पुलुकिसी जात्रा मनाउँदै सकियो इन्द्रजात्रा
भक्तपुर : काठमाडौंमा इन्द्रजात्रा सम्पन्न गरेको भोलिपल्ट आइतबार भक्तपुरमा पुलुकिसी (ऐरावत हात्ती) को जात्रा मनाउँदै इन्द्र जात्रा सम्पन्न गरिएको छ। पुलुकिसीलाई स्वर्गका राजा इन्द्रको बाहन ऐरावत हात्ती मानेर भक्तपुर नगरभरि घुमाएर जात्रा गर्दै आइतबार इन्द्रजात्रा सम्पन्न गरिएको हो।
उक्त जात्राको लागि भक्तपुर नगरपालिका ४ लाकोलाछेँका स्थानीय वासिन्दाले कलात्मक पुलुकिसी बनाई नगरका विभिन्न भागमा परिक्रमा गराइने परम्परा रहँदै आएको छ। लाकोलाछेंमा निर्माण गरिएको पुलुकिसी टोल–टोलमा गई यमद्योलाई परिक्रमा गरेपछि भक्तपुरमा इन्द्रजात्रा विधिवत समाप्त भएको मानिन्छ।
इन्द्रका छोरा जयन्तलाई छुटाउन इन्द्रले आफ्नो बहान ऐरावत हात्ती पठाएको प्रतीकको रुपमा भक्तपुरमा पुलुकिसी जात्रा मनाइँदै आएको छ। त्यसैअनुरुप पुलुकिसीले भक्तपुर नगरका विभिन्न स्थानमा बन्दी अवस्थामा राखिएको जयन्तको प्रतीकस्वरुप ठड्याइएका यमद्योलाई तीनपटकसम्म परिक्रमा गर्ने परम्परा रहँदै आएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेलले बताए।
उनका अनुसार पुलुकिसी जात्रा निकाल्नुअघि याः मता र मूपात्र निकालिन्छ। याः मता र मूपात्र निकालिँदा पुलुकिसीले मूपात्रलाई भेट्टाउन नहुने कथन छ। मूपात्रले इन्द्रका छोरा जयन्तलाई बन्दी बनाएको मानिन्छ। त्यसैले पुलुकिसीले मूपात्र भेट्टाउन नहुने प्रचलन रहेको छ। त्यसैले मूपात्र नभेटियोस् भनेर पुलुकिसीको घाँटीमा घन्टी झुन्ड्याइएको हुन्छ। पुलुकिसीलाई नगर परिक्रमा गरिँदा एकजनाले उक्त घन्टी बजाउने गर्दछ।
‘अघि अघि हुने मूपात्रले सुनोस् भनेर पुलुकिसीको घाँटीमा घन्टी झुण्ड्याइएको हो’, संस्कृतिकर्मी धौभडेलले भने, ‘त्यसैले पुलुकिसी जात्राको दिन भक्तपुर नगरका मन्दिरमा रहेका अन्य घन्टी बजाउन हुँदैन भन्ने जनस्रुति रहँदै आएको छ।’
पुलुकिसी जात्राको किम्बदन्तीअनुसार इन्द्रका आमा बसुन्धरालाई गणेश चतुर्थीको दिन व्रत बस्न पारिजात र बिमिरो आवश्यक पर्छ। स्वर्गमा यी चीज नपाइने भएपछि आफ्ना नाती जयन्तलाई मत्र्यलोकबाट पारिजात र बिमिरो ल्याउन भनिन्छ। मत्र्यलोक पृथ्वीमा आएको जयन्तले कसैसँग नसोधी पारिजातको फूल टिप्छन्। उनले पारिजात टिपेको देखेकाले जयन्तलाई समाउँछ। त्यसपछि पृथ्वीलोकमा राज्य गर्दै गरेको राक्षसराज मूपात्रकहाँ पुर्याइन्छ। उनले आफ्नो राज्यको पारिजात फूल चोरेको भन्दै सजायस्वरुप जयन्तको हात काटिदिन्छ र चोकमा सबैले देख्ने गरी पाता कसेर राख्छ।
उनै जयन्तलाई छुटाउन इन्द्रले पुलुकिसी जात्रा हुनु दुई दिनअघि सलाँ गणेश र एकदिन छुमा गणेशलाई पृथ्वीलोकमा पठाउँछन्। तैपनि मूपात्रसँग उनीहरु पराजित हुन्छन्। त्यसपछि तेस्रो दिन इन्द्रले आफ्नो बहान ऐरावत हात्तीसँगै मसान भैरवलाई जयन्त छुटाउन पठाउँछन्। सोही ऐरावत हात्तीले जयन्त छुटाएर लगेको सन्दर्भमा भक्तपुरमा पुलुकिसी जात्रा मनाइँदै आएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।