शिक्षालयका छाडा भित्ता
'राधाको ...मा कोठी छ !'चर्चित हिन्दी सिने-मेकर दादा कोड्केले प्रयोग गरेको हिन्दी शब्दावली 'अन्धेरी रातमे दिया तेरे हातमे', लाई बिर्साउने खालको यो दुई-अर्थी वाक्यांश, झापाको एक सामुदायिक कलेजको भित्तामा लेखिएको छ । अभिधा अर्थमा सकारात्मक भएर सोच्दा-पढ्दा लेख्नेले 'राधाको गालामा कोठी छ' भनेको होला भनेर बुझ्दा भयो । तर, व्यञ्जना अर्थमा यो लेख्नेको मनशाय त्यस्तो देखिन्न । यो वाक्यांश जसले लेखेको भए पनि उसले अमुक छात्राको भित्री अंगतर्फ संकेत गर्दै, उनलाई सार्वजनिक रूपमा अपमानित बनाएर आफू आनन्दित हुन चाहेको यौन मनोविकृत भावना लुकेको छ ।
कलेजको भित्तामा लेखिएको 'राधा' नाम वास्तविक हो वा काल्पनिक, भन्न गाह्रो छ । तर, कोही वास्तविक छात्राको नाम 'राधा' थियो भने पनि एक वर्षअघि नै लेखेकोजस्तो देखिने त्यो वाक्यांशका कारण साथीभाइले जिस्क्याउँदा-जिस्क्याउँदा हैरान भएर वा नजिस्क्याए पनि स्वयं लज्जित भएर ती छात्राले सम्भवतः त्यो कलेज छोडिसकिन् होला । यो सूचना सार्वजनिक भएपछि त्यो वाक्यांश मेटिन पनि सक्छ । तर, यसले पारेको दुष्प्रभाव कहिले मेटिएला ?
शिक्षालय भनेको शिक्षा आर्जन गर्नेमात्र नभएर सामाजिक व्यवहार सिक्ने सम्मानित थलो पनि हो । घरपरिवारका सदस्य, छिमेकीसँगै समाजका कतिपय अगुवा मानिसबाट सिक्न नसकिएको संस्कार र ज्ञान शिक्षालयबाट सिक्ने हो । त्यसैले शिक्षालयलाई व्यक्तिले आर्जन गरेको ज्ञान र सीपलाई औपचारिकता दिने आदर्श संस्था मानिन्छ । तर, विडम्बना ! हाम्रा शिक्षालयको वातावरण कस्तो छ ? यहाँ कस्तो ज्ञान सिक्दै छन् युवा विद्यार्थी ? के सिकाउँदै छन् गुरुहरू ? कस्तो प्रकारको संस्कृति औपचारिक भइरहेको छ यहाँ ? शिक्षार्थीहरूको व्यवहारमा के प्रतिविम्बित भइरहेको छ ?
हाम्रा कतिपय सामुदायिक तथा सरकारी कलेजहरूका पर्खाल, कक्षाकोठा र शौचालयमा लेखिएका अश्लील शब्द र छाडा सिन्के चित्रले देख्नेका मनमा अनेक जिज्ञासा उत्पन्न गराउँछन् । भनिन्छ, फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज हुन्छ । हाम्रा शिक्षालयका भित्ताहरूमा भएका छाडा शब्द तथा सिन्के चित्रहरूले पनि त्यो लेख्ने-बनाउनेलाई भन्दा देख्नेलाई लाजमर्दो बनाइरहेका छन् । अझ लामो समयसम्म त्यही वातावरणमा बस्नुपर्ने हाम्रा चेलीहरूको के अवस्था होला ? उनीहरू त्यस्तो लाजमर्दो वातावरणमा कसरी एडजस्ट, घुलमिल भइरहेका छन् ?
