म्यानमारका शरणार्थी भन्छन् : ‘आङसान सुकीकै योजनामा हामीमाथि आक्रमण गरियो’

म्यानमारका शरणार्थी भन्छन् : ‘आङसान सुकीकै योजनामा हामीमाथि आक्रमण गरियो’

 काठमाडौं : कपन, बालुवाखानीस्थित बर्मेली शरणार्थी शिविरमा दिनमा पाँचपटक नमाज पाठ हुन्छ । हरेकपटक उनीहरूको प्रार्थना एउटै हुन्छ- ‘आफ्नो देश फर्कन पाऊँ ।' तर, म्यानमार (बर्मा)मा हरेक दिन हिंसा बढ्दो छ । रोहिंग्या मुस्लिम समुदाय हरेक दिन देशबाट लखेटिइरहेका छन् । त्यसको असर नेपालस्थित रोहिंग्या शरणार्थी शिविरमा देखिन थालेको छ ।

‘बर्मामा हिंसा चर्किएको एक महिनाअघि मात्र शरणार्थी शिविरमा १३ जना थपिए', चार वर्षयता शिविरमा बस्दै आएका शरणार्थी रफिक आलम भन्छन् । तर, संयुक्त राष्ट्रसंघीय निकाय यूएनएचसीआरको रेकर्डले भन्छ, ‘बर्मामा हिंसा बढेपछि तत्काल कुनै पनि शरणार्थी नेपाल आएका छैनन् ।'

 

४० दिनअघि नेपाल आएका शरणार्थी सइदुला मिन बोल्दा-बोल्दै भक्कानिए । उनी सबै आफन्त उतै छाडेर नेपाल आएका हुन् । घरभित्रै थुनिएका थिए, वृद्ध बुबाआमा । परिवारका सम्पूर्ण सदस्य थुनिएर भित्रै जले । उनी भने भाग्न सफल भए । म्यानमारबाट पानीमा पौडिएर बंगलादेश पुगे । अहिले उनी नेपालको शिविरमा दिनभर टोलाएर बस्छन् । अर्का शरणार्थी अबुथ कर भन्छन्, ‘हामीले खाइरहेको बेला उनी आउँछन् । खान दिए अलिकति खान्छन् । नभए भोकै बस्छन् ।'

आइतबार शिविरमा भेटिएका उनीहरूले शरीरमा भएका गोलीका दाग देखाउन थाले । सिमानामा उनीहरूलाई गोली दागियो । कति त त्यहीं ढले । दाग कसैको हातमा छ कसैको पेटमा । उनीहरूको दाबी छ, ‘आठ सय वर्षदेखि हाम्रा पुर्खा बर्मामा बस्दै आएका हुन् ।' यूएनएचसीआरले उनीहरूलाई केही समय आर्थिक सहयोग गर्‍यो । घरमूलीलाई पाँच हजार तीन सय ५०, श्रीमतीलाई तीन हजार पाँच सय र बालबालिकालाई दुई हजार सात सय रुपैयाँका दरले मासिक सहयोग गर्‍यो । सन् २०१२ देखि नेपालमा बस्न थालेका उनीहरूले २०१४ सम्म सहयोग पाए । त्यसबाटै उनीहरूको गुजारा चल्थ्यो । त्यसपछि उनीहरूले कुनै सहयोग पाएनन् । अबुथ करले आफ्नो परिवारबाट १४ हजार रुपैयाँ पाउँथे । आर्थिक सहयोग रोकिएपछि अहिले उनीहरूलाई जीवन धान्न गाह्रो भएको छ ।

बर्मामा हुँदा कृषि पेसा अँगालेका उनीहरूले काठमाडौंमा केही काम पाएनन् । ‘हामीलाई सिमेन्टको काम गर्न आउँदैन । हेल्पर बन्ने हो', अबुथ कर भन्छन् । त्यसबापत दिनमा तीन सयदेखि चार सय रुपैयाँसम्म कमाइ हुन्छ । उनीहरू बाँच्ने आधार त्यही कमाइ भएको छ । उनीहरूले वार्षिक एक लाख ४५ हजार रुपैयाँमा जग्गा भाडा लिएर शिविर खडा गरेका हुन् । प्रत्येक परिवारबाट उठाएर तिर्नुपर्ने जग्गा भाडा अब कसरी तिर्ने भन्ने अर्को आपत् आइपरेको छ ।

हामीले खाने इनारको पानी यति फोहोर छ कि यो पानीले त हजुरहरू दिसा धुन पनि घिन मान्नुहुन्छ । - सैदल हक

