण कोरिया र स्पेनका आरोही प्राविधिक जटिलताले अप्ठ्यारो मानिने ल्होत्से हिमाल (८,५१६) को आरोहणमा कीर्तिमान राख्न जुटेका छन् ।
दक्षिण कोरियाका आरोही साङ तेयक होङ र स्पेनका चर्चित आरोही इगोचेएगा जोर्गेले ल्होत्सेको दक्षिणी रुटबाट आरोहणमा नयाँ कीर्तिमान राख्ने प्रयास गरेका हुन् । यसअघि चार पटकसम्म प्रयास गरे पनि दक्षिणी रुटबाट कोरियाली आरोही होङ सफल हुन सकेका छैनन्।
सगरमाथा (८,८४८) र सिसापाङ (८,०४६) हिमालको सफल आरोहण गरिसकेका उनले कुनै पर्वतारोहीले आरोहण गर्न नसकेकाले आफूले प्रयास जारी राखेको बताए । उनलाई साथ दिन यस वर्ष आठ हजार मिटरमाथिका १४ वटा हिमाल आरोहण गरिसकेका दक्ष स्पेनी अरोही इगोचेएगा सँगै जाने भएका हुन् । ट्रेकिङ क्याम्प नेपालले आरोहण दललाई व्यवस्थापन गरेको छ । नयाँ कीर्तिमान भएकाले एजेन्सीले दक्ष गाइड, सरदार र सहयोगी खटाएको प्रमुख वाङ्चु शेर्पाले बताए ।
दक्षिण कोरिया र स्पेनका आरोहीले ल्होत्सेको दक्षिणी रुटबाट आरोहणमा नयाँ कीर्तिमान राख्ने प्रयास गरेका हुन् ।
यसअघि सगरमाथा जाने तीन क्याम्पबाट बाटो अलग्गिएर साधारण रुटबाट ल्होत्से हिमालको आरोहण गरिँदै आएको थियो । आठ हजार मिटरमाथिका १६ वटा हिमाल आरोहण गरी कीर्तिमान कायम गरेका कोरियाली आरोही ओम ओङग्याललाई सम्मान गर्न पनि ल्होत्सेको दक्षिणी रुटबाट आरोहण प्रयास जारी राखेको होङले बताए । होङको आरोहणमा नेसनल जोग्राफी र जिसेभन कम्पनीले सहयोग गरेका छन् । टोलीलाई सफलताको शुभकामनासहित नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले बिदाइ गरे ।
कोरियाका १३ र स्पेनका एक गरी १४ सदस्यीय आरोहणदल शनिबार बेसक्याम्पतर्फ प्रस्थान गर्ने एजेन्सी प्रमुख शेर्पाले बताए । आरोहण दललाई गाइड फुर्वा ओङग्याल र मिङ्मा दोर्ची शेर्पाले नेतृत्व गर्नेछन् । टोलीले कात्तिक २५ गते सफल आरोहण गर्ने लक्ष्य राखेको छ । आरोहणका लागि शरद ऋतुमा कम अभ्यास हुने गरे पनि यो टोलीले पर्वतीय क्षमता प्रदर्शन गर्न आरोहण सुरु गरेको बताइएको छ ।