अश्लील शब्द र चित्रको दुष्प्रभाव लाजको घेराभित्र मात्र सीमित हुन्न । यसले हाम्रो युवापुस्तामा हुर्किरहेको विकृत यौन मनोविज्ञान प्रतिविम्बित भइरहेको छ । किशोर-किशोरीलाई समयमा सही तरिकाले यौनशिक्षा दिन नजान्नुको प्रतिफल यस्ता शब्द चित्रहरू लेखिने-कोरिने गरेको देखिन्छ । विशेषगरी सामुदायिक कलेजहरूका डेस्क-बेन्च, भित्ता, कक्षाकोठा र शौचालयलाई छात्र-छात्रा दुवैले मनको कुण्ठा अभिव्यक्त गर्ने साधनका रूपमा दुरुपयोग गरेको पाइन्छ । यसरी स्कुल-कलेजका भित्ता, कक्षाकोठा र सार्वजनिक शौचालयमा लाजमर्दो हुने गरी अश्लील शब्द लेखिएको भेटिनु चिन्ताको विषय हो ।
शिक्षालयमा देखिने यस्तो 'फोहोरी वातावरण'ले यौन दुराचार, यौनहिंसा, धरेलु हिंसा, चेलीबेटी बेचबिखनलगायत अपराधलाई प्रोत्साहन गर्दै लैजाने डर बढाएको छ । युवाहरूले कुण्ठित यौन-भावना स्कुल-कलेजका भित्ताहरूमा छताछुल्ल हुनुले एउटा गम्भीर शैक्षिक-सामाजिक समस्या सामान्यीकरण हुँदै गएको देखिन्छ । जब हाम्रो शिक्षालयको वातावरण नै स्वस्थ छैन भने यस्तो अस्वस्थ वातावरणमा कसरी स्वस्थ विचार उत्पन्न हुनसक्छ ?
हाम्रा सामुदायिक भित्ताहरूले 'बोलिरहेका' यौन विकृतिका अनेक किस्सा छन् । तर, विशेषगरी अमुक छात्रले आफूले 'मन पराएकी' छात्रालाई लक्षित गरेर जथाभावी अश्लील शब्द-चित्र लेख्ने गरेको पाइन्छ । केहीले रमाइलोका लागि यस्ता शब्द-चित्र कोर्ने गर्छन् । कतिपय कलेजमा लेखिएका शब्द-चित्र त सार्वजनिक रूपमा 'भन्न नहुने' र 'सुन्नै नसकिने' खालका हुन्छन् । केही नगन्यबाहेक अधिकतर सामुदायिक तथा सरकारी कलेजमा अति नै छाडा र अनैतिक शब्दहरू लेखिएको पाइन्छ । यसरी छाडा शब्द लेख्ने अनि त्यस्तो लेखेको देखे पनि नदेखेझैं गर्ने दुवै खालका प्रवृत्ति एक-समान छन् समाजमा । तर, दुवै प्रवृत्ति हाम्रो सामाजिक जीवनका लागि अत्यन्त घातक सन्दर्भ हुन् । यस्तै प्रवृत्तिले हाम्रो दैनिक जीवन र युवापुस्तामा छाडा तथा उत्ताउलोपनको मात्रा बढेको हो ।
'मान्छे बन्न सिकौं ।'
धरानको महेन्द्ररत्न क्याम्पस परिसरमा दक्षिणपूर्वस्थित एउटा पुरुष शौचालयमा सुरुमा कसैले यस्तै लेखेको थियो । तर, यो सचेतना सन्देश त्यही रूपमा धेरै दिनसम्म रहिरहन पाएन । कसैले सिकौं शब्दको 'स' अक्षर काटेर लाजमर्दो हुनेगरी अर्कै अक्षर लेखिदिएको छ । जुन आज पनि त्यस्तै छ । सोही भित्तामा सुरुमा 'सभ्य बनी सभ्यताको परिचय दिऔं' लेखिएको थियो । तर, यसमा पनि कसैले दुईवटै 'स'का अगाडि 'अ' थपेर विकृत पारिदिएको छ ।
हाम्रा शिक्षालयका भित्ताहरूमा भएका छाडा शब्द तथा सिन्के चित्रहरूले पनि त्यो लेख्ने-बनाउनेलाई भन्दा देख्नेलाई लाजमर्दो बनाइरहेका छन् । अझ लामो समयसम्म त्यही वातावरणमा बस्नुपर्ने हाम्रा चेलीहरूको के अवस्था होला ? उनीहरू त्यस्तो लाजमर्दो वातावरणमा कसरी एडजस्ट, घुलमिल भइरहेका छन् ?
