इतिहास लेखन बरालिएको छ

इतिहास लेखन बरालिएको छ

नेपाल प्रज्ञा प्रतिष्ठानका कविता विभाग प्रमुख डा. अमर गिरीसँग लक्ष्मण श्रेष्ठले गरेको कुराकानी-

कवि र समालोचक दुवै रूपमा तपाईं लामो समयदेखि सक्रिय हुनुहुन्छ । पछिल्लो समय नेपाली समाजमा भइरहेको डिस्कोर्सलाई कसरी हेर्नुहुन्छ ? कस्तो छ नेपाली डिस्कोर्सको स्वरूप र चरित्र ?
-पछिल्लो समय नेपाली समाजमा विविध विषयमा बहस चलेका छन् । यस बहसभित्र अर्थ, राजनीति, इतिहास, संस्कृति, साहित्य, समाजलगायत विविध विषयहरू पर्छन् । नेपाली समाज संक्रमणमा छ । यस्तो समाजले बढी बहसको माग गर्छ । विमर्शका विभिन्न वैचारिक आधार र परिप्रेक्ष्यहरू रहेका छन् । माक्र्सवादी, उदारवादी, पहिचानपरक आदि विभिन्न दृष्टिकोणका आधारमा विमर्श चलेका छन् । यस्ता विमर्शका सबल-दुर्बल दुवै पक्ष छन् । विमर्शहरू अझै पनि प्राज्ञिक गहिराइ, इमानदारिता, तथ्यपरकता, तार्किकता आदिका दृष्टिले त्यति बलियो हुन सकेको लाग्दैन ।

 पछिल्लो समय, खासगरी दोस्रो जनआन्दोलनपछि राजनीति र साहित्य दुवैको मूलधारको रूपमा देखापरेको 'पहिचान'को विरोधी जस्तो देखिनुहुन्छ । के तपाईंलाई पहिचानविरोधी चिन्तकको रूपमा गणना गर्न सकिन्छ ?

सामान्य रूपमा म पहिचान विरोधी होइन । वर्गभित्र जातीय वा लैंगिक विभेदको अर्थलाई माक्र्सवादीहरूले कहिले अस्वीकार गरेका छैनन् भन्ने जेम्स पेट्रासको भनाइसँग म सहमत छु । समाजको आधारभूत संरचना बाहिर रहेर जातीय एवं लैंगिक विभेद र उत्पीडनको अन्त गर्न सकिन्न र पहिचानको कुरा पनि निरर्थक हुन्छ भन्ने मेरो दृष्टिकोण हो ।

समाजको आधारभूत संरचना भन्नाले मूलतः वर्गीय संरचना भन्ने बुझिन्छ । भाषिक, सांस्कृतिक, जातीय, लैंगिक उत्पीडन समाजको आधारभूत संरचनासँग जोडिएको छ । पहिचानको विचारधाराले यसलाई केन्द्रीय महत्व दिएको म पाउँदिन । माक्र्सवादीहरू सम्पूर्ण उत्पीडितहरूको मुक्तिलाई महत्व दिन्छन् । पहिचानको विचारधारा आ-आफ्ना श्रेणीहरू आधारित हुन्छ र यो मूलतः पहिचानमा केन्द्र्रित हुन्छ । पहिचानको विचारधारासँग उत्पीडनबाट मुक्ति र पहिचानको संरक्षणको कुनै उपयुक्त वैचारिक आधार पनि छैन । समाजशास्त्री अविजित पाठकका शब्दमा पहिचानको राजनीतिले अन्य अस्मिताको उपेक्षामात्र गर्दैन, न्यायपूर्ण संघर्षका निम्ति सामूहिक रूपमा संघर्ष गर्ने भावनालाई पनि खण्डित गर्छ । यस सन्दर्भमा अस्मिताको राजनीतिले संघर्षका वास्तविक मुद्दाहरूबाट ध्यानलाई विकेन्द्रित गर्छ भन्ने भारतीय चिन्तक आनन्द तेलतुम्बडेको भनाइ मलाई धेरै उपयुक्त लाग्छ ।

