सेवाग्राहीसँग ३५ हजार घुस लिने तामेलदार रंगेहात पक्राउ
काठमाडौं : जिल्ला अदालत काठमाडौंमा कार्यरत तामेलदार सूर्यप्रकाश परियार आइतबार सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात समातिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले परियारलाई बुढानीलकण्ठबाट रकमसहित पक्राउ गरेको हो । अदालती म्याद तामेल गर्ने प्रयोजनका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाका आधारमा अख्तियारले परियारमाथि निगरानी गरेको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।