अचम्म लाग्छ, यसरी सार्वजनिक ठाउँमा घिनलाग्दो हुने गरी अश्लील र छाडा शब्द-चित्र लेखिँदा-देखिँदा पनि हाम्रा सरोकारवाला शिक्षक-विद्यार्थीलाई भने 'हाइसन्चो' छ । त्यो शौचालय प्रयोग गर्ने वा त्यस्ता भित्ताहरूतिर हेर्ने जोकोही तैं चुप मैं चुप भएर बसेका छन् । अन्यथा त्यो शौचालयको भित्तामा देखिएको विकृत भित्तेलखन, देखा परेको केही समयमै मेटिइसक्नुपर्ने हो । यो विकृतिप्रति हाम्रा गुरु, विद्यार्थी प्रतिनिधि, सफाइ कर्मचारी आदि संवेदित हुन्थे भने फोहोरी शब्द तथा चित्रहरू लामो समयसम्म त्यो ठाउँमा रहिरहन पाउने थिएनन् । अनि 'जथाभावी फोहोर नगरौं', 'यहाँ फोहोर नफाल्नुहोला' पदावली लेखिएका भित्तामा 'न' अक्षर काटिदिने, केरिदिने लाल-बुझक्कडहरूको मनोबल पनि बढ्ने थिएन ।
सामुदायिक स्कुल-कलेजका भित्ताहरूमा देखिने विकृतिको सिलसिला बढ्दो छ । शौचालयको भित्तामा मार्कर पेन, इँटा, चक वा कोइलाले आफूलाई मन परेकी (वा, बदनाम गर्न चाहेकी) केटीको नाम लेखेर सार्वजनिक रूपमा प्रयोग गर्नै नमिल्ने छाडा शब्द 'प्लस गरेको' पाइन्छ ।
छात्रा शौचालयमा पनि अनेक थरी 'छाडा' शब्द लेखिएका हुन्छन् । कतिपय छात्रा शौचालयमा मोबाइल नम्बर, ईमेल आईडीसहित यौन-प्रस्ताव लेखेको पनि भेटिन्छ । फोन नम्बरसमेत लेखेर अमुक छात्रालाई लजको कोठामा भेट्न आउने 'निम्तो' दिने गरेको पाइन्छ । त्यसैले छात्रा तथा महिलाहरू सकेसम्म सार्वजनिक शौचालय प्रयोग गर्न चाहँदैनन् । तर, आपत् परेपछि यस्ता प्रस्ताव तथा फोहोर देखे पनि नदेखेझैं गरी शौचालय जानैपर्छ । 'फोहोरी' शौचालय प्रयोग गर्नु छात्रा तथा महिलाहरूको बाध्यता र नियति बनेको छ ।
यसबाहेक अधिकांश कक्षाकोठाका डेक्सहरूमा पेनले नानाथरी छाडा शब्द लेखेको पाइन्छ । यसमा यो ठाउँ, ऊ ठाउँ भन्नुभन्दा पनि मुलुकको राजधानीदेखि गाउँ तहसम्मका शिक्षालयका भित्ता र शौचालयको अवस्था हेर्दा थाहा हुन्छ— सबै उही ड्याङका मूला हुन् ।
स्कुल-कलेजका शौचालय तथा भित्तामात्र होइन, प्रायः सार्वजनिक शौचालय, मठमन्दिर, चौतारो, पाटी, सिनेमा हल, सार्वजनिक सवारीका सिट, रूख, बाँस आदिमा विकृत यौनभावका कुराहरू लेखिएको पाइन्छ । तर, यसरी जथाभावी जस्तोसुकै ठाउँमा छाडा शब्द लेख्न, बोल्न र यौनभाव प्रकट गर्न पाइँदैन । यो सामाजिक र कानुनी दुवै दृष्टिमा अपराध हो । तथापि प्रायः एक व्यक्तिले एकान्त पारेर यो दुष्कर्म गर्ने हुनाले यस्ता खराब मनोवृत्ति भएका व्यक्तिको पहिचान र कारबाही गर्नु गाह्रो हुनु यो विकृतिसँग जोडिएको अर्को पाटो छ ।
वस्तुतः यो समस्या निराकरणका लागि पहिले त्यो समस्याबारे भुइँ तहदेखि विश्लेषण र सार्वजनिक बहस हुनु जरुरी छ । स्कुल-कलेजका भित्ता, कक्षाकोठा र शौचालयमा छाडा शब्द-चित्र लेख्ने कार्यलाई बेलैमा नियन्त्रण नगर्ने हो भने यो विकृतिले झन् बढावा पाउने निश्चित छ । किनकि त्यस्तो विकृत लेखाइसँग विशेषगरी सम्बन्धित छात्रा तथा महिलामा डिप्रेसनको अवस्था देखा पर्ने जनस्वास्थ्यसम्बन्धी विकराल समस्याको साइनो जोडिएको हुन्छ ।
छात्रा शौचालयमा अनेक थरी 'छाडा' शब्द लेखिएका हुन्छन् । कतिपय छात्रा शौचालयमा मोबाइल नम्बर, ईमेल आईडीसहित यौन-प्रस्ताव लेखेको पनि भेटिन्छ । फोन नम्बरसमेत लेखेर अमुक छात्रालाई लजको कोठामा भेट्न आउने 'निम्तो' दिने गरेको पाइन्छ ।
विशेषगरी किशोर तथा युवा विद्यार्थीले जानीजानी यस्ता अश्लील शब्द लेख्ने गरेकाले शिक्षालयका भित्ता, कक्षाकोठा, शौचालय तथा सार्वजनिक स्थलमा लेखिएका अश्लील शब्द-चित्र मेटाउनु र फेरि नलेखिने वातावरण सिर्जना गर्नु विद्यार्थी संघ-संगठनको दायित्व हो । उनीहरूले सचेतनामूलक अभियान सञ्चालन गर्नु यो समस्या निरुपणको सबैभन्दा प्रभावकारी उपाय हो । यसमा सबै सरोकारवालाहरूको साथ मिसिनु अपेक्षित छ । आधुनिक, आदर्श समाज र नयाँ नेपालको संवाहक विद्यार्थी स्वयंले हाम्रा भित्ताहरूबाट फोहोरी र छाडा शब्द मेटाउने अभियानको नेतृत्व लिनुपर्छ । यो हाम्रो सार्वजनिक जीवनमा विद्यमान निकै गम्भीर प्रकृतिको समस्या भएकाले छाडा शब्द-चित्र तत्काल मेट्नुपर्छ । र, फेरि लेख्न नदिन सरोकारवालाहरूले निरन्तर निगरानी तथा खबरदारी गर्नुपर्छ ।
छाडापनविरुद्ध कानुन
सरकारी तथा सामुदायिक कलेजमा छाडा र अश्लील शब्द-चित्र लेख्नेको पहिचान भएमा सार्वजनिक अपराध ऐन र गाली बेइज्जती ऐन आकर्षित हुने गर्छ । तर, कानुन व्यवसायीहरूका अनुसार व्यक्तिको पहिचान भएन भने उजुरी पनि लाग्दैन, कतै सुनुवाइ पनि हुँदैन । व्यक्ति पहिचान भई उजुरी परेको खण्डमा कारबाही हुन्छ । कसैलाई इंगित गरेमा गोली-बेइज्जतीमा मुद्दा चल्छ ।
कानुनअनुसार यस्तो अभियोग प्रमाणित भएमा सार्वजनिक अपराध ऐनअन्तर्गत न्यूनतम पाँच सयदेखि २८ हजार रुपैयाँसम्म जरिवाना हुन्छ । कसैलाई इंगित गरी गाली-बेइज्जती वा सार्वजनिक रूपमा अपमानित गरेमा मुद्दाको संवेदनशीलता हेरेर कैद सजायसम्म हुनसक्छ । तर, गाली-बेइज्जती ऐनअन्तर्गत हुने कारबाहीको व्यवस्था भने फितलो छ ।
