मालिक बन्ने कि व्यवस्थापक

मालिक बन्ने कि व्यवस्थापक

श्रेया केसी मध्यबानेश्वरस्थित एम्बिएस एकेडेमीकी टपर विद्यार्थी हुन्। भर्खरै भएको बीबीएस चौथो वर्षमा उनले ७६ प्रतिशत ल्याएर कलेज टप गरिन्। पारिवारिक पृष्ठभूमि व्यवस्थापन विषय नभए पनि बैंकमा जागिर खाने रहरले उनले बीबीएस पढेकी हुन्। बैंकर्सहरूको आकर्षक व्यक्तित्व देखेर केसीले आफ्नै रोजाइमा उक्त विषय छनोट गरिन्। भविष्यमा सफल बैंकर्स बन्ने उनको ठूलो इच्छा छ।

‘चिटिक्क टाइसुटमा सजिएर कुशल व्यवस्थापक बन्ने मेरो ठूलो रहर हो' उनले सुनाइन्। ‘सपनालाई साकार पार्न सधैं प्रयत्नशील छु। अब एमबीएस गर्ने सोचमा छु' उनले भनिन्, ‘प्रमुख कार्यकारी अधिकृत (सीईओ) अहिले नै बन्छु भन्दिनँ, तर कस्को रहर हुँदैन र।'

 ‘इच्छाअनुसारको विषय पढेको हुनाले मेहनत गरेर कलेज पनि टप भए। यो विषय पढ्दा बीबीएकोभन्दा अलि बढी खर्च लागे पनि करियर विकासका लागि भने चौतर्फी ढोका खुलेको छ। म बैंकर्स हुन सकिनँ भने पनि कुनै पनि कम्पनीको कुशल व्यवस्थापक भने अवश्य बन्नेछु' उनको अठोट छ, ‘बीबीए पढ्नेको बैंकमै जागिर खाने एकमात्र गन्तव्य हुन्छ भने बीबीएस पढ्नेमा धेरै विकल्प हुन्छन्।'

सर्भिस सेक्टरदेखि कर्पोरेट सेक्टर उद्योग कलकारखाना र पूर्वाधार निर्माण एवम् प्राविधिक क्षेत्रमा समेत योग्य व्यवस्थापकको खाँचो छ। बीबीएस पढ्दा म्यानेजिङ लेभलमा कसरी काम गर्ने भनी आफूले सिकेको उनले बताइन्। उनीमात्र होइन पछिल्लो समयमा धेरैजसो कलेजमा बीबीएस पढ्ने विद्यार्थीको चाप बढ्दै गएको छ।

विद्यार्थीको रुचिसँगै कलेजहरूले पनि स्नातक तहमा बीबीएस पढाउने होडबाजी नै चल्न थालेको छ। करिब दुई दशकअघिसम्म व्यवस्थापन संकायको लागि कि त विद्यार्थीले शंकरदेव क्याम्पस कि मीनभवनको कमर्स कलेज धाउनु पथ्र्यो। तर, अहिले बढ्दो मागसँगै जुनसुकै कलेजमा पनि व्यवस्थापन विषयमा अध्यापन हुन थालेको छ।

बैंकिङ क्षेत्रमा आउन चाहने विद्यार्थीको लागि व्यवस्थापन विषय अत्यन्त राम्रो मानिने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको भनाइ छ। अन्य क्षेत्र जानको लागि अर्थात् अर्थतन्त्र बुझ्न तथा बुझ्न चाहनेका लागि यो रोजाइको विषय हो। यतिमात्र होइन अहिले धेरै कर्पोरेट हाउसहरूमा जागिरका लागि आवेदन माग गर्दा व्यवस्थापन विषयलाई प्राथमिकतामा राख्ने गरिएको छ।

करियरमा अघि बढउन तथा करियरको वृद्धि विकासको लागि यो महत्वपूर्ण विषय बनेको छ,' उनी भन्छन्, ‘ बीबीएसले वित्तीय क्षेत्रमा मात्र नभएर जुनसुकै क्षेत्रमा ढोकाहरू खोलिदिने काम गर्दछ। व्यवसायका क्षेत्रहरू विस्तार भएसँगै आममान्छेमा यसको चाम अझ बढ्दो छ। अघिल्ला वर्षहरूमा विज्ञान पढ्न नसक्ने विद्यार्थीले यो संकायलाई रोजे पनि पछिल्लो समय यो ट्रेनमा परिवर्तन आएका उनी बताउँछन्।