बंगलादेश र भारतका विभिन्न स्थानमा बस्दा असुरक्षित महसुस गरेका उनीहरूले यहाँ भने सुरक्षित महसुस गरेका छन् । ‘भोकै बस्नुपरे पनि हामीलाई यहाँ राम्रो छ', २९ वर्षीय रफिक आलम भन्छन्, ‘मेरा बूढी र दुई छोरी मसँग छन् । आमा-बुबा, दुई भाइ र बहिनीलाई ल्याउन सकिनँ । उनीहरू बंगलादेशसम्म आइपुगेका छन् । कसरी ल्याउने थाहा छैन । हामीलाई उपत्यका कटेर जान अनुमति छैन ।' अबुथ कर गाई, भैंसी सबै जलेको सुनाउँछन् । ‘हाम्र्रो त्यहाँ ६०-६५ बिगाहा जमिन थियो', उनी भन्छन्, ‘एकजना महिलालाई १२ जनासम्मले बलात्कार गरे।'

हिंसाको असर नेपालसम्मै

म्यानमार हिंसाको असर नेपालसम्मै आइसक्यो । तर, बर्मेली कूटनीतिज्ञ तथा नोबेल पुरस्कार विजेता आङसान सुकीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएकी छन्, ‘मुस्लिम रोहिंग्यामाथि कुनै प्रकारको अन्याय भएको छैन । यो म्यानमारलाई बदनाम गर्ने दुस्प्रचार मात्र हो ।' सन् १९९१ मा नोबेल शान्ति पुरस्कार पाएकी सुकीको पछिल्लो भनाइको चौतर्फी विरोध भइरहको छ ।

यूएनएचसीआरले पछिल्लो दुई सातामा म्यानमारबाट करिब दुई लाख ७० हजार रोहिंग्या समुदाय पलायन भएको जनाएको छ । बंगलादेशतर्फ लागेपछि उनीहरूको अवस्था नाजुक भएको बताइएको छ । बंगलादेशका शिविरहरूमा शरणार्थी थपिने क्रम जारी छ । त्यहाँ आउने शरणार्थीमध्ये धेरैजसो महिला छन् । नवजात शिशुसहित आएका उनीहरू भोकले तड्पिरहेका छन् । भागेर आउनेहरू तीन लाख पुगेको अनुमान राष्ट्रसंघको छ ।

म्यानमारको सरकारी पक्षले भने गत वर्ष अक्टोबरमा भएको आतंकवादी हमलाविरुद्ध उक्त स्थानमा प्रहरी र सेनाले अभियान मात्र चलाएको जनाएको छ । सरकारी अधिकारीले रोहिंग्याले अर्को धर्मका अनुयायीको हत्या गरेको आरोप लगाएका छन् ।


लखेटिएर नेपालमा

१६ महिनाअघि म्यानमारबाट लखेटिएर नेपाल पस्नु नपरेको भए सैदल हक आफ्नै मुलुकको कलेजमा पढिरहेका हुन्थे होलान् । तर, २० वर्षकै उमेरमा देशबाट खेदिएका उनको जिन्दगीले अर्कै लय समातिसकेको छ । कापी, कलम समात्नुपर्ने हातले उनी अहिले खस्रा बालुवा चालिरहेका वा गिट्टी कुटिरहेका छन्।

विभिन्न चरणमा भागेर नेपाल पसेका शरणार्थीले भरिएको छ, कपन, बालुवाखानीको एउटा हिस्सा । बालुवाखानी, राममन्दिरनेर शरणार्थी बालबालिका, बूढाबूढी र ठिटाठिटी गरी तीन सय १२ जनाले बस्ती बसाएका छन् । डेढ वर्ष पुगेकी छोरी रोमालाई काखमा खेलाउँदै सैदल हकले भने, ‘ड्याडी-ममीले डाक्टर बनाउने सोच्नुभएको थियो । तर, १० कक्षा पढ्दै लखेटिनुपर्‍यो ।' अहिले त उनलाई बुबाआमा कहाँ छन् भन्ने पनि थाहा छैन । म्यानमारमा भड्किएको द्वन्द्वले उनको परिवार छिन्नभिन्न भएको छ । चारजना दाजुभाइ, पाँच दिदीबहिनी पनि कहाँ छन् भन्ने पत्तो छैन । ‘जिउँदै छन् कि मरे ? कुनै खबर छैन', उनी भन्छन् । बर्मामा बस्न नसकेपछि उनी गर्भवती श्रीमती लिएर भागे । बिहे गरेको तीन महिनापछि उनले श्रीमतीसहित देश छाडेका हुन् ।

