तरकारी खेतीले फेरियो गाउँ

तरकारी खेतीले फेरियो गाउँ

बैतडी : पाटन नगरपालिका १० का किसान १० वर्षयता व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । खेतमा लगाएको मकै र गहुँबाली जंगली जनावरले सखाप पार्न थालेपछि उनीहरूले विकल्पमा तरकारी खेती रोजेका हुन् । यसबाट अन्यको तुलनामा दसगुणा बढी आम्दानी हुने सिद्धपुरका किसान मनिराम पन्तले जानकारी दिए । ‘अहिले तरकारी खेतीबाट निकै फाइदा छ । यसले आत्मनिर्भरसमेत बनाएको छ', उनले भने ।

पन्तको बारीमा अहिले टमाटर, काँक्रोलगायत तरकारी लटरम्म फलेका छन् । वार्षिक रूपमा तरकारी र बीउ बिक्री गरेर तीन लाख रुपैयाँभन्दा बढी आन्दानी गर्ने गरेको पन्तको भनाइ छ । ‘मैले अहिले सात रोपनीमा तरकारी खेती गरिरहेको छु । तरकारीबाटै घरपरिवार चलाउन सजिलो भएको छ', उनले भने ।


सिद्धपुरकै मदनराज भट्टले पनि तरकारी खेतीबाटै वार्षिक ६ लाख रुपैयाँभन्दा बढी कमाउने गरेको उल्लेख गरे । ‘सिद्धपुरमा सिँचाइको सुविधा थिएन, हामी त्यो बेलादेखि तरकारी उत्पादनमा लागेका हौं । म त खानेपानीमा प्लम्बरको जागिर छाडेर तरकारी खेतीमा लागेको हुँ । तरकारी खेतीबाटै ६ जनाको परिवार राम्रोसँग चलाइरहेको छु । तरकारी उत्पादनले मलाई नमुना कृषक बनाउन सहयोग गर्‍यो', उनले भने ।

भट्टसँगै उनकी पत्नी जानकी भट्ट पनि अहिले तरकारी खेतीमै लागेकी छिन् । पहिला घरको चुलोचौकोमा सीमित भट्ट अहिले तरकारी खेतीमा लागेकी छन् । ‘ श्रीमान् खानेपानीको जागिर छाडेर तरकारी खेतीमा लाग्नुभयो, उहाँसँगै मैले पनि काम गर्न सुरु गरेँ, अहिले तरकारीका बेर्ना बनाउन र तरकारी बजारसम्म पुर्‍याउने कार्यमा आफै सक्रिय छु', उनले भनिन् ।

पाटन नगरपालिका १० सिद्धपुरका अधिकांश किसान तरकारी खेतीमा लागेको सिद्धपुर तरकारी तथा बीउ उत्पादन सहकारी संस्थाका अध्यक्ष उद्धवराज पन्तले बताए । उनले भने, ‘अहिले १० ओटा समूह बनाएर किसान तरकारी उत्पादनमा लागेका छन् ।' यहाँ उत्पादित तरकारीलाई डडेल्धुरासम्म लगेर बिक्री गर्ने गरेको किसान मदनराज भट्टले जानकारी दिए । ‘तरकारीको बजार पनि राम्रो छ । अब त गाउँमै सडक पुगिसकेको छ । हामीले उत्पादन गरेको तरकारी सहजै बजारसम्म पुर्‍याउन सकेका छौं । तरकारीबाट नगद आम्दानी भइरहेको छ', उनले भने । सिद्धपुरका किसानले अहिले आयआर्जनको गतिलो स्रोतका रूपमा तरकारी खेतीलाई अँगालेका छन् । यसप्रति युवा आकर्षित हुन थालेको स्थानीय भानदेव पन्तले जानकारी दिए ।

मनग्गे आम्दानी हुने भएपछि किसानले सबै काम छाडेर व्यावसायिक कृषि उत्पादनमा जोड दिएका छन् ।

पाटन नगरपालिका १० सिद्धपुरका तेज धामीले आफ्ना १५ वसन्त भारतमा बिताए । पाँच वर्षयता तरकारी खेतीमा लागेपछि उनले भारत जान छाडेका छन् । ‘तरकारी खेतीबाटै राम्रो कमाइ हुन्छ । घरपरिवारको पनि हेरचाह हुन्छ । वार्षिक दुई लाख रुपैयाँको हाराहारीमा आम्दानी हुन्छ, त्यसैले भारत जान छाडेर तरकारी खेतीमा लागेको हुँ', उनले भने ।

पुरुष मात्रै नभएर सिद्धपुरका महिलासमेत तरकारी खेतीमा लागेका छन् । पहिला घाँसदाउरा, घरगोठमै सीमित महिला अहिले तरकारीका बेर्ना तयार पार्ने, उत्पादित तरकारीलाई बजारसम्म पुर्‍याउने काममा लागेका छन् । ‘तरकारी खेतीमा लागेपछि हामीलाई घरको कार्यबोझ पनि घटेको छ । तरकारी उत्पादनको सीप पनि सिकेका छौं । धेरै तालिममा जाने अवसर पनि पाएका छौं', सिद्धपुरकी जगु पन्तले भनिन्, ‘अहिले सजिलो भएको छ । घरको काम मात्रै गर्नुपथ्र्यो तर अहिले तरकारी खेतीमा लागेका छौं । हाम्रो पनि आर्थिक क्षेत्रमा पहुँच बढेको छ ।'

सिद्धपुरका किसान व्यावसायिक कृषि उत्पादनमा लागेको जिल्ला कृषि विकास कार्यालय बैतडीका सूचना अधिकृत कर्णबहादुर चन्दले बताए । ‘पाटन नगरपालिका १० का किसानले तरकारी खेतीबाट राम्रो फाइदा गरिरहेका छन्', उनले भने, ‘व्यावसायिक तरकारी खेतीमा लागेका किसानले राम्रो आम्दानी गरिरहेका छन् ।'

जिल्लाका विभिन्न ठाउँलाई तरकारीको पकेट क्षेत्र घोषणा गरिएको सूचना अधिकृत चन्दले बताए । व्यावसायिक किसानलाई जिल्ला कृषि विकास कार्यालयले विभिन्न सहुलियत प्रदान गर्दै आएको उनको भनाइ छ । बैतडीका किसानले अर्गानिक तरकारी उत्पादन गरिरहेकाले यसको बजार पनि राम्रो रहेको चन्दले बताए।

जिल्लाको दशरथचन्द नगरपालिकाका केही वडा, पाटन नगरपालिकाका केही वडा, डिलासैनीको गोकुलेश्वर, पुरचौडीको हाटलगायत क्षेत्रलाई तरकारीको पकेट क्षेत्र घोषणा गरिएको जिल्ला कृषि विकास कार्यालय बैतडीका जेटीए महेश अवस्थीले जानकारी दिए । ‘सिद्धपुरजस्तै तरकारी पकेट क्षेत्रका अन्य किसानले पनि व्यावसायिक तरकारी खेतीबाट मनग्गे आम्दानी गरिरहेका छन्', उनले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.