‘व्यवस्थापन मालिक बनाउने विषय हो, व्यक्तिलाई सक्षम बनाएर राम्रो व्यवस्थापक बनाउन व्यवस्थापन संकायले प्रमुख भूमिका खेल्छ,' एम्बिएस एकेडमीका निर्देशक देवी घिमिरे भन्छन्। समाज परिवर्तन र दिगो विकासका लागि अहिले ‘गुड म्यानेजमेन्ट' आवश्यकता छ उनी भन्छन् ‘ विज्ञानले अनुसन्धान गरेको विषयलाई व्यवस्थापन गर्ने काम यो संकाय पढ्ने विद्यार्थीले गर्छन।' विज्ञान पढेको मान्छेले व्यवस्थापन गर्न सक्दैन। तर, व्यवस्थापन पढ्ने विद्यार्थीले भने आफूदेखि परिवार, कार्यालयदेखि हरेक मानिसको सामाजिक, मानसिक र आर्थिक रूपले व्यवस्थापन गरिरहेको हुन्छ।'

व्यवस्थापन विषयमा चार वर्ष पूरा गरेको विद्यार्थीले विदेश जानु पर्दैन, यही नै कुनै राम्रो संस्था चलाएर बस्न सक्ने कलंकीस्थित सिद्धार्थ मल्टिपल कलेजका प्रिन्सिपल डा. श्रीराम शर्मा बताउँछन्। ‘अहिलेको अवस्थामा संसारलाई नियमन तथा व्यवस्थित गर्ने विषय नै व्यवस्थापन हो,' उनी भन्छन्, ‘विकसित देश होस् या हाम्रो जस्तो अल्पविकसित। अझ भन्ने हो भने हाम्रोजस्तो देशमा त यस्ता जनशक्तिको अझ बढी खाँचो छ, ‘वित्तीय क्षेत्रमा मात्र नभएर सानादेखि ठूला व्यवसायसम्म यस्ता जनशक्तिको आवश्यकता बढ्दै गएको छ।'

‘हुनलाई यो संकायलाई विज्ञानपछिको दोस्रो स्थान राखिन्छ। राम्रो नम्बर ल्याउने ९० प्रतिशत विद्यार्थीको रोजाइ विज्ञान संकाय पर्छ भने १० प्रतिशतले मात्र व्यवस्थापन विषय पढ्छन्। विज्ञान विषयलाई पनि व्यवस्थापन गर्ने विषय भएकोले यसको भविष्य जताततै उत्तिकै छ,' शर्मा भन्छन्,।

२०५० सालमा एमबीए पूरा गरेका भवानी पौडेल अहिले अध्यापन पेसामा कार्यरत छन्। २४ वर्षअघि एमबीए गरेका उनलाई बैंकको अधिकृतको जागिरभन्दा शिक्षण पेसा राम्रो र मर्यादित लाग्यो। सफल कलेज सञ्चालकका रूपमा स्थापित भएका उनी बैंकमा जागिर खानका लागि मात्र नभई जुनसु्कै क्षेत्रको पनि व्यवस्थापकीय ज्ञान हुनु जरुरी भएको बताउँछन्। ‘संस्थाले सफलता हासिल गर्न व्यवस्थापकीय पक्ष सबल र सक्षम हुनपर्छ,' उनी भन्छन्, ‘अनिमात्र संस्थाले राम्रो प्रतिफल दिन सक्छ।'

यो संकायको अध्ययनले कुनै पनि संस्थाको अल्पकालीन योजनादेखि दीर्घकालीन योजना, यसको कार्यान्वयन, समयसमयमा मूल्यांकन, नियन्त्रण तथा बेलाबेलामा आइपर्ने समस्या समाधान गर्न सक्ने खुबीको विकास गराउँछ,' जया मल्टिपल कलेजका प्रिन्सिपलसमेत रहेका पौडेल भन्छन्।

पछिल्लो समय १२ कक्षाको अध्ययनपछि व्यवस्थापन विषयमा सोझै बीबीएस पढ्नेमात्र नभई बीबीए (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन) र यसका विभिन्न विधा पनि छनोटमा पर्न थालेका छन्। विश्व परिवेशमा हरेक कार्यालयमा अत्यावश्यक पर्ने लेखा तथा अन्य व्यवस्थापनको लागि यो विषयको महत्व अझ बढ्दो छ। पछिल्लो व्यवस्थापनको विषयगत परिधि फराकिलो हुँदै गएको छ। विद्यार्थीले स्नातकबाटै विशिष्टता हासिल गर्ने गरी व्यवस्थापनका विभिन्न विषय रोजेर पढ्न सक्छन्।

हाल विशेषगरी व्यवस्थापन पढ्ने विद्यार्थीको रोजाइ बीबीएसभन्दा पनि बीबीए बन्न थालेको छ। बीबीए र यसजस्तै विषयलाई सामान्यतया बिजनेस एडमिनिस्ट्रेसनको स्नातक तह भनेर बुझिन्छ। तर, बजारको आवश्यकतासँगै स्नातक तहमा व्यवस्थापनको विषयगत आयाम फराकिलो हुँदै गएको छ। बीबीएस सोझो ज्ञानमात्र नभएर अलगअलग क्षेत्रको व्यवस्थापन गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विषय पनि हो। जस्तै- उत्पादनमुखी कम्पनीका लागि चाहिने व्यवस्थापनको जनशक्ति र सूचना-प्रविधिसम्बन्धी संस्थाका लागि आवश्यक पर्ने व्यवस्थापनको जनशक्ति एउटै पाठ्यक्रम पढेकोले सम्भव हुँदैन।

