तेक्वान्दोमा घमको छलाङ

तेक्वान्दोमा घमको छलाङ

तेक्वान्दो खेलाडी तथा प्रशिक्षक घमबहादुर थापामगरले प्रमाणित गरिदिएका छन्— लगनशील हुने हो भने जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सफलता हात पार्न सकिन्छ । उमेरको हिसाब गर्ने हो भने घम (२६) त्यति पाको उमेर होइन । तर, खेलकुदका माध्यमबाट उनले हासिल गरेका उपलब्धिलाई चाहिँ ठूलै मान्नुपर्छ ।

Bishnu-Thapa_2आईटीएफ तेक्वान्दोका तेस्रो डान ब्ल्याकबेल्ट थापामगर अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर र 'बी' श्रेणीको लाइसेन्स प्राप्त अम्पायर पनि हुन् । यसैगरी आईटीएफ तेक्वान्दोको ब्ल्याकबेल्ट कमिटीका अध्यक्षसमेत रहेका थापामगर अन्य विभिन्न खेलकुदका कमिटी र सामाजिक क्रियाकलापमा समेत सक्रिय रूपमा सहभागी हुँदै आएका छन् । भारत, चीन, कोरिया, नेदरल्यान्ड, थाइल्यान्ड, बुल्गेरिया, क्यानडा, अस्ट्रेलिया र अमेरिकाको भ्रमण गरिसकेका थापामगरले नेपालमै बसेर खेलकुदका साथै सामाजिक क्षेत्रमा क्रियाशील हुने सोचअनुरूप विभिन्न काम गर्दै आएका छन् ।

२०४८ सालमा बागलुङ जिल्लाको विकट गाउँ ढोरपाटनका जन्मिएका थापामगरलाई मार्सल आर्टस्का बारेमा कुनै पनि ज्ञान थिएन । यातायात, बिजुली, सञ्चार लगायतका अति आवश्यकीय सेवाबाट वञ्चित दुर्गम गाउँमा जन्मिएका उनले दियालो र टुकी बालेर पढे । स्थानीय विद्या विकास निमाविमा पढ्न सुरु गरेका उनले विद्यालय जाँदा पनि निकै हैरानी खेप्नुपथ्र्यो । विद्यालय पुग्न आधा घन्टाभन्दा बढी हिँड्नुपथ्र्यो । उनी हरेक दिन लखतरान हुँदै विद्यालय पुग्थे÷फर्कन्थे । त्यस विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरे ।

 

७ कक्षामा पढ्दै गर्दा स्कुलका केही हुल्याहाले भाइलाई कुटिरहेको देखे । भाइले कुटाइ खाएको उनले देख्न सकेनन् र भाइलाई बचाउन गए । त्यहाँ धेरै घम्साघम्सी भयो । घम थापामगरले भाइलाई बचाउन निकै संघर्ष गरे । हुल्याहा केटाहरूले भाइलाई मात्र होइन, घममाथि पनि आक्रमण गरे । सात जनाको समूहले उनलाई आक्रमण गरे । उनीहरूको आक्रमणबाट उनले शरीरमा गम्भीर चोट बोक्न पुगे । त्यसपछि उनले पनि मार्सल आर्टस् कला सिक्ने निश्चय गरे ।

घरमा बुवाआमालाई आफ्नो कुरा भने र गाउँमा ७ कक्षा पास भएपछि पाल्पाको जनता उच्च माविमा पढ्न सुरु गरे । 'खासमा घटना सामान्य नै थियो तर ममाथि सांघातिक आक्रमण भएपछि त्यसले ठूलै रूप लिन पुग्यो । त्यही घटनापछि अथवा त्यही घटनाको प्रेरणाले मैले मार्सल आर्टस् खेल्ने निश्चिय गरेँ', घमले तेक्वान्दोमा लाग्नुको कारण प्रस्ट्याउँदै भने, 'तेक्वान्दोप्रतिको लगावकै कारण अहिलेको अवस्थासम्म आइपुगेको हुँ ।'
पाल्पा बसाइका क्रममा घमले पढ्नेमात्र काम गरेनन्, भाइलाई बचाउन जाँदा बोकेको चोट नभुलेकाले पाल्पामा तेक्वान्दो खेल्न सुरु गरे ।

सिद्धान्त, नम्रता, धैर्य, इमानदारिता, आत्मसंयम र अदम्य साहस नै तेक्वान्दो हो । यो खेल मानव जीवनमा जुनसुकै बेला आवश्यक पर्छ ।

गाउँका धेरै युवा पाल्पामा बसेर पढ्थे, केहीले आईटीएफ तेक्वान्दो पनि सिक्ने गर्थे । त्यही देखेर घमले पनि मदरल्यान्ड तेक्वान्दो डोजाङमा 'दोबक' लगाएर तेक्वान्दोको कला सिक्न थाले । उनले सिक्ने डोजाङ नेपालकै पहिलो आईटीएफ डोजाङ थियो । खेम कनौजे मगरले स्थापना गरेको डोजाङमा घमलाई भने सुरज थापाले आईटीएफको कला सिकाए ।

दिउँसो विद्यालय जाने घम बिहान र बेलुका भने तेक्वान्दो सिक्ने गर्थे । एसएलसी पास गरेपछि काठमाडौं आएका उनले आफैंले ट्रेनिङ गर्न थाले । ढोरपाटन क्लबले आयोजना गर्दै आएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई वर्ष डेमोस्ट्रेसन गरे । यसैगरी पुरानो नैकापको न्यु डायमन्ड एकेडेमीमा चार वर्षसम्म 'तेक्वान्दो कला' सिकाए ।

उनले जुन 'ईख' लिएर तेक्वान्दो सिकेका थिए, कला सिकेपछि कहिल्यै पनि त्यसको दुरुपयोग गरेनन् । मार्सल आर्टस् के हो भन्ने राम्ररी बुझेका उनी प्रतियोगितामा सहभागी हुँदा र आफ्नो आत्मरक्षाबाहेक अरू काममा त्यसको प्रयोग गर्न नहुने बताउँछन् । 'मार्सल आर्टस् परापूर्व कालमा मानव सभ्यताको विकाससँगै मानव जातिले आत्मसुरक्षाका लागि अपनाएको परम्परागत शैली हो ।

जुन शैली कलात्मक निधिले विकसित गरिएको हुन्छ', घम मार्सल आर्टस्लाई यसरी परिभाषित गर्छन्, 'सिद्धान्त, नम्रता, धैर्य, इमानदारिता, आत्मसंयम र अदम्य साहस नै तेक्वान्दो हो जुन मानव जीवनमा जुनसुकै बेला आवश्यक पर्छ ।' उनले तेक्वान्दोले व्यक्तिलाई अनुशासित बनाउने भएकाले यो खेल हरेक व्यक्तिको वैयक्तिक विकासका महत्वपूर्ण रहने बताए ।

२६ वर्षीय घमले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाए । पाल्पामै आयोजना भएको जनरल चोइ मेमोरियल राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका उनले काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली च्याम्पियनसिपदेखि दुईपटक विश्व च्याम्पियनसिपमा समेत सहभागी भए । उनले सन् २०१६ मा अमेरिकामा आयोजना भएको अमेरिकन नाइट च्याम्पियनसिपमा स्वर्ण पदक जिते ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका साथै उनले अमेरिकामा अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स गरे भने अन्तर्राष्ट्रिय सेमिनारमा पनि सहभागी भए । खेलकुदका माध्यमबाट जिल्ला र राष्ट्रको नाम फैलाएको भन्दै घमलाई म्याग्दी सेवा समिति अमेरिकाले सम्मान गर्‍यो । सन् २०१६ मै 'मास्टर हल अफ फ्रेम' अवार्डबाट सम्मानित भए । यसैगरी अमेरिकाकै अफिसियल हल अफ फ्रेममा मनोनीत भए ।

यसैगरी स्वदेशमा पनि उनले विभिन्न सम्मान पाएका छन् । आईटीएफ संघबाट उत्कृष्ट प्रशिक्षकका सम्मान पाएका घमले युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने एक्सिलेन्स स्पोर्टस् अवार्ड प्राप्त गरे । यसैगरी आईटीएफ संघले नै 'आउटस्ट्यान्डिङ तेक्वान्दो प्रमोटर' र गत साउनमा उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गर्‍यो । यसैगरी राष्ट्रिय खेलकुद परिषद्, लालीगुराँस स्पोर्टस् क्लब क्यानडा, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ, राष्ट्रिय मार्सल आर्टस् महासंघ, रक्षा मन्त्रालय लगायतका संघसंस्थाले खेलकुदमा योगदान पुर्‍याएबापत सम्मान गरेको घमले बताए ।

उनले आफ्नै पहलमा पाँचवटा राष्ट्रिय प्रतियोगिता आयोजना गरेको बताए । बुद्ध बर्न इन नेपाल, प्रथम खुला तेक्वान्दो च्याम्पियनसिप, तेस्रो प्रोफेसनल राष्ट्रिय च्याम्पियनसिप र सन् २०१४ मा बुर्तिवाङमा नवौं जनरल चोइ स्मृति राष्ट्रिय प्रतियोगिता र गत वर्ष चौथो प्रोफेसनल च्याम्पियनसिप आयोजना गरे ।

उनले प्रोफेसनल च्याम्पियनसिपमा डलरमा पुरस्कार राखे । उक्त प्रतियोगितामा स्वर्ण जित्नेले ६ सय, रजत विजेताले चार सय र कांस्य विजेतालाई दुई सय डलर पुरस्कार प्रदान गरे । उनी अमेरिकी डलरमा पुरस्कार राख्ने पहिलो व्यक्ति भएको दाबी गर्छन् । 'नेपालमा धेरै पुरस्कार राशि राखेर धेरै प्रतियोगिता त भएका छन् तर अमेरिकी डलरमा पुरस्कार राखेर प्रतियोगिता भने सायदै भएका छन्', घम भन्छन् ।

घम थापामगरले अहिले अम्पायर कोर्स पनि गरिरहेका छन् । अमेरिकाको एचकेएलएलआई तेक्वान्दो एकेडेमीबाट तीनमहिने स्पेसल इन्स्ट्रक्टर कोर्स गरेका उनले अमेरिकामै 'बी' श्रेणीको लाइसेन्स पनि लिए । उनी सानो उमेरमा आफूले लिएको निर्णय सही रहेको र आफूले गरेको त्यही निर्णयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा 'घम थापामगर' भनेर चिनिन पाएको बताउँछन् । 'जीवनमा एउटामात्रै आशा राखेर काम गर्ने हो भने आशा गरेको त्यही चिजमात्र प्राप्त गर्न सकिन्छ । तर, कुनै पनि चिजको आशाका लागि लगनशील भएर काम गर्ने हो भने धेरै कुरा पाउन सकिन्छ', घम भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.