देउखुरी उद्योग वाणिज्य संघमा श्रेष्ठ
दाङ : दाङको लमहीमा रहेको देउखुरी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चुनिएको छ। दुई समुह बनाएर निर्वाचनमा गएका व्यवसायीहरुमा लोकतान्त्रिक प्यानलले सबै पदमा जित हात पारेको निर्वाचन समितिले जनाएको छ। संघको अध्यक्षमा रत्नप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्।
पदाधिकारी ६ जना, खुल्ला सदस्य ५ जना र महिला सदस्य २ जना गरी जम्मा १३ जनाको कार्य समिति रहेको नयाँ नेतृत्व संघमा आएको हो। रत्नप्रसाद श्रेष्ठ थानेश्वर गैरेलाई ४ सय ६७ मतको अन्तरले पछि पार्दै देउखुरी उद्योग वाणिज्य संघको अध्यक्षमा निवाचित भएका हुन्। श्रेष्ठले ९ सय ९८ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी थानेश्वर गैरेले ५ सय ३१ मत प्राप्त गरेका छन्।
संघको उद्योग उपाध्यक्षमा खगेश्वर खनाल, वाणिज्य उपाध्यक्षमा विनोद कुमार पाण्डे, महासचिवमा कमल जंग सिंह ठकुरी निर्वाचित भएका छन्। त्यस्तै कोषाध्यक्षमा केशव घिमिरे, सचिवमा कृष्ण प्रसाद घिमिरे विजयी भएका छन्।
संघको कार्य समिति सदस्यमा लेखराज केसी(वसन्त), जागेश्वर बस्याल, नवाफ अली, शुशिल कुमार कौशल, बसन्त कुमार भण्डारी विजयी भएका छन। महिला सदस्यमा बिमला लम्साल र कृष्णा डाँगी निर्वाचित भएकी छन्।