अन्यमा भन्दा चारवर्षे बीबीएसमा अध्यापन गराउने पाठ्यक्रम धेरै राम्रो मानिँदै आएको छ। यो पाठ्यक्रम पढेका विद्यार्थीले जागिरका लागि धेरै ठाउँमा धाउन र विदेश पनि जानु नपर्ने घिमिरेले बताए। ‘यही नै प्रशस्त रोजगारी तथा स्वरोजगारको सम्भावना छ,' उनले भने ‘यसका लागि विद्यार्थीले धैर्य, मेहनत भने अवश्य पनि गर्नुपर्छ।'

यसैले, विश्वविद्यालयहरूले पछिल्लो समय बीबीएमात्र नभई व्यवस्थापन संकायअन्तर्गतअन्तर्गत विभिन्न विधामा विशेषज्ञता हासिल गराउने उद्देश्यले बीबीए-बीआई (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन-बैंकिङ एन्ड इन्स्योरेन्स), बीबीआई-टीटी (ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन-ट्राभल एन्ड टुरिजम), बीसीआईएस (ब्याचलर इन कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम), सीए (चार्टर्ड एकाउन्टेन्ट) बीबीएम (ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट) लगायत विषयको अध्ययन हुन थालेको छ।

व्यवस्थापनमा पनि क्षेत्रगत विशेषज्ञताका लागि यस्ता विषयको माग र शैक्षिक कार्यक्रम बढ्दै गएका हुन्। स्नातकमा हुने व्यवस्थापनका विभिन्न विषयले नयाँ विद्यार्थीलाई मात्र नभई व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेकाहरूलाई पनि समेटिरहेको छ। यस्ता विषयले व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानमा कार्यरत कर्मचारीको स्तरवृद्धिका लागि विशेषज्ञता प्रदान गर्छ। अहिले यस्तो शिक्षाको माग कर्पोरेट क्षेत्रबाट बढी मात्रामा आउन थालेको छ।



चुनौती र अवसर


अहिले व्यवस्थापन अधिकांशले पढ्न चाहेको तथा सबैलाई पढ्न सुझाव आउने विषयमा पर्छ। यो विषयको लक्षित अवसर क्षेत्र भनेको व्यवस्थापन हो। हरेक वर्ष यो संकायमा कार्यक्रम थप्ने कलेजको बढ्दो संख्या, त्योअनुसार गुणस्तरीय फ्याकल्टिजको अपर्याप्तता यो विषयका विद्यार्थीका लागि प्रमुख चुनौती हो। पाठ्यक्रममा गहना भए पनि अध्यापन गराउने पुरानै परिपाटी छ। आवश्यक प्रविधिको पर्याप्तता छैन। त्यसबाहेक उत्पादित जनशक्तिअनुसार देशमा उद्योग व्यवसाय फस्टाउन नसक्नु अर्को चुनौती हो।

अवसरका दृष्टिले हेर्दा यो अन्तर्राष्ट्रिय मान्यता प्राप्त पढाइ भएका कारण बीबीएस र यसबाहेक व्यवस्थापनका विशेष कक्षा सकिएका विद्यार्थीले नेपाली बजारमा मात्र सीमित भएर बस्नु पर्दैन। त्यस्तै, यो जागिरे बनाउने विषयमात्र नभएर उद्यमी तयार पार्ने शिक्षा पनि भएकाले यो विषय पढ्ने विद्यार्थीले कुशल व्यवस्थापनसहित आफ्नै व्यवसाय गर्न सक्छन्।

व्यवस्थापन नै किन ?



कुशल, सक्षम तथा सवल व्यवस्थापन उत्पादन गर्न।
आफ्नै व्यवसाय सञ्चालन गर्ने सीप हासिल गर्न।
व्यावसायिक तथा अन्य क्षेत्रका लागि योग्य, दक्ष, सिर्जनशील तथा जिम्मेवार व्यवस्थापक बन्न।
कुनै पनि संस्थाको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गरी मुनाफामा लैजान।
सही समयमा सही निर्णय लिन सक्ने योग्यता हासिल गर्न।
मानव संशाधनको उचित व्यवस्थापन गर्न।
वस्तु उत्पादनदेखि बजार व्यवस्थापनसम्मलाई चुस्त बनाउन • जोखिम मूल्यांकन गरी अहिलेको प्रतिस्पर्धात्मक बजारमा देखिएका चुनौती समाधान गर्न।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.