एसएलसी उर्तीण पिताको छोरी पढाउन नपाएको पीडा

एसएलसी उर्तीण पिताको छोरी पढाउन नपाएको पीडा

तेह्रथुम : तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर तामाङ, चार घर लिम्बू र राई एक घर गरी जम्मा ३६ परिवार बस्छन् ।

माझीगाउँमा बस्ने सबैले माझीसँगै माछा मार्ने र नाउँ तार्ने काम गर्ने गरेका थिए । बच्चैदेखि विद्यालय छाडेर माछा मार्न जाने माझीगाउँका बासिन्दामध्येका एक मात्र एसएलसी उत्तीर्ण व्यक्ति हुन् – शिवनारायण माझी । गाउँमै पहिलो पटक र अहिलेसम्म पनि गाउँकै एक्लो एसएलसी उत्तीर्ण ३३ वर्षीय युवा शिवनारायणले २०५५ सालमा एकै पटकमा एसएलसी उत्तीर्ण गरेका थिए ।
घरदेखि करिब अढाई घण्टा उकालो चढेपछि पुगिने पोखरी उच्च माविबाट परीक्षा दिएका शिवनारायणले तृतीय श्रेणीमा एसएलसी पास उत्तीर्ण गरेका हुन । पहिलो पटक एसएलसी उत्तीर्ण गर्दा गाउँमा नौलो मानसम्मान पाएका शिवनारायणले थप उच्च शिक्षा लिन नसके पनि गाउँमा शिक्षाको उज्यालो घामबाट वञ्चित बालबालिकालाई केही वर्ष पढाउने काम गरे ।

 

मासिक रु एक हजार ५०० तलबमा काम गरेका उनले केही रुपैयाँ जम्मा गरेपछि मोरङको मंगलबारे गएर जेटिए पढ्ने सोच बनाए । अठार महिनामा जेटिए उत्तीर्ण गरे पनि लोक सेवा परीक्षामा भने सफलता हात लागेन उनलाई। त्यसपछि फेरि पनि माछा मार्ने कामले नै निरन्तरता लियो उनको जीवनमा ।

गाउँमै केही गर्ने प्रयत्न गर्दा पनि नसकेपछि शिवनारायण विवाह बन्धनमा बाँधिए । र अहिले उनका चार जना नानीहरु छन् । एसएलसी उत्तीर्ण गरेर गाउँमा छुट्टै इज्जत कमाएका उनको आम्दानीको स्रोत नभएकै कारण जेठी छोरी भुमिसालाई तीन कक्षा माथि पढाउन सकिएन । चौध वर्षीया छोरी भूमिसाले तीन वर्षअघि नै कक्षा ३ मा पढ्दापढ्दै विद्यालय छाडेकी उनले बताए ।

“गाउँमा पहिलो पटक एसएलसी पास गर्दा पढ्नुपर्छ भनेर अभियानै चलाएँ, माछा मार्न कुद्ने माझीले पनि बरु ५ कक्षा त पास गरे,” शिवनारायणले भने “मैले आफ्नै छोरीलाई भने तीन कक्षादेखि भन्दा माथि पढाउन सकिनँ ।” आर्थिक स्रोत नहुँदा घरको व्यवस्थापन नभएर छोरीले विद्यालय जान नसकेको उनी स्वीकार्छन ।

जेटिएसम्म पढे पनि शिवनारायणले सजिलो गरी कहीँकतै जागिर नभेटेपछि माछा मार्ने काम गर्दै आएका छन् । तर माछा मार्ने काम पनि बाढीका कारण दिगो बन्न सकेन, अन्ततः घर चलाउन ठूलै संकट आइलाग्यो । विदेश जाने चक्करले शिवनारायणको अलिअलि जम्मा भएको सम्पत्ति पनि सकियो । दुई छाक टार्न मुस्किल परेपछि काम गर्न हिडेका शिवनारायणले घरमा छोरीले विद्यालय जान पाइन् कि पाइनन् ख्याल गर्नै पाएनन् ।

“बिहान उठ्यो, घरको काम गरेर पानी बोक्दैमा ९ बज्थ्यो,” शिवनारायणका छोरी भुमिसाले भनिन “बुबा आमा मेलापातमा, घरमा भातै पाक्थेनँ । भोक लागेका बेला विद्यालय जाने ज्ञान आएन ।” अहिले विद्यालय जान नपाएकोमा भुमिसालाई निकै दुःख लाग्छ । भुमिसा पनि आजभोलि बुबाआमासँगै घर र मेलापातको काममा सघाउने गर्छिन ।

ठूली छोरीलाई तीन कक्षा माथि पढाउन नसके पनि अरु तीन जना साना छोराछोरीलाई राम्रो पढाउने शिवनारायणको योजना छ । माझीगाउँमा माझी बालबालिकालाई लक्ष्य गरी सञ्चालित नौले प्राविमा कक्षा–५ सम्म पढाइ हुने गरेको छ ।

गाउँमै विद्यालय खोलिए पनि माझीगाउँका नानीहरुले ५ कक्षासम्मै पढेका छैनन् । अझै पनि माझीगाउँका धेरै बालबालिका विद्यालय जाँदैनन् । विद्यालय गएकामध्ये पनि केहीले मात्र कक्षा ५ भन्दा माथि पढ्न पाएका छन् । तर अहिलेसम्म पनि माझीगाउँमा शिवनारायणबाहेक कसैले एसएलसी उत्तीर्ण गरेका छैनन् । यो गाउँबाट निमावि पढ्न पनि करिब एक घण्टा माथि उक्लिनुपर्छ ।

माझीगाउँमा खानेपानी सुविधा छैन । खानेपानी लिन खोलासम्म पुग्नुपर्छ । राम्रो पानी खान एक घण्टा परसम्म धाउनुपर्ने बाध्यता रहेको यहाँका बासिन्दा बताउँछन् । पानी बोकेर खानुपर्ने भएका कारण पनि नानीहरु विद्यालय जान नपाएको शिवनारायणले बताए । गरिबी, अशिक्षा र बेरोजगारीका कारण घरभरि बालबालिका र बूढा बाबुआमालाई छाडेर माझीगाउँका युवा विदेशिन थालेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.