मतदाता भन्छन्: सित्तैमा पढाइदिनेलाई भोट
बर्दिबास: ‘साँझ बिहान त जसरी पनि छाक टारिहाल्छौं। हामी मूर्ख हुँदा सबैले दबाए। छोराछोरीलाई पढाएर मिस र इन्स्पेक्टर बनाइदिनेलाई भोट दिन्छु', बर्दिबासकी २८ वर्षीया सुनिता मुसरहले भनिन्, ‘अब हामीसँग पक्की घर छ। बसेको जग्गाको लालपुर्जा पनि छ। बिजुली बत्तीले बस्ती झलमल छ। घरमा रेडियो र रंगिन टीभी छ। हामीले पढ्न सकेनौं। छोराछोरी पढेर ठूलो मान्छे बनेको देख्ने सपना छ। यो सपना जसले पूरा गरिदिन्छ। उसैलाई जिताउँछौं।'
अढाइ वर्षअघि सडकमा धुलो खेलेर दिन बिताउँथे उनका छेरा विकास र छोरी किरण। अहिले पिठ्युँमा पुस्तकको झोला, हातको टिफिन बक्समा खाजा र ड्रेसमा सजिएर विकास र किरण सधैं समयमै विद्यालय पुग्छन्। विकास कक्षा २ मा पढ्दैं छन्। ६ उनी वर्षका भए। उनी पढेर इस्पेक्टर बन्ने बताउँछन्। विकासकी दिदी ८ वर्षकी किरण कक्षा ३ मा पढिरहेकी छन्। इस्पेक्टर किन बन्ने भन्ने प्रश्नमा विकास भन्छन, ‘दारु खाएर हल्ला गर्ने, चोरी गर्नेलाई जेलमा हाल्छु। दारु खानेले गाउँ बिगारे।' किरणले पढेर मिस (शिक्षिका) बन्ने चहाना राखेकी छन्।
सुनिताका छिमेकी राजकुमारी मुसहरकी १० वर्षीय छोरा मनोज पढेर डाक्टर बन्ने इच्छा राख्छन्। उनका बुबा ८ वर्षअघि नै बितिसेका छन्। कक्षा ३ मा पढ्ने मनोजलाई कसैले तिमी पढेर के बन्छौं ? भनेर प्रश्न सोध्दा भन्छन्, ‘म डाक्टर बन्छु। बिरामीलाई दबाई दिएर निको पार्छु।' एकल महिला राजकुमारीले बनिबुतो गरेर छोरो हुर्काइरहेकी छन्। राजकुमारी भन्छिन्, ‘धेरैलाई भोट दियौं। यसपटक छोरालाई पढाएर डाक्टर बनाइदिने नेतालाई चुनावमा भोट दिन्छु।' चार पुस्तापछि हास्यकलाकार धुर्मुस—सुन्तलीको प्रेरणले बल्लबल्ल बच्चाहरू स्कुल पुगेका छन्।
एकीकृत नमुना मुसहर बस्तीका १ सय २० जना बच्चा नजिकैको जनता माध्यमिक विद्यालय बर्दिबास महोत्तरीमा अध्ययन गर्छन्। पढेर डाक्टर, प्रहरी, इन्जिनियर बन्ने सपना मुसहर बस्तीका बालबालिलकाले देखेका छन्। उनीहरूका अभिभावक चुनावबाट छोरोछोरीको इच्छा पूरा गरिने उम्मेदवार खोजिरहेका छन्। छोराछोरीले देखेको सपना सुनेर मुसहर बस्तीका अभिभाव दंग पनि पर्छन्। सन्तानको सपना ‘कसरी पूरा गर्ने' भन्ने पीरले उनीहरू पिरोलिएका छन्। बच्चाहरूको इच्छा पूरा गरिदिने मुसहरसँग आँट छैन। ‘नपढेर हामीलाई जान्नेहरूले झुक्याइदिन्छन्, ठगिदिन्छन्। पढाइका लागि धेरै पैसा लाग्छ', किरणका बुबा अमरलाल भन्छन्, ‘छोराछोरीलाई सित्तैमा पढाइदिनेलाई भोट दिन्छौं।'
मुसहरले असोज २ गते हुने स्थानीय तहको चुनावमा दलित महिला सदस्यमा बस्तीबाट सानु मुसहरलाई उम्मेदवार बनाएका छन्। बर्सौंसम्म अरूलाई भोट दिएर जिताएका बर्दिबासका मुसहर यसपालि आफ्नै बस्तीकी उम्मेदवार जिताउन भोट माग्दै हिँडेका छन्।
अन्य ठाउँका गरिबको गाँस, बास र कपासको समस्या होला। तर नमुना मुसहर बस्तीका ५३ घरधुरी मुसहरलाई छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने रहर छ। पुस्तौंदेखि अशिक्षित रहँदै आएका मुसहर अढाइ वर्षअघिसम्म छोराछोरी पढाउनुपर्छ भन्नेबारे अनभिज्ञ थिए। छोराछोरी किन पढाउनु, पढाएर के हुन्छ, ठूलाका छोराछोरी पढेर इन्जिनियर, डाक्टर बन्छन् तर मुसहरले छोराछोरी पढाउनु पागलपन हो भन्ने मुसहरहरू यतिखेर छोराछोरीलाई निःशुल्क डाक्टर, इन्जिनियर बनाइदिने उम्मेदवारको खोजीमा छन्।
आफ्ना कुरा सरकारको टेबुलमा पुर्याउन गाउँमा पञ्चायत बसेर मुखियाले बस्तीमै पहिलोपटक चुनावमा आफ्नो उम्मेदवार उठाएका छन्। असोज २ गते हुने स्थानीय तहको चुनावमा दलित महिला सदस्यमा बस्तीबाट सानु मुसहरलाई उम्मेदवार बनाएका छन्। बर्सौंसम्म अरूलाई भोट दिएर जिताएका बर्दिबासका मुसहर यसपालि आफ्नै बस्तीकी उम्मेदवार जिताउन भोट माग्दै हिँडेका छन्।
‘पहिले मुसहरहरू नेताको दाल, चामल, दारु, र मासुमा बिके। अनि नेताहरूले ठगे', बस्तीकी ३५ वर्षीया फुलो मुसहरले भनिन्, ‘अब हामीलाई कसैले किन्न सक्दैंन। अब मुसहरहरूको पनि दिमाग खुल्यो।' गरिबलाई माया गर्ने नेताको खाँचो रहेको बस्तीकी ३५ वर्षीया सुर्जी मुसहरले फुलोको कुरामा सही थपिन्, ‘आफ्नो त जीवन बिग्रियो, बिग्रियो। मुसहरका बच्चाहरूको जीवन बनाइदिने नै हाम्रो सच्चा नेता हुन्छ। उनैलाई हाम्रो भोट जान्छ।'
मुसहर बस्तीमा २ सय ७० जनाको बसोबास छ जहाँ १ जना मञ्जय मुसहर मात्र कक्षा १२ पढेका छन्। नेपालमा मुसहरको जनसंख्या १२ लाख छ। कुल जनसंख्याको ७ प्रतिशत मुसहर मात्र शिक्षित छन्। धुर्मुस-सुन्तली फाउन्डेसनले बर्दिबासका मुसहरका लागि सुविधा सम्पन्न बस्ती बनाइदिएका छन्। अब मुसहरहरूले शिक्षामा जोड दिएका छन्। रोजगारी दिनुपर्नै, नागरिकता नहुनेलाई नागरिकता बनाइदिनुपर्नेजस्ता माग पनि उनीहरूले भोट माग्न आउने उम्मेदबारसँग राखेका छन्।