एक मनुष्यका रूपमा म सबै प्रकारका विभेदहरूभन्दा पर जान चाहन्छु । पहिचानले मलाई विभेदभन्दा पर जानबाट रोक्छ र विभाजित गर्छ । पहिचान सार्वभौम र पूर्ण मनुष्य निर्माणको विपक्षमा छ । जहाँसम्म मूलधारको प्रश्न छ, नेपाली राजनीति र साहित्य दुवैमा पहिचान मूलधार पनि होइन । तर पनि म पहिचानको राजनीतिका कतिपय मुद्दाहरूप्रति सकारात्मक रहँदै आएको छु र विभेद एवं उत्पीडनका विरुद्ध उभिएको छु ।

 

नेपाली राजनीतिमा माक्र्सवादीहरूले नै पहिचानको विचार घुसाएको पाइन्छ । तपाईं आफूलाई माक्र्सवादीको रूपमा पनि उभ्याउनुहुन्छ । यो अलि दोहोरोपन भएन ?

नेपालमा जातीय एवं लंैगिक उत्पीडनको विरोध धेरै पहिलेदेखि हुँदै आएको छ । यसमा माक्र्सवादीहरू सबैभन्दा अगाडि छन् । उदारवादमा विश्वास गर्नेहरूले पनि यसको विरोध गरेका छन् । उत्पीडित जातीय समुदायले पनि यसका विरुद्ध संघर्ष गर्दै आएका छन् । पहिचानको दृष्टिकोण नयाँ हो । यो पश्चिममा १९८० को दशकतिर विकसित भएको हो । यसका आफ्ना वैचारिक आधारहरू छन् । नेपालको कम्युनिस्ट आन्दोलनको एउटा हिस्साले जातीय उत्पीडनबाट मुक्तिको विषयलाई जसरी अगाडि सार्‍यो, त्यसले पहिचानको राजनीतिलाई प्र श्रय दियो । माक्र्सवादले कुरा गर्ने जातीय एवं लंैगिक उत्पीडनको अन्त्य र पहिचानको राजनीतिले उठाउने विषयहरूको वैचारिक आधार एउटै होइन । त्यसैले ममा कुनै दोहोरोपन छैन । माक्र्सवाद र पहिचानको राजनीतिका बीचमा मौलिक अन्तर छ ।

केही बुद्धिजीवीहरूले माक्र्सवादले आर्थिक विषयलाई मात्र ध्यान दिँदा नेपाली समाजका अन्य अन्तरविरोधहरू जातीय, क्षत्रीय, लैंगिक आदिलाई सम्बोधन गर्न नसकेको आरोप लगाउँछन् । के माक्र्सवादभित्र पहिचान पर्दैन ?

जातीय लैगिक समस्यालाई हेर्ने विषयमा नेपालको कम्युनिस्ट आन्दोलनमा पनि कमजोरी छन् । वर्गीय समस्या समाधान हुँदैमा पहिचानका समस्याहरू समाधान हुन्नन् । यसका निम्ति उत्पीडनका समस्त रूपहरूको अन्त्य आवश्यक छ । उत्पीडनका समस्त रूपहरू विरुद्धको संघर्ष विभिन्न स्तरमा चलाइनुपर्छ र आर्थिक, राजनीतिक समानताका साथसाथै सामाजिक न्याय एवं संस्कृतिक रूपान्तरणका दिशातर्फ अघि बढ्नुपर्छ ।


तपाईंले आफ्ना रचनाहरूमा वर्गलाई बढी जोड दिएको पाइन्छ । नेपाली समाजभित्र वर्ग र वर्ण अन्तरघुलित छ र अन्योन्या िश्रत छ भन्ने विश्लेषण पनि उत्तिकै प्रभावकारी रूपमा अगाडि आइरहेको छ । फेरि दलित जातिसँग जमिन वा अरू उत्पादनका साधन नहुनु वा कम हुनुले पनि यो विचार बनाउन मद्दत गरेको देखिन्छ । के नेपाली समाजमा वर्गीय आन्दोलन वर्णको आन्दोलनबिना अगाडि बढ्न सक्छ ?

