चुनावी प्रचारका लागि मधेश झर्दै प्रधानमन्त्री
ललितपुरः असोज २ गते हुने प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा सहभागि हुन नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भदौ २७ गते त्यहाँ जाने भएका छन्।
प्रधानमन्त्री देउवा भदौ २७ गते प्रदेश नं. २ मा गएपछि ३० गतेमात्र काठमाडौं फर्किने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। देउवाले प्रदेश नं. २ का आठ वटै जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन्।
भदौ २७ गते सप्तरीको राजविराजमा हुने आमसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री देउवाको चुनावी कार्यक्रम सुरु हुने कांग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सोही दिन साँझ उनले सिरहामा आयोजना हुने अर्को चुनावी सभालाई सम्बोधन गर्नेछन् भने भदौ २८ गते दिउँसो १ बजे जनकपुरधाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नेछन्।
महोत्तरी, सर्लाही, रौतहट, पर्सा र बाराको चुनावी कार्यक्रमलाई सम्बोधन गरेपछि प्रधानमन्त्री देउवा राजधानी फर्किने बताइएको छ।