अनुहार ठ्याक्कै नेपाली देखिने हक ‘नेपाली' बोल्न सक्छन् । उनले यतै आएपछि नेपाली सिकेका हुन् । ‘एकजना साह्रै मिल्ने नेपाली साथी छ', उनी भन्छन्, ‘उसले नै सिकाएको ।' म्यानमारको आर्कान स्टेटको सानो गाउँबाट भागेर नेपाल पसेका उनको पूर्वकथा बडो दर्दनाक छ । सरकारी सेना र बौद्ध समुदायले हकको घरमा आगो लगाए । घरबाट स्कुलको दूरी टाढा थियो । स्कुलनजिकै डेरा लिएर बस्थे हक । त्यस दिन स्कुलबाट छुट्टीमा घर आएका थिए । बाटोमा सरकारी सेनाले समात्यो । उनले केप्रा (नागरिकता) देखाए ।

रोहिंग्या मुस्लिम भन्नेबित्तिकै थानामा पुर्‍यायो । पाँच लाख ७५ हजार स्थानीय रकम तिरेर उनलाई बुबाआमाले घर फिर्ता गरे । त्यसपछि उनको स्कुल छुट्यो । गाउँमा केटाहरू देख्यो कि समातिहाल्थे सेना । सेनाले घर जलाउनेदेखि बलात्कारसम्म गर्न थालेपछि उनले देश छोडे । ५० हजार बर्मेली पैसा बोकेर हिँडेका उनी बंगलादेश, कोलकाता हुँदै विराटनगरबाट नेपाल पसे । यहाँ आएछि मात्र उनलाई सुरक्षित महसुस भयो रे । पाँच वर्षदेखि बसीरहेका बर्मेली  शरणार्थीकाे शिविरमा १६ महिनाअघि सैदल पनि मिसिए । कापी, कलम समाउनुपर्ने उनका हातले खस्रो बालुवा चाल्न थाले ।

कपन शिविरमा ८६ परिवार

शिविरमा विभिन्न चरणमा रोहिंग्याहरू थपिँदै थए । अहिले शिविरमा घुइँचो छ । शिविरमा ८६ वर्षका वृद्धदेखि एक वर्षका बालबालिकासम्म छन् । ८६ घरपरिवार छन् । शिविरमा जस्ताले छाएका, फोहोर कपडाले बेरिएका टहरा लहरै उभिएका छन् । हिँड्ने करिडोरमा हिलो छ । शिविरमा अँध्यारो व्याप्त छ । साना नानीहरू नांगै वरिपरि दौडिरहेका छन् । टाउकोमा सेतो जाली टोपी लगाएका, सेता लुगा र धोतीमा पुरुषहरू यताउता गरिरहेका छन् । बुर्का लगाएका महिला ढोकाछेउ टुक्रुक्क बसेर हातमा कुरुस खेलाइरहेका छन् ।

शिविरबाट निकै तल एउटा इनार छ । त्यही इनार हो, जहाँबाट सम्पूर्ण शिविरवासी पानी खान्छन् । ‘हेर्नुस् सर, हामीले खाने इनारको पानी यति फोहोर छ कि यो पानीले त हजुरहरू दिसा धुन पनि घिन मान्नुहुन्छ,' सैदल हक भन्छन् । उनका अनुसार फोहोर पानी खाएका कारण शरणार्थीहरू बिरामी परेका छन् । ज्वरो आउनु, पेटमा समस्या हुनु, टाउको दुख्नु, रुघा लाग्नु शिविरमा सामान्य हुन्छ । औषधि नपाएर उनीहरू झनै पीडित छन् । सैदल पनि त्यही पानी खाएर टाउको दुख्ने, रुघा लाग्ने समस्याबाट पीडित छन् । शिविरको जीवन निकै कष्टकर छ ।

पर्खाइको कुनै टुंगो छैन । म्यानमारमा हिंसा झनै बढ्दो छ न त शिविरको जीवन सहज छ । अभाव, अनिश्चय र असन्तोष छ यहाँ । टहराबाट बर्खामा पानी चुहिन्छ । आठ सय वर्षदेखि बस्दै आएको देश छाड्नुपर्दा उनीहरूमा कति बेचैनी र पीडा होला ? यो नाप्ने कुनै यन्त्र छैन । मक्किएका काठमा ठडिएका टहराछेउ उदास बसिरहेका उनीहरूका अनुहारमा पोतिएको रंग दुःखका चिह्न हुन् । घर हुनुको सुख छाडेर, घर फर्कने सपना देख्दै दुःख र अनिश्चयमा बर्मा फर्किन पाउने आसमा उनीहरू जीर्ण शिविर कुरी बसेका छन् ।

‘म्यानमार फर्किने आशामा छु । देशमा शान्ति घोषणा होस्, भोलि नै फर्किन्छु', सैदल हक र रफिक आलम भन्छन् । सन् २०१२ मा बौद्ध धर्मावलम्बीले म्यानमारमा रोहिंग्या समुदायमाथि आक्रमण गरी हिंसा सुरु गरेपछि आर्कान जिल्ला मंडुका अबुथ कर चार परिवारसहित नेपाल पसेका हुन् । उनी चार वर्षदेखि शिविरमा छन् । उनका अनुसार बुद्धिस्टले १३ सय घरमा आगो लगाए । ‘म जलिरहेको घरबाट परिवारसहित भागेको हुँ', उनी भन्छन् । त्यहाँबाट भागेर बंगलादेश पुगेका उनी दुई महिना बंगलादेश, तीन महिना भारतमा मजदुरी गरेर नेपाल पसेका रहेछन् । म्यानमारमा उनका तीनवटा किराना पसल थिए । नेपाल नै किन ? उनी भन्छन्, ‘यत्तिको शान्त देश अरू देखेको छैन । यहाँ हामीलाई नेपालीले पनि राम्रो व्यवहार गरेका छन् ।'

बर्मेली रोहिग्यां
- ४० लाख रोहिंग्या मुस्लिमको जनसंख्या
- हिंसामा तीन लाखको मृत्यु भएको दाबी
- दुई सातायता मात्र दुई लाख ७० हजार पलायन
- अधिकांश बंगलादेशतर्फ पलायन
- शरणार्थीमध्ये धेरैजसो महिला
- यूएनएचसीआरबाट सन् २०१४ सम्म आर्थिक सहयोग
- घरमूलीलाई ५३५०, श्रीमतीलाई ३५०० र बालबालिकालाई २७ सय
- कपन, बालुवाखानी शिविरमा ३१२ जनाको बसोबास
- एक महिनाअघि मात्र १३ जना शरणार्थी थपिए

म्यानमारको हिंसामा उनकी काकी र पाँच बच्चा जलेर मरे । ‘आर्मीहरू आएर हाम्रो गाउँ नै जलाए', उनी भन्छन् । ४० लाख रोहिंग्या मुस्लिम जनसंख्यामध्ये हिंसामा तीन लाखको मृत्यु भइसक्यो । यहाँ काम गर्न अनुमति छैन । ‘पाए खाने नपाए भोकै बस्ने', उनी भन्छन्, ‘पसलछेउ उधारो मागेर खाएका छौं, पैसा कसरी तिर्ने हो ? केही थाहा छैन ।'

शिविरमा बसेका अब्दुल जलिल सबैभन्दा जेठा हुन् । सन् २०१३ मा उनी श्रीमती, बच्चासहित यता आएका हुन् । यूएनएचसीआरले उनीहरूलाई शरणार्थीको परिचयपत्र दिएको छ । ‘तर, देश फर्कने बाटो खोलिदिए हुन्थ्यो', अब्दुल भन्छन् । शिविरमा ५० एसएलएम सिकर छन् । यसको अर्थ हो, ‘नेपाल पस्दा दर्ता नभएका, जसलाई यूएनएचसीआरले शरणार्थीको मान्यता दिएको छैन ।'

सैदल हकलाई देशको याद एकदमै आउँछ । ‘सपनामा पनि देश फर्किरहेको, त्यहाँ शान्ति छाएको देख्छु', उनी भन्छन् । २० वर्षको उमेरमै उनले अनेक हन्डर र सास्ती भोगे । कति भाेगे भनेर गन्न भ्याएका छैनन् । न यहाँ आफ्नो भन्ने कोही छ न त आफन्त नै । न कतै कसैलाई उजुर गर्ने ठाउँ नै छ । सैदल भन्छन्, ‘आङसान सुकीले रोहिंग्यालाई सहयोग गरिनन् । हामीलाई आक्रमण गर्ने उनकै योजना हो ।'

सैदलकाे निचाेड छ, ‘जीवन साह्रै दुःखी छ ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.