काठमाडौं महानगरको प्रगति : उठ्न थाल्यो फोहोर..
काठमाडौं : नुवाकोट ओखरपौवाका बासिन्दाको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि काठमाडौं उपत्यकाको फोहोर सिसडोलमा फाल्न थालिएको छ । महानगरपालिकाका उपमेयरको संयोजकत्वमा बनेको काठमाडौं महानगरपालिकाको कार्यदलले वार्ता गरेपछि करिब एक सातादेखि राजधानीमा थुप्रिएको फोहोर सिसडोलमा फाल्न थालिएको हो । महानगरपालिकाले थुप्रिएको सबै फोहोर सोमबारसम्म उठाइसक्ने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले ०६२ सालदेखि नुवाकोटको सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्दै आएकोमा त्यहाँ फालिएको फोहोरले अनेकौं समस्या निम्त्याएको र सरकारले प्रतिबद्धता पूरा नगरेको भन्दै ओखरपौवाका बासिन्दाले बिहीबार फोहोर फाल्न नदिने अनिश्चितकालीन घोषणा गरेका थिए ।
महानगरपालिकाको फोहोरमैला व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले भने, ‘शनिबार नै २८ वटा ट्रिपरले फोहोर सिसडोल पु¥याए ।’ उनले शनिबारबाटै कडा खालको औषधि छर्ने र सडक ग्र्याबेल गर्ने सहमति भएको बताएका छन्।
यसका साथै विगतमा महानगर र सरकारसँग ल्यान्डफिल साइट प्रभावित स्थानीयसँग भएका सम्झौता कार्यान्वयन गर्न ककनी नगरपालिकाको १, २ र ३ र धुनबेंसी गाउँपालिकाको १ र २ वडाका बासिन्दाको कार्यदल बनाउने निर्णय भएको छ ।
उनका अनुसार यसका लागि महानगरको कार्यदलले समन्वय र सहजीकरण गर्ने तथा बासिन्दाको कार्यदलले निर्धारण गरेअनुसार क्षतिपूर्ति दिने निष्कर्ष बैठकले गरेको छ । तीन वर्षका लागि प्रस्तावित ओखरपौवाको सिसडोलमा महानगरपालिकाले १२ वर्षदेखि फोहोर फाल्दै आएको छ ।
पछिल्लो समय महानगरले ललितपुर र भक्तपुरबाट पनि संकलन गरी दैनिक ८ सय मेट्रिक टन फोहोर सिसडोल साइटमा व्यवस्थापन गर्दै आएको छ । सरकारले सिसडोलसँगै दीर्घकालीन ल्यान्डफिल साइटका लागि आसपासकै बञ्चरेडाँडालाई प्रस्ताव गरेर काम अघि बढाए पनि अहिलेसम्म त्यसले गति लिएको छैन ।