ढोरमा फुलेका फूलहरू(फोटो फिचर)
देशको एकमात्र वैधानिक सिकार आरक्ष हो, ढोरपाटन । यहाँका घना जंगल र लेकाली खर्कहरू सिकार खेल्नका लागि प्रख्यात छन् । समथर घाँसे मैदान, दुर्लभ वनस्पति र फूलको अध्ययन-अवलोकनका लागि ढोरपाटन महत्ववपूर्ण मानिन्छ । प्रकृतिको काखमा निश्वास लिन चाहने र मनोरम दृश्यावलोकन गर्न मन पराउने पर्यटकका लागि पनि ढोरपाटन एक सुरम्य गन्तव्य हो ।
विसं २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष जैविक विविधताका दृष्टिले विश्वमै महत्ववपूर्ण मानिन्छ । यो आरक्ष प्राकृतिक भूसम्पदा तथा महत्ववपूर्ण दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि चर्चित छ । लेकाली एवं उच्च हिमाली हावापानीका कारण पनि ढोरपाटन पर्यटकको रोजाइमा पर्छ । तीन हजारदेखि पाँच हजार मिटरसम्मको उचाइभित्र अवस्थित ढोरपाटनले बागलुङ, म्याग्दी र रुकुम जिल्लाका गरी एक सय २५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
भुइँफूलका प्रजातिले ढोरपाटनको खुला उपत्यका ढकमक्क देखिन्छ । उपत्यका वरपर डुल्दा ढकमक्क फुलेका थरीथरी फूलको सुगन्ध र महकले मन त्यसै लट्ठिन्छ । कुनै कुशल मालीले हुर्काएको सुन्दर फूलबारीभन्दा कम देखिँदैन यहाँको सौन्दर्य । यहाँ प्रायः हिमाली हावापानीमा हुर्किने प्रजातिका फूल पाइन्छन् । तर, यिनीहरूको नाम, रङ, जात र आकारका सम्बन्धमा भने अहिलेसम्म कुनै वैज्ञानिक खोजीनीति र चर्चा भएको देखिँदैन ।
बेलैमा समुचित संरक्षण र व्यवस्थापन हुन सके सिकार आरक्षले दिलाएको ख्यातिसँगै ढोरपाटन दुर्लभ वनस्पति र फूल-वृक्षको वैज्ञानिक अध्ययन-थलोका रूपमा पनि प्रख्यात बन्नसक्छ ।
आरक्षित क्षेत्र भए पनि ढोरपाटन संकटमा पर्दै गएको छ । खुला चरिचरन, काठदाउराको जथाभावी प्रयोगका कारण यहाँको वनजंगल विनाशको सँघारतिर लम्किँदै गएको छ । सँगै यहाँको जैविक प्रजातीय विविधतामा पनि ह्रास आउन थालेको छ । र, भुइँफूलहरूको पहिचान र अस्तित्व पनि संकटमा छ । बेलैमा समुचित संरक्षण र व्यवस्थापन हुन सके सिकार आरक्षले दिलाएको ख्यातिसँगै ढोरपाटन दुर्लभ वनस्पति र फूलवृक्षको वैज्ञानिक अध्ययन थलोका रूपमा पनि प्रख्यात बन्न सक्थ्यो !