चिनियाँ सुन तस्करबारे पूर्वडीआईजीको यस्तो खुलासा
नेपालमा चिनियाँको गतिविधि ०५० सालदेखि सुरु भएको देखिन्छ । सुरुमा कन्स्ट्रक्सनको निहुँमा छिरेका उनीहरूले ठमेल, बानेश्वरलगायत ठाउँमा आफैं बस्न गेस्ट हाउस बनाए । पछि रेस्टुराँ र ठूला होटल खोलेर व्यापार सुरु गरे । कति अहिलेसम्म पनि व्यापारमै छन् भने कति गइसके । ०५८ पछि पर्यटक एवं व्यवसायीका रूपमा चिनियाँ भित्रिन थालेका हुन् । केही चिनियाँ नागरिक व्यवसायकै आडमा अहिले रक्तचन्दन, सुन, डलर तस्करीमा समेत संलग्न रहेको पाइन्छ ।
सुन भारतमा बढी खपत हुन्छ, रक्तचन्दन चीनमा । यी दुवै वस्तु एक मुलुकबाट अर्कोमा जाँदा नेपाली भूमि प्रयोग भएका छन् । यसका पछाडि नेपालको खुला सिमाना र कमजोर प्रशासन संयन्त्र नै कारण हुन् । पहिला तातोपानी नाका रक्तचन्दन र सुन तस्करीका लागि प्रयोग भएको थियो भने अहिले रसुवाको केरुङ नाका । सबै गाडी र मानिस ‘स्क्रिनिङ’ गर्न नसकिए पनि लागातार एउटै सवारी र मानिसको मुभमेन्ट देखिएपछि उनीहरूको निगरानी गर्नुपर्छ ।
त्यो कुरामा राज्य चुकेको छ । त्यसैको फाइदा उठाएर चिनियाँ तस्करले सेटिङमा सुन भित्र्याउँदै आएको विभिन्न घटनाक्रमले देखाएको छ । चिनियाँ तस्करले नेपाली नागरिक प्रयोग गरी अवैध कारोबारको जालो फैलाएका छन् । तस्करले नेपालमा भएका केही व्यवसाय नेपालीकै नाममा दर्तादेखि लगानीसमेत गर्दै आएका छन् ।
यो डरलाग्दो विषय हो । न्यूनतम पैसा आवश्यक परेका व्यक्तिलाई प्रभावमा पारेर तस्करको जालो फैलाउन उनीहरू सक्षम भएका छन् । कतिपय घटनामा प्रहरीको मिलेमतो देखिएपछि उनीहरू कारबाहीमा पनि परेका छन् । तर, समग्रमा समस्या समाधानका लागि सीमामा कडाइसँगै चिनियाँ पर्यटक प्रवेशको औचित्य पुष्टि हुने गरी सरकारले स्वीकृति दिँदा राम्रो हुन्छ ।