केही प्रतिनिधि प्रतिक्रिया
शौचालयमा सर्वाधिक स्वतन्त्रता हुन्छ । अन्यत्र लेख्यो भने सीसी क्यामेराको निगरानीमा परिन्छ तर शौचालयमा त्यो डर हुँदैन । त्यसैले शौचालयहरू किशोर-किशोरी तथा युवाको कुण्ठा पोख्ने साधन भइरहेको छ । उनीहरूलाई शौचालयमा लेख्न रोक्यो भने बाटोछेउको हात्तीबारका पातहरूमा भए पनि लेख्छन् । तर, यसो भन्दैमा शौचालय वा अन्यत्र छाडा कुराहरू लेख्दै हिँड्ने प्रवृत्तिलाई प्रोत्साहन गर्नुहुन्न । यो एउटा मनोरोग हो । यसले छात्रा तथा महिलाको व्यक्तिगत, शैक्षिक, पारिवारिक एवं सामाजिक जीवनमा गम्भीर नकारात्मक असर पारिरहेको हुन्छ । यसका हानिहरूबारे सरोकारवालाहरूसँग नियमित अन्तरक्रिया गरेर यो समस्या न्यूनीकरण गर्न सकिन्छ ।
- शिक्षाविद् विद्यानाथ कोइराला
मान्छेको मनोविज्ञान बन्ने आधार सामाजिक व्यवहारमा निहित हुन्छ । विकृत यौन मनोविज्ञान पनि सामाजिक विकृतिकै उपज हो । विद्यार्थीलाई सिर्जनामा, सपनामा, काममा केन्द्रित गर्न सके यसको उपचार अन्यत्र खोज्नु पर्दैन ।
- लेखक केशव दाहाल
जथाभावी लेखिएका शब्दले विद्यार्थीलाई गलत प्रवृत्तितिर उक्साइरहेको छ । आधारभूत तहदेखि नै किशोर-किशोरीलाई जीवनोपयोगी सीप र यौन शिक्षाका सकारात्मक-नकारात्मक पक्षका बारेमा सचेत गराउन सकिए क्रमशः यस्तो विकृति समाजबाट आफैं कम हुन्छ ।
- सहजकर्ता सुबोध घिमिरे
यौन मनोविकृतिसँग जोडिएको यस प्रकृतिको अपराधमा कानुनभन्दा पनि समाजको सरोकार बढी हुनुपर्छ । छाडा र अश्लील शब्द लेख्नेलाई निशाना गरेर बस्नुभन्दा स्कुल-कलेज प्रशासनले त्यस्तो कार्य गर्नमा प्रतिबन्ध लगाउनु ठीक हुन्छ ।
- अधिवक्ता कृष्ण दाहाल
उच्च शिक्षामा विशिष्टता प्राप्त गर्न अनुसन्धानमुखी कार्यमा विश्वविद्यालयले जोड दिँदै आएको अवस्थामा अश्लील शब्द-चित्र लेखनलाई निरन्तर निरुत्साहन गर्नुपर्छ । कलेज प्रशासनले पहिले सार्वजनिक सूचना गरी त्यस्तो कार्य नगर्न सचेत गराउनुपर्छ । अटेर गर्नेलाई कारबाही गर्ने हिम्मत पनि जुटाउनुपर्छ । अन्यथा, यो विकृति बढ्नुमा उनीहरूकै मुख्य दोष मानिनेछ ।
- पत्रकार मिलन बुढाथोकी
खराब मनोवृत्ति भएका व्यक्तिहरूले शौचालय तथा सार्वजनिक भित्ताहरूमा मनोमानी लेख्नाले नयाँ-पुस्तामा नकारात्मक सन्देश जाने गरेको छ । प्रायः एकान्त स्थानमा लुकीछिपी फोहोर शब्द-चित्र लेखिने हुनाले त्यस्तो गलत काम गर्नेलाई निगरानी र कारबाही गर्न समस्या परेको छ ।
- प्राध्यापक विजयप्रसाद मिश्र