 निःसन्देह आफ्ना रचनामा मैले वर्गलाई महत्व दिएको छु तर अन्य श्रेणीहरूलाई उपेक्षा गरेको छैन । वर्ग केन्द्रीय श्रेणी हो भन्ने मेरो धारणा हो । पहिचान पक्षधर पहिचानलाई केन्द्रमा ल्याउँछन् र वर्गलाई परिधिमा धकेल्छन् । नेपालीमा वर्ग र वर्ण अन्तरघुलित छन् मात्र भनिँदै छैन, वर्ण नै वर्ग हो पनि भनिँदैछ । यसको आशय वर्गभन्दा जातीय श्रेणीलाई महत्व प्रदान गर्नु रहेको देखिन्छ । वर्ग र वर्ण जोडिएका छन् । तर, यी भिन्न पनि छन् । यस्तो व्याख्याले वर्ग संघर्षलाई कमजोर बनाउँछ र संघर्षको केन्द्र पहिचान बन्न जान्छ । दलितहरूको मुक्तिको प्रश्न वर्गीय मुक्तिको प्रश्न पनि हो तर यो नितान्त वर्गीय मुक्तिको प्रश्न मात्र होइन, सांस्कृतिक मुक्तिको प्रश्न पनि हो । गरिब त अरू पनि छन् । दलित हुनुका कारण दलितहरू अन्यबाट छुटिन्छन्, गरिब हुनुका कारण होइन । आर्थिक श्रेणी र सांस्कृतिक श्रेणीहरू आपसमा जोडिए पनि ती भिन्न पनि छन् । वर्ग मूलत ः आर्थिक श्रेणी हो । दलित मूलतः सांस्कृतिक श्रेणी हो । नेपालको वर्गीय आन्दोलनलाई अघि बढाउन उत्पीडित जातीय समुदायको सहयोग बिना सम्भव छैन तर यस सन्दर्भमा 'वर्ण आन्दोलन' पदावलीको प्रयोग उपयुक्त हुँदैन ।


पछिल्लो समय तपाईंको 'भूमण्डलीकरण र साहित्य' पुस्तक बजारमा आएको छ । सिंगो किताबमा तपाईं भूमण्डलीकरणको विरोधमा उभिनुभएको छ । नेपालमा भूमण्डलीकरणको विरोध किन आवश्यक देख्नुभयो ?

 भूमण्डलीकरणलाई आलोचनात्मक दृष्टिले हेर्नुपर्छ । प्रविधिको उच्च विकासका कारण साँघुरिएको विश्व र मनुष्य समुदायको विश्वव्यापी प्रवाह, परस्पर सम्बन्धको विकास, नयाँ परिदृश्यको निर्माण आदि मात्र भूमण्डलीकरण होइन । भूमण्डलीकरण मूलतः आर्थिक एवं सांस्कृतिक वर्चस्वका रूपमा रहेको छ । भूमण्डलीकरण आजको पुँजीवादको अर्काे रूप हो । भूमण्डलीकरणको प्रक्रियामा प्रमुख पुँजीवादी राष्ट्र र तिनका आर्थिक, सांस्कृतिक एवं राजनीतिक हितहरू केन्द्रमा छन् । आजको भूमण्डलीकरणलाई अमेरिकी साम्राज्यका रूपमा अथ्र्याउने चिन्तकहरू पनि छन् । भूमण्डलीकरण असमान, अन्यायपूर्ण र विभेदकारी छ यसैकारण समीर अमिनजस्ता चिन्तकहरू वैकल्पिक भूमण्डलीकरणको प्रस्ताव गर्छन् । भूमण्डलीकरणको वर्चस्वपरक चरित्रका कारण संसारभरि यसको विरोध भएको छ । साना र कमजोर राष्ट्रहरू यसबाट बढी प्रभावित छन् । उनीहरूको मौलिक स्वमाथि मात्र प्रहार भएको छैन, उनीहरूको अर्थतन्त्र र राजनीति पनि नियन्त्रित र निर्देशित छ । यो तस्बिरलाई तपाईं नेपालमा पनि नियाल्न सक्नुहुन्छ । अर्थ, राजनीति, संस्कृति सबै क्षेत्रमा हामीले भूमण्डलीकरणका दुष्प्रभाव र परिणामलाई व्यहोर्नु परेको छ । मैले मात्र होइन, भूमण्डलीकरणको नकारात्मक पक्षको आलोचना सबैले गर्नुपर्छ तर हामी कहाँ भूमण्डलीकरणको आलोचनात्मक पाठ निकै कम पाइन्छ । मलाई यो दृश्य उदेकलाग्दो मात्र होइन, डरलाग्दो पनि लाग्छ ।


 भूमण्डलीकरणले नेपाली बौद्धिक क्षेत्रमा के-कस्तो प्रभाव पारेको छ ?

