गृहमन्त्रीबाटै आचारसंहिता उलंघन
सिमरा : निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन गर्दै गृहमन्त्री जनार्दन शर्मा आइतबार बिहानदेखि नेकपा माओवादी केन्द्रले बाराको विभिन्न स्थानमा आयोजना गरेको चुनावी सभामा सहभागी भएका छन् ।
हवाई मार्ग हुदँ सिमरा विमानस्थल आइपुगेका शर्माले जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुहीमा आयोजित माओवादी केन्द्रको चुनावी सभामा सम्बोधन गर्दै आफ्नो पार्टीका उम्मेदवारलाई भोट मागेका छन् ।
भुलुहीमा आयोजना गरेको चुनावी सभा सम्बोधन गरेका गृहमन्त्री अहिले जीतपुरसिमरा उपमहानगरपालिका १५ सुक्लैयाको कार्यक्रममा सहभागी हुन जादँैछन् । सरकारका गृहमन्त्रीनै चुनावी सभामा सहभागी भएर माओवादी उम्मेदवार भोट माग्दै हिँडेको देखेपछि अन्य राजनितिक दलका कार्यकर्ता र स्थानीयले असन्तुष्ट जनाएका छन् ।
सरकारी पक्षबाट बारामा आचासंहिता उलंघन भएको यो दोस्रो घटना हो । यसअघि जीतपुरसिमरा उपमहानगरपालिका ११ फत्तेपुरमा नेपाली कांग्रेसका उम्मेदवारलाई भोट माग्दै हिँडेको अवस्थामा शुक्रबार जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।
कडा सुरक्षाकाबीच कार्यक्रममा सहभागी भएका गृहमन्त्रीले मन्तव्यका क्रममा आफ्ना उम्मेदवारलाई भोट दिएर विजयी गराउन अपिहल गरिरहेका छन् । गृहमन्त्रीले बारामा विभिन्न कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।