गौरी लंकेश हत्याकाण्ड : भारतमा लोकतन्त्र जीवित छ?
लंकेश हत्याको सही जवाफ एउटै हुन सक्छ- आतंक फैलाउने र सबै विरोधी मतलाई मौन गराउन खोज्नेहरूको विरोधमा निरन्तर उभिनु ।(भारतको कर्नाटक राज्यकी लोकप्रिय पत्रकार एवं सम्पादक गौरी लंकेशको मंगलबार राति गोली हानी हत्या गरियो । भारतमा मौलाइरहेको हिन्दुत्ववादी साम्प्रदायिक राजनीतिको कट्टर विरोधी लंकेश कर्नाटकबाट निस्कने साप्ताहिक पत्रिका 'गौरी लंकेश पत्रिका'की सम्पादक थिइन् । हिन्दु अतिवादीहरूले नै उनको हत्या गरिएको अनुमान छ ।
पछिल्लो समय, भारतमा संस्थापन पक्षको आडमा हिन्दुत्ववाद मौलाइरहेको छ । आर्थिक वृद्धिदरको सपना देखाएर पृष्ठभागमा मौलाइरहेको यो अतिवाद भारतीय जनताको निम्तिमात्र नभई सिंगो मानवताकै लागि खतरा बनिरहेको छ । एकातर्फ आर्थिक वृद्धिद्धरको निम्ति भन्दै बहुराष्ट्रिय कम्पनीको पक्षमा नीतिहरू बनाइनु र अर्कोतर्फ त्यसले सिर्जना गरेका समस्यामाथि 'राष्ट्रवाद'को लेबल लगाएर मौनता खडा गर्न खोज्नु कल्याणकारी लोकतन्त्र हुन सक्दैन । बढ्दो हिन्दु अतिवाद हत्याहरूको शृंखलासम्म पुगेपछि प्रश्न उठेको छ- संसारकै ठूलो भनिएको भारतीय लोकतन्त्रमा के साँच्चै लोकतन्त्र जीवित छ ?
संसारभर लंकेश हत्याको विरोधमा र स्वतन्त्र पत्रकारिताको पक्षमा पत्रकार एवं लेखकहरूले विरोध जनाएका छन् । यस घटनाको विरोधमा विभिन्न लेख र सम्पादकीय प्रकाशित भएका छन् । गौरी लंकेशप्रति श्रद्धासुमन व्यक्त गर्दै यहाँ प्रस्तुत छ भारतीय अंग्रेजी अनलाइन 'द वायर'मा प्रकाशित सम्पादकीयको भावानुवाद ।)
अप्ठ्यारा प्रश्न गर्नु, संस्थापनलाई निगरानीमा राख्नु र आवाजविहीन तथा बेदखल गरिएकाको पक्षमा उभिनु पत्रकारको धर्म हो । गौरी लंकेश यो धर्मप्रति पूर्ण सचेत थिइन् । आफ्नो पत्रकारिता करिअर अवधिभर उनी पत्रकारिताको मूल्य-मान्यताको पक्षमा उभिइन् । केवल भ्रष्टाचारविरुद्ध उभिइनन्, बरु साम्प्रदायिक घृणा फैलाउने हठधर्मिताको विरुद्ध पनि उभिइन् । उनलाई पटकपटक धम्की दिइयो, मुद्दा चलाइयो । त्यति गर्दा पनि मौन बस्न नमानेपछि गोली हानी हत्या गरियो ।
हत्याराको पहिचान अझै भइसकेको छैन । तर, उनकै घर अगाडि गोली प्रहार गर्ने त्यो क्रूर हत्यारालाई पछिल्लोपटक उदाइरहेको हिंसाको कोणबाट हेरिनुपर्छ । पछिल्लो समय भारतमा संस्थापन पक्षको विरोध गर्ने, तर्कशील एवं सम्प्रदायवादविरोधी र घृणाविरोधीमाथि हिंसा बढ्दै गएको छ । एक किसिमको असहष्णिुताको वातावरण बनाइएको छ जसलाई धर्मको नाममा खोलिएको अतिवादी संस्थाहरू र त्यसकै आधारमा राजनीति गर्ने नेताहरूले तेल खन्याइरहेका छन् । विडम्बना ठूला मिडियाको एउटा भागले समेत यस्तो वातावरण बढाउन खतरनाक भूमिका निभाइरहेको छ ।
पछिल्ला चार वर्षमा नरेन्द्र दभोेल्कर, गोविन्द पन्सारे र डा. एमएम कुलबर्गीलाई साम्प्रदायिकता र अन्धविश्वासको विरोध गरिएकैले गोली हानियो । हिन्दुत्ववादी संस्थाका लडाकु संगठनहरूको भूमिका सधैंभरि शंकास्पद देखिएको छ तर महाराष्ट्र र कर्णाटकको प्रहरीले यी घटनामा संवेदनशीलता देखाएको महसुस हुँदैन । लंकेशको हत्याराको शैली अघिल्ला हत्याहरूसँग मिल्दाजुल्दा छन् । उनलाई कसले हत्या गर्यो र कसले गर्न लगायो भन्ने अनुसन्धान तत्काल गर्न आवश्यक छ । सँगै यस हत्या पछाडिको सन्दर्भलाई बेवास्ता गर्न पनि मिल्दैन ।
गत वर्षमात्रै लंकेशलाई भारतीय जनता पार्टी (बीजेपी) को दुई नेताहरूको आलोचना गरेकै कारण ६ महिना कारावास सजाय सुनाइएको थियो । उनी धरौटीमा रिहा भए पनि सजाय भने टाउकोमाथि झुन्डिएकै थियो । उनलाई लगाइएको आरोप वास्तवमा सबै पत्रकारलाई धम्की थियो ।
पछिल्लोपटक भारतमा स्वतन्त्र पत्रकारिताको दायरा साँघुरिँदै गइरहेको छ । सन् २०१६ मा मात्रै पाँच पत्रकार को हत्या भएको तथ्यबाटै निर्भीक र स्वतन्त्र पत्रकारिता कति खतरामा छ भन्ने अनुमान गर्न सकिन्छ । सोही वर्ष विश्वभरमै स्वतन्त्र प्रेस सूचकांकबाट भारत तीन अंकले झरेर १३६औं स्थानमा परेको छ ।
यस्तो हाकाहाकी हत्याले पत्रकारलाई मात्र होइन सबै स्वतन्त्र चिन्तक र फरक मत राख्नेरुलाई 'तिमीहरूको नियति पनि यस्तै हुन सक्छ' भन्ने सन्देश दिन खोजेको देखिन्छ । यसको सही जवाफ एउटै हुन सक्छ- आतंक फैलाउने र सबै विरोधी मतलाई मौन गराउन खोज्नेहरूको विरोधमा निरन्तर उभिनु । गौरी लंकेशले त्यही गरिन् र हामीले त्यही मार्ग पछ्याउनेछौं ।