नेपालको बौद्धिक क्षेत्रमा भूमण्डलीकरणको प्रभाव पर्याप्त परेको छ । यो सबैभन्दा बढी आलोचनात्मक चेतनाको ह्रास र भूमण्डलीकरणको यशोगानमा प्रतिबिम्बित हुन्छ । माक्र्सवादी, गैरमाक्र्सवादी दुवैका हकमा यो सत्य हो । ग्राम्सीको भाषामा हामीकहाँ 'आर्गानिक' बौद्धिकहरूको कमी छ । थोरै बौद्धिकहरू मात्र यसप्रति गम्भीर र आलोचनात्मक छन् । भूमण्डलीकरणको आलोचना आजको नवउदारवादको आलोचना हो । पश्चिम खासगरी अमेरिकाको आलोचना हो । नेपालको प्राज्ञिक जगत्को ठूलो हिस्सा यसो गर्न चाहन्न । यसो गर्नु जोखिम मोल्नु हो ।


 एकातिर भूमण्डलीकरणको विरोध गर्नुहुन्छ । अर्कोतिर मौलिक पहिचानप्रति पनि खासै रुचि देखाउनुहुन्न । खासमा तपाईं केको पक्षधर हो ?

मैले आफ्नो मौलिक पहिचानलाई महत्व दिएको छु । तर, म आफ्नो मौलिकताको रक्षाका नाममा देखिने अतीतमुखी र यथास्थितिवादी दृष्टिकोणको आलोचक पनि छु । मौलिकताको रक्षा अतीतमुखी र यथास्थितिवादी भएर गर्न सकिन्न । आफ्नो इतिहास, सभ्यता र संस्कृतिका उज्याला पक्षहरूमा टेक्दै हामीले आफ्नो पुनर्संरचना गर्नुपर्छ । हामीलाई यसैले बचाउनेछ । भूमण्डलीकरणको प्रतिवाद पहिचान, सांस्कृतिक एवं धार्मिक राष्ट्रवाद होइन ।


 पछिल्लो समय नेपाली बौद्धिक जगत्मा 'मौलिक इतिहास' लेखनबारे अलि बढी नै बहस भएको पाइन्छ । यसमा दुई धार देखिन्छन् । एउटा धार, जनपक्षधर इतिहास भनेर लेखिरहेको छ, जसले आजसम्म स्थापित मान्यतामाथि अलि चर्को ढंगले नै प्रश्न गर्छ । त्यस्तै अर्को पक्षधर 'नेपालीपन' भनिरहेछ जसले मूलतः पश्चिमाहरूले लेखेको नेपाली इतिहास खोटो छ भन्ने दाबी गर्छ । यो बहसलाई तपाईं कसरी हेरिरहनुभएको छ ?

 नेपालको इतिहासका विषयमा विदेशीहरूले पनि लेखेका छन् । विदेशीले लेखेका सबै कुरा भ्रामक र गलत छैनन् । गलत कुराको खण्डन गर्दै सही कुरालाई ग्रहण गर्नुपर्छ । कतिपय विदेशी लेखकका निहित स्वार्थ पनि होलान् त्यसको तथ्यपूर्ण आलोचना हुनुपर्छ । इतिहास लेखनमा 'तथाकथित' नेपालीपन'को म कुनै अर्थ देख्तिनँ । 'नेपालीपन'का नाममा अन्धराष्ट्रवादको खेती हुँदै छ । 'जनपक्षधर' इतिहास लेखनका नाममा इतिहासकै निषेध र अपव्याख्या गर्ने काम पनि भइरहेछ । पहिचान आधारित इतिहास लेखनलाई कतिपयले जनपक्षधर इतिहास लेखन भनेको पाइन्छ । यो इतिहास लेखनको उत्तर अवधारणाहरूसँग सम्बन्धित छ । इतिहास लेखनका विभिन्न सिद्धान्त र पद्धतिहरू छन् । इतिहास लेखनका सन्दर्भमा तपाईं कुन स्कुलसँग सम्बन्धित हुनुहुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । इतिहास तलबाट लेखिनुपर्छ भन्ने सवाल्टर्न स्कुलका इतिहासकारका पनि आफ्ना मान्यताहरू छन्, जो अन्ततः उत्तरअवधारणाहरूसँग जोडिन्छन् । मेरा निम्ति जनपक्षधर इतिहास लेखन भनेको माक्र्सवादी इतिहास सिद्धान्तका आधारमा लेखिने इतिहास हो । इतिहास लेखनको अहिलेको विमर्श बरालिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.