ह्वात्तै घट्यो हतियार प्रयोग
काठमाडौं : पछिल्लो समय सशस्त्र गतिविधि र आपराधिक घटनामा हातहतियार प्रयोग ह्वात्तै घटेको छ। पछिल्लो तीनवटा आर्थिक वर्षको तथ्यांकमा हातहतियार प्रयोगका घटनामा कमी आएको पाइएको हो।
गत आर्थिक वर्ष नेपाल प्रहरीले देशभरबाट एक सय ७० वटा साना हतियार (पेस्तोल) बरामद गर्यो। ती हतियारमा अमेरिकी, इटालियन, चाइनिज पेस्तोलसँगै ठूलो संख्यामा रिभल्बर (एक सय २४ थान) छन्। प्रहरीले तीनवटा एसएलआर, एउटा एसएमजी, दुईवटा एयर गन तथा इन्सास र सट गन एक-एक वटा तथा ठूलो संख्यामा भरुवा बन्दुक पनि बरामद गर्यो। प्रहरीले मध्यपश्चिमाञ्चलबाट मात्र तीन वटा एसएलआर, एउटा एसएमजी, एउटा एयर गन र एक सय २० वटा रिभल्बर बरामद गरेको थियो। उक्त क्षेत्रबाट एके ४७ का पाँच सय ६९ राउन्ड गोली पनि बरामद भएको थियो।
सशस्त्र आन्दोलनमा रहेका भूमिगत संगठन निष्क्रिय रहनु, उनीहरू कारबाहीको दायरामा आउनु र सीमावर्ती अपराध नियन्त्रणमा भारत र नेपाल दुवै पक्ष गम्भीर हुनुले सशस्त्र गतिविधि नियन्त्रणमा आएको प्रहरी नायब महानिरीक्षक गणेश केसी बताउँछन्। ‘माओवादी जनयुद्ध र त्यसपछि तराईमा चलेको सशस्त्र भूमिगत गतिविधिका कारण अवैध हातहतियार छ्यापछ्याप्ती देखियो। तर, यतिबेला प्रायः सबै सशस्त्र समूह शान्तिप्रक्रियामा आइसकेका छन्। आउन नमानेका र नचाहेका समूहलाई हामीले नियन्त्रण गरी कारबाहीको दायरामा ल्याएका छौं', डीआईजी केसी भन्छन्, ‘अर्को कुरा, सीमावर्ती अपराध नियन्त्रणमा भारत र नेपाल दुवै पक्ष गम्भीर बन्दै गएका छन्। भारतमा बसेर नेपालमा सशस्त्र गतिविधि चलाउने र नेपालमा बसेर भारतमा त्यस्ता गतिविधि सञ्चालन गर्ने प्रवृत्ति पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ।'
पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने उपत्यकामा केवल चारवटा कटुवा पेस्तोल र दुईवटा रिभोल्बर बरामद भएको छ। यस अवधिमा उपत्यकाभित्र हतियारसहित केवल तीन जना पक्राउ परेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा देशभर गोली प्रहारका घटना ह्वात्तै घटे। आर्थिक वर्ष ७३/७४ मा देशभर चारवटा गोली प्रहारका घटना भए। ती घटनामा एक जनाको हत्या भयो भने तीन जना घाइते भए। आर्थिक वर्ष ०७२/७३ मा २५ वटा गोली प्रहारका घटना भएकामा नौ जनाको हत्या भएको थियो भने १९ जना घाइते भएका थिए। हतियारसहित पक्राउ पर्नेको संख्या पनि निकै घटेको छ।
अवैध हतियारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदा सशस्त्र गतिविधिमा कमी आएको प्रहरीको दाबी।
मध्यपश्चिममा विगतको तुलनामा अवैध हतियार धेरै भेटिएको हो। तर, पूर्वाञ्चल, मध्यमाञ्चल (जहाँ तराईको सशस्त्र आन्दोलनको केन्द्र थियो) र उपत्यकामा सशस्त्र गतिविधि र अवैध हातहतियारको बरामद ह्वात्तै घटेको छ। गत आर्थिक वर्षमा पूर्वाञ्चलमा १२ वटा भरुवा बन्दुक, सात वटा पेस्तोल बरामद र २१ जना पक्राउ परेका थिए। आव ०७२/७३ मा पूर्वाञ्चलमा सात वटा पेस्तोल र १२ थान भरुवा बन्दुक बरामद भए भने ६२ जना पक्राउ परेका थिए। मध्यमाञ्चलमा गत आर्थिक वर्षमा १८ वटा पेस्तोल तथा एउटा इन्सास, एउटा सट गन तथा छर्रा र भरुवा बन्दुकलगायत केही हतियार बरामद भएको थियो भने ३७ जना पक्राउ परेका थिए। आव ०७२/७३ मा मध्यमाञ्चलबाट ३९ थान पेस्तोल तथा एक सय २१ थान भरुवा र एउटा सट गन बरामद भएको थियो भने ७३ जना पक्राउ परेका थिए।
आव ०७१/७२ मा देशभर २१ वटा गोली प्रहारका घटना भएका थिए, जसमा १२ जनाको हत्या भएको थियो भने नौ जना घाइते भएका थिए। देशभरबाट दुई सय ७५ जना हतियारसहित पक्राउ परेका थिए।
अवैध हतियारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइँदा सशस्त्र गतिविधिमा कमी आएको डीआईजी पुष्कर कार्की बताउँछन्। ‘म अपराध महाशाखा प्रमुख हुँदा अवैध हतियार राख्नेविरुद्ध कडा कारबाही सुरु भएको थियो। यसले अवैध हतियार राख्ने, यसैको आडमा थर्काउने, आतंक मच्चाउने काम निकै कम भएको छ। काठमाडौं उपत्यकामा मात्र होइन, यसको असर देशव्यापी रूपमा देखिन्छ', नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख कार्की भन्छन्। नेपालमा अवैध हातहतियार विशेषगरी गुन्डागर्दी (डन), राजनीतिक स्वार्थमा खुलेका सशस्त्र समूह, चोरी/डकैतीमा सक्रिय समूहले प्रयोग गर्ने गरेको देखिन्छ।
‘केही छिटफुट घटनाबाहेक संगठित अपराध गर्ने (पैसा लिएर मान्छे मार्ने वा अन्य यस्तै गतिविधि) समूह नेपालमा देखिएको छैन। मान्छेलाई धम्क्याउने, तर्साउने, शक्ति प्रदर्शन गर्ने, पैसा उठाउनेलगायत काममा हतियार प्रयोग भएको देखिन्छ', महानगरीय अपराध महाशाखामा कार्यरत एक प्रहरी अधिकारी भन्छन्, ‘हतियार राख्ने व्यक्ति वा समूहले ती हतियार भारतबाट ल्याएको बताएपछि त्यसभन्दा भित्र गएर अनुसन्धान हुँदैन।' नेपालमा भित्रिने अवैध हतियार सबै भारतबाट आउने प्रहरी अधिकारीको तर्क छ।
प्रहरी अतिरिक्त महानिरीक्षक बमबहादुर भण्डारी विगतमा प्रहरीलाई गुन्डा (डन) हरूसँग मिलेको आरोप लागे पनि पछिल्लो समय त्यो नरहेको बताउँछन्। ‘महानगरीय प्रहरी कार्यालयमा प्रमुख भएर आएलगत्तै मैले पहिलो निर्देशन नै गुन्डाहरूसँग प्रहरी मिलेको पाइए कारबाही हुने बताएको थिएँ। त्यसपछि गुन्डाको गतिविधिबारे सूक्ष्म रूपमा सूचना राख्ने काम भयो', अपराध अनुसन्धान विभाग प्रमुख भण्डारी भन्छन्।