जरुरी कुरा
मानिसहरूका वाणीबाट
निस्कने फोहोरजस्तै यो देशमा
धेरैधेरै छन् फजुल कुराहरू ।
प्राचीन सहरमा
स्मार्ट सिटीको सपना,
राष्ट्रिय शोकमा
प्रधानमन्त्रीको राजकीय भ्रमण
र, स्वतन्त्र प्रेसको मायाजाल
सबैभन्दा खतरनाक कुरा हुन् ।
हिलारी क्लिन्टनमाथि
कविहरूको विरुदावलिभन्दा
सुन्दर कुरा हो नगरवधूको नग्न नृत्य ।
हावाको तरंगमा फर्फराउने झन्डाको
छैन कुनै प्रयोजन
सालिकमा चढाइने फूलमाला,
कृष्णभीरलाई सुनाइने कविता
र मानिसहरूका जन्मोत्सव
सबैभन्दा व्यर्थ कुरा हुन् ।
रुन्चे कविको रोइलोभन्दा
श्रुतिमधुर ध्वनि हो बादलको गर्जन ।
भोकको महामारीमा
राष्ट्रवादी चिन्तनको छैन कुनै अर्थ
ढोँगी बाबाको उपदेश
प्रेमीको चेपारो
र, आँसुको व्यापार
सबैभन्दा दण्डनीय कुरा हुन् ।
वकिलको बोली,
सुदखोरको दया
र भारदारको राष्ट्रचिन्ता
सबैभन्दा सन्देहास्पद कुरा हुन् ।
भलाद्मीको मौनभन्दा
मननीय सूत्र हो पागलको गीत ।
साहुजीको दानधर्म
बिचौलियाको वाचा
र, अपराधीको अभयदान
उस्तैउस्तै कुरा हुन् ।
जाली प्रधानमन्त्रीको नाकभन्दा
बाँदरको नाच दर्शनीय कुरा हो ।
एक मुठी स्वच्छ हावामा
मानिसलाई सोच्न दिनु
सबैभन्दा जरुरी कुरा हो ।