फोहोरले राजधानी दुर्गन्धित

फोहोरले राजधानी दुर्गन्धित

काठमाडौं : नुवाकोटस्थित ओखरपौवाका बासिन्दाले अवरोध पुर्‍याएपछि राजधानी काठमाडौं महानगरभित्र जताततै फोहोर थुप्रिन थालेको छ । करिब एक महिना अवरोध भएको काठमाडौंको फोहोर उठ्न थालेको साता नबित्दै पुनः अवरोध सुरु भएको हो । चार दिनदेखि फोहोर नउठेर महानगर दुर्गन्धित छ । दुर्गन्धमा हावा मिसिँदा नागरिकले लिने श्वासप्रश्वासका कारण सरुवा रोग लाग्ने, पानीमा मिसिँदा झाडापखाला लाग्ने र फुडपोइजन हुनेजस्ता समस्याको खतरा देखिएको छ।

सिसडोल ल्यान्डफिल साइट रहेको ककनी गाउँपालिका वडा नम्बर २ निवासी लवकुमार घिमिरेले ओखरपौवावासीका माग पूरा हुने बलियो आधार नभएसम्म फोहोर फाल्न नदिने स्थानीय बासिन्दाको निर्णय भएको जानकारी दिए । साइट प्रभावित उनले शुक्रबार अन्नपूर्णसँग भने, ‘स्वास्थ्य, विकास, शिक्षाजस्ता क्षेत्रमा हामीले राखेको माग पूरा नभएसम्म काठमाडौंबाट आउने फोहोर यहाँ फाल्न दिँदैनौं ।'

 

फोहोरका ट्रिपरले सडकमा बनेका खाल्डाखुल्डीले कोही बिरामी परे ट्याक्सी गुडाउने अवस्था नभएको, बिरामी हुँदा स्वास्थ्यचौकीमा सिटामोलसम्म नभएको, प्रभावित गाउँका बालबालिकालाई अध्ययनका लागि विगतमा गरिएका सम्झौता कार्यान्वयन नभएकोजस्ता कारण देखाउँदै ओखरपौवावासीले काठमाडौंबाट लगिने फोहोरलाई सिसडोल ल्यान्डफिल साइटमा फाल्न नदिएका हुन् ।

स्थानीय बलराम क्षत्रीले महानगरपालिकाले १८ महिनाका लागि भनेर सिसडोलमा २०६२ सालदेखि फोहोर फाल्न थालिए पनि आज १२ वर्ष पुग्दा पनि अन्यत्र कतै फोहोरमैला व्यवस्थापन गर्ने काम नभएको गुनासो गरे । उनले भने, ‘साइटमा फालिएको फोहोर सगरमाथाजस्तै चुलिएको छ । साइटमा र सडकमा लिचेड (फोहोरबाट बग्ने दुर्गन्धित पानी) ले प्रदूषित बनाएको छ तर सहमतिअनुसार न सडकमा औषधि छिट्ने काम भएको छ न साइटमा औषधि र माटोलाई फोहोरको मात्रा हेरी पुर्ने काम भएको छ ।'

पटक-पटक सम्झौता गरेर आश्वासन दिने काम मात्र भएको तर काम नभएको उनको भनाइ छ । उनका अनुसार साइटबाट काग र कुकुरले पनि घरघरसम्म मासुका चोक्टा र हड्डी लगेर थप दुर्गन्धित गर्ने गरेको छ । पछिल्ला दिनमा काठमाडौं महानगरपालिकाले ललितपुर महानगरपालिका, भक्तपुर समेतका नगरपालिकाबाट गरी ८ सय मेट्रिक टन सिसडोल लैजाँदै गरेको छ । दैनिक निजी तर्फबाट ८० र महानगरपालिकाको तर्फबाट १५ टिपरले ल्यान्डफिल साइट लगिरहेको छ, बढीमा एक सय २० टिपरसम्म फोहोर लैजाने काम भइरहेको छ ।

चारदिनदेखि फोहोर नउठ्दा महानगर दुर्गन्धित बनेको छ । 

विभागका प्रमुख रविनमान श्रेष्ठले स्थानीयका माग महानगरपालिकाले गर्न सक्नेजति गरेको तर सबै माग आफ्नो सीमाभित्र नपरेको बताए । उनले भने, ‘स्थानीय बासिन्दा विगतका सम्झौता कार्यान्वयन गर भनेर पटक-पटक भनिरहेका छन्, जुन कुरा बारम्बार आउँछ ।' यसअघि तीनपिप्लेका बासिन्दाले बाटो निर्माण गर्नुपर्ने भन्दै अवरोध पुर्‍याएपछि कार्यक्षेत्र बाहिर गएर १० लाख खर्चिएर काठमाडौं महानगरपालिकाले बाटो बनाएको तर स्थानीयको थप मागले ६० लाखसम्म खर्च गर्नुपर्ने अवस्था आएको जुन महानगरपालिकाको क्षमता बाहिरको भएको उनको भनाइ छ ।

तीन वर्षका लागि भनेर सिसडोलमा फोहोर फाल्न थाले पनि १२ वर्षसम्म अर्को विकल्प खोज्न नसक्नु महानगरपालिकाको कमजोरी भएको स्विकार्दै उनले भने, ‘कार्यदल अहिले फिल्डमै जान लागेको छ ।'फोहोरमैला व्यवस्थापनमा ठूलै चुनौती देखिएपछि काठमाडौं महानगरपालिकाले उपमेयरको संयोजकत्वमा फोहोरमैला व्यवस्थापन विभागका प्रमुख, वडा नम्बर १२, १५, १६ र ३२ का वडाध्यक्ष, डीएसपी, ललितपुर महानगरपालिकाको उपमेयरलगायतको कार्यदल बनाएको छ।

कार्यदल शुक्रबार साँझ ल्यान्डफिलसाइट पुगी सो क्षेत्रको अवलोकन गरेको छ । कार्यदलले स्थानीय बासिन्दासँग उनीहरूको मागबारे छलफल गरेको छ । सरकारको तर्फबाट कार्यदलले सिसडोल ल्यान्डफिल साइटभन्दा केही पर रहेको बन्चरेडाँडा ल्यान्डफिल साइटलाई चाँडो तयार पारी फोहोर फ्याँक्नका लागि प्रक्रिया अघि बढाउने आश्वासन दिएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइट बनाउन सरकारले दशकअघि देखि नै प्रक्रिया अघि बढाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.