निराशाजनक सय दिन
चुनावका बेला नेताले जनतालाई अनेक सपना बाँड्छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि नगरवासीलाई सपना देखाएर प्रमुखको कुर्सी हात पारे । मेयरको शपथ गर्दै गर्दा ‘एक सय एक’ वाचा गरेका उनी कार्यभार सम्हालेको सय दिन पुग्दा अत्यन्त निरीह देखिए । र, उनैले वाचाअनुसार काम गर्न नसकेको स्विकारे ।
भनिन्छ, दिउँसोको संकेत बिहानीले गर्छ । मेयर विद्यासुन्दरका हकमा आसलाग्दो बिहानी देखिएको छैन र दिउँसो सुखद हुने संकेत पनि मिलेको छैन । स्कुले विद्यार्थी घर फर्कंदा खाल्डोमा डुब्नुपर्ने नियति बोकेको महानगर नयाँ नेतृत्व पाएसँगै चोला फेरिनेमा विश्वस्त थियो । तर, सयदिने कार्यकालले त्यसलाई निराशामा परिणत गरिदियो ।
महानगरले सय दिनमा प्रत्येक वडा कार्यालयमा सीसीटीभी जडान गरेको विषयलाई उपलब्धिका रूपमा व्याख्या गरेको छ । सय दिनमा महानगर नेतृत्व मूलतः जनप्रतिनिधिका सेवा, सुविधा एवं कार्यालयको भौतिक पूर्वाधारकै विषयमा अलमलिएको देखिन्छ । निर्वाचित पदाधिकारीहरूको पहिलो बैठकले जनप्रतिनिधिका लागि ‘मोबाइल किन्ने’ जुन निर्णय गर्यो, त्यस्तो सस्तोलोकप्रियताको सबैतिरबाट विरोध भयो । ‘बर्खामा खाल्डा पुर्दा महानगरको खर्च मात्र हुने’ भन्ने प्रतिक्रिया दिनु, वडाध्यक्षहरूसँग सल्लाह नगरी महानगर कर्मचारी सरुवा गर्नु र महानगरका महत्वपूर्ण काम छाडेर आफ्ना नेताको चाकडीमा दौडिएको विषयले मेयर विवादमा तानिए ।
त्यसमाथि राजधानी अहिले फोहोरको डंगुरले कुरुप र दुर्गन्धित बन्दै गएको छ । चोक र गल्लीहरूका फोहोर उठाउन नसक्ने महानगर नेतृत्वले धुलोमैलो हटाउने, काठमाडौंलाई विश्वकै सुन्दर सहर बनाउने र यहाँ दुई वर्षभित्र मनोरेले र मेट्रोरेल कुदाउनेलगायत आकर्षक योजना कसरी पूरा गर्ला ? सय दिनको निराशाजनक कार्यकालले नै यसको लक्षण देखाइसकेको छ ।
पूर्वाधारका दृष्टिले काठमाडौं महानगरको विकास र व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण छ । निश्चय पनि सडक विगतको तुलनामा फराकिला भएका छन्, यद्यपि जनघनत्व बढ्दै छ र त्यसै अनुपातमा सवारीसाधन पनि बढिरहेका छन् । फराकिला भएका सडक पूर्णरूपमा व्यवस्थित नहुँदै साँघुरा महसुस हुन थालिसकेका छन् । ढल, खानेपानी र अन्य पूर्वाधारको अवस्थासमेत उस्तै छ ।
वर्षौंदेखि सडक विभागले सडक कालोपत्रे गर्ने र भोलिपल्ट खानेपानी विभागले पिच खनेर पाइप मर्मत गर्ने ‘संस्कार’ यथावत् छ । समन्वय र सहकार्यमा भन्दा आ-आफ्नै पाराले काम गर्ने प्रवृत्ति हाबी भएको यो महानगरलाई विकास र समृद्धिको पथमा अघि बढाउने काम कम्ती चुनौतीपूर्ण छैन । यस्तो चुनौती शाक्यको सुस्त र प्रभावहीन शैलीबाट सम्भव छैन । उनले आफ्नो काम गर्ने गति गम्भीरतासाथ बढाउन सक्नुपर्छ ।
एउटा महानगरका निम्ति सय दिन एकदमै लामो समय होइन । तर, केही गरेर देखाउने र राम्रो काम हुँदै छ भन्ने संकेत दिन भने यो समय पर्याप्त हो । शाक्यले सडकलगायत पूर्वाधार निर्माणमा आफूहरू लागिरहेको र यसको नतिजा कुर्न केही समय लाग्ने बताइरहँदा उनले ख्याल गर्नुपर्ने कुरो के छ भने नेतृत्वको सक्षमता अनुकूलतामा होइन, प्रतिकुलतामा जाँचिन्छ । सबै कुरा सहीसलामत भएको ठाउँमा त जोसुकैले सहजै काम गर्न सक्छ ।
धुलोहिलो, तारको जालो, अव्यवस्थित पार्किङ, असहज यातायातलगायत भौतिक पूर्वाधारलगायत सहरी समस्यालाई समाधानको विषयमा अहोरात्र खटिन छाडेर उही सनातनी भाषण, भ्रमण र उद्घाटनमा समय खर्चिने हो भने जसरी सय दिन बिते उसैगरी बाँकी सत्र सय दिन सकिनेछन् । यसर्थ, महानगर नेतृत्वसँग विद्यमान प्रतिकूलता चिर्दै काठमाडौंलाई सुन्दर र स्मार्ट सिटी बनाउनेतिर अर्जुनदृष्टि लगाउनुको विकल्प छैन ।