खोलामा डुबेर कपिलवस्तुमा दुई युवतीको मृत्यु
कपिलवस्तु : कुचो बनाउने घास काट्न गएका दुई जनाको खोलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्थानीय १५ वर्षीय रीमा कोहार र ३३ वर्षीय इन्द्रावती यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय खोला किनारमा कुचो बनाउने घाँस काट्न गएका उनीहरुको सोही खोलामा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले बताए ।
वसन्तपुर र भडेहर गाउँबीच रहेको खोला किनारमा घाँस काटिरहेकी रीमा कोहार अचानक खोलामा खसेर डुब्न थालेपछि उनलाई बचाउन इन्द्रावती पनि खोला किनारमा गइन् । खोलामा डुब्दै गरेकी रीमालाई इन्द्रावतीले बचाउन पनि सकिनन् र सोही खोलामा डुबेर उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि तौलिहवा अस्पतालमा राखिएको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए ।