बुक रिल
नेपाली पुरस्कारको इतिहास
नेपालमा केके क्षेत्र र विधामा कुनकुन र कस्ता पुरस्कार प्रदान गरिन्छन् होला ? यस्तो जिज्ञासाको समाधान यस किताबमा पाइन्छ । डिल्लीराम मि श्रले समय र श्रम पोखेर बडो मेहनतले करिब एक सय ३६ वटा संस्था र क्षेत्रमा वितरण हुने ६ सय ४२ जति पुरस्कारको नालीबेली तयार पारेका छन् । मदन पुरस्कार, जगदम्बा श्री पुरस्कार, साझा पुरस्कार, लोकसाहित्य पुरस्कारदेखि टुबोर्ग एक्सिलेन्स अवार्ड, दयानन्द वज्राचार्य अनुसन्धान पुरस्कार, साल्ट ट्रेडिङ छात्रवृत्ति, निजामती सेवा पुरस्कारलगायतका पुरस्कारबारे पुस्तकमा चर्चा गरिएको छ ।
लेखक : डिल्लीराम मिश्र
प्रकाशक : डा.नीतिका मिश्र
कुल लागत : सात लाख ७५ हजार रुपैयाँ
पृष्ठ : १२४६
मूल्य : १५९५÷–
२) विश्व महिला कथाकारका कथाहरू
अजरबैजान, संयुक्त राज्य अमेरिका, बेलायत, म्यानमार, इजिप्ट, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत र क्यानडा गरी नौ देशका एक दर्जन महिला कथाकारका कथाहरूले विश्व नारी लेखनको परिचय दिन्छ । केट चपिन, पर्ल एस्. बक, अलेभिया बाबाएभा, क्याथरिन म्यान्सफिल्ड, रेडा ज्याकोब्सजस्ता प्रसिद्ध कथाकारहरूको कथा नेपाली पाठकलाई खँदिलो खुराक हुनसक्छ ।
अनुवादक : ऋचा शर्मा
प्रकाशक : नेपाल प्रज्ञा–प्रतिष्ठान
पृष्ठ : ११२
मूल्य : १६५÷–
३) पीडितशास्त्र
आठ अध्यायमा बाँडिएको किताबमा पीडितशास्त्रको अवधारणा, अर्थ, परिभाषा, पीडितका हक र भूमिका, पीडित न्याय प्रणालीको अवधारणा र पीडितप्रति राज्यको दायित्व आदिबारे विस्तृतमा चर्चा गरिएको छ । पीडितको हक संरक्षणमा नेपाली परिवेश, सत्यनिरूपण आयोगको सान्दर्भिकता, दण्डहीनताजस्ता बहुआयामबारे गहिरो दृष्टिकोण पस्किएको पुस्तकले कानुनका विद्यार्थी एवं न्यायका पैरवीहरूलाई सैद्धान्तिक खुराक प्रदान गर्छ ।
लेखक : डा. शंकरकुमार श्रेष्ठ
प्रकाशक : पैरवी प्रकाशन
पृष्ठ : २०६
मूल्य : ३४५
४) लोकतान्त्रिक निर्वाचन व्यवस्थापन
१७ वटा अध्यायमा विभाजित पुस्तकमा लोकतन्त्रमा निर्वाचनको आवश्यकता र विधिबारे विस्तृतमा चर्चा गरिएको छ । नेपालमा संविधानसभामा अपनाइएको निर्वाचन प्रणालीदेखि स्थानीय तहको निर्वाचनसम्मको साँगोपांगो विश्लेषण गरिएको यस पुस्तकले २०६२÷०६३ पछि लोकतन्त्र संस्थागत गर्ने क्रममा अपनाइएको निर्वाचन विधि, प्रक्रिया, यसका समस्या र उपलब्धिबारे जानकारी दिन्छ ।
लेखक : खेमराज ज्ञवाली
प्रकाशक : ब्रदरबुक्स प्रकाशन प्रा.लि.
पृष्ठ : ३२३
मूल्य : ३७५
५) भस्मासुरको देश
५१ वटा कविता संग्रृहीत यस कविता संग्रहमा कविले सामाजिक चेत र वैयक्तिक अनुभूतिको सम्मिलन पस्केका छन् । अँध्यारो पर्दाभित्र, जून फुल्ने बारी, छातीमा बिझाइरहेको ड्रागन, ज्ञाने चोर होइन, प्रौढकक्षामा आमा, पेटीकोटको गन्ध, सत्ताच्युत, जिन्दगीको जिन्दगी, सपनाको पोखरीलगायत शीर्षक कवितामा कविले बिम्ब, प्रतीक र लयचेत प्रस्तुत गरेका छन् ।
लेखक : वाक्सेली थापा
प्रकाशक : बालाजी पब्लिकेसन, काठमाडौं
पृष्ठ : १२६